• आश्विन १३ २०८१, आईतवार

ज्ञान आर्जन गर्न उमेरले छेक्दैन

भाद्र १४ २०७९, मंगलवार

ऋषि भारद्वाज पुत्र कुमार यवक्रीत हलक्क बढ्दै गए । उनको किशोर वय पूरा हुन थालिसकेको थियो । तर उनले यतिबेलासम्म कुनै पनि ज्ञान हासिल गरेका थिएनन् ।

ऋषिकुलमा पढ्ने उमेर पनि बितिसकेको थियो । उनका छिमेकी रैभ्यमुनिका छोरा परावसु उनकै उमेरका थिए । तर उनी यतिबेलासम्म विद्वान भइसकेका थिए ।

परावसुको नाम र काम सबैले चिनिसकेका थिए । यो देखेर कुमार यवक्रीत निकै खिन्न भए । उनी दिनदिनै सोच्थे, ‘मेरो उमेरमा साथी परावसु प्रशिद्ध भइसके, म गुमनाम छु ।’

उनका बुवा ऋषि भारद्वाज सधैँ तप र ध्यानमा मात्र मग्न भइरहन्थे । त्यसैले गर्दा पनि उनले छोरा यवक्रीतलाई समयमै पढाउन सकेनन् ।
साह्रै चिन्तित रहिरहेका बेला एक दिन यवक्रीतको मनमा एउटा जुक्ति फुर्‍यो । उनी भगवानका राजा इन्द्रकहाँ गएर वर मागेपछि विद्वान भइन्छ भन्ने अठोटमा पुगे ।

उनको अनपढको औषधि योभन्दा अर्को नहुने कुरामा उनी ढुक्क भए । उनी इन्द्रकहाँ पुगेर विद्वान हुने वर दिनका लागि मरिहत्ते गरिरहे ।
इन्द्रले नपढेर कोही पनि विद्वान नहुने र वर दिएर विद्या नआउने कुरा सम्झाइरहे ।

तर कुमार यवक्रीत आफ्नो अडानमा टसको मस भएनन् । उनले इन्द्रसँग ज्ञानको वरदान दिन ढिपि गरिरहे । यवक्रीत इन्द्रको दरवारको मूल ढोकामा धर्ना बसे । त्यसपछि अनसन सुरू गरे ।

इन्द्र उनको कुरालाई लिएर दिक्क भइसकेका थिए । मूर्खलाई कसरी सिकाउने भन्ने उपायको खोजीमा थिए इन्द्र ।

तर कुमार यवक्रीत भने बिहान नदीमा स्नान गर्न जाने र आएर अनसन बसिरहने गरिरहेका थिए । एक दिन इन्द्रले आफ्नो भेष बदलेर बूढो ब्राह्मण बनी कुमार यवक्रीत नदीमा पुग्नु अघि नै पुगेर बगिरहेको नदीमा लगातार बालुवा फ्याक्न थाले ।

कुमार यवक्रीत नुहाउन जाँदा बूढो ब्राह्मणले गरेको काम देखेर मनमनै हाँस्न थाले । नदीले बालुवा बगाएको बगायै छ, तर बूढो ब्राह्मण बालुवा नदीमा फ्याक्न भने छाडेको छैन ।

केही बेर त उनले तमासा हेरिरहे । तर बूढो ब्राह्मणलाई सम्झाउँ भन्ने उनको मनमा लाग्यो । यवक्रीत बूढो ब्राह्मणको छेउँमा पुगे । उनले भने, ‘तपाईले नदीमा लगातार बालुवा फ्याँकिरहनु भएको छ, नदीले बगाएर लगिरहेको छ, यसको प्रयोजन के हो !’

‘नदीमा पुल बनाउने’, ब्राह्मणले जवाफ दिए ।

‘कसरी बन्छ पुल ?’ यवक्रीत हाँसे ।

‘मैले सुनेको छ, कुमार यवक्रीत नाम गरेका ऋषिपुत्र इन्द्रकहाँ आएर विद्वान बनाइदिन भन्दै अनसन बसिहेका छन् रे, उनी अनसन बसेर विद्वान बन्न सक्छन् भने यो नदीमा बालुवाको पुल किन बन्न सक्तैन ?’ बूढो ब्राह्मणले यवक्रीततिर फर्केर हेरे ।

कुमार यवक्रीत लाजले रातोपीरो भए । उनले चिनिहाले, यी त इन्द्र पो रहेछन् । ब्राह्मणको भेष धारण गरेर आएका ।
झटपट माफी मागेर यवक्रीत ऋषिकूलमा विद्या लिन गए । पछि कुमार यवक्रीत उनका साथी परावसु भन्दा पनि विद्वान र प्रशिद्ध भए ।

ज्ञान आर्जन गर्न उमेरले छेक्दैन ।