• मंसिर ११ २०८१, मंगलवार

त्रिवि तालान्दी भइरहेछ, सरकार चलिरहेछ !

भाद्र १३ २०७९, सोमबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्रशासनमा तालाबन्दी गरिएको ३ सय दिन पुगिसक्यो । त्रिवि अहिले अनाहकमा बन्धक बनिरहेको छ । सम्बन्धित सबै तमासे बनिरहेका छन् । को छ त जिम्मेवार यसको पछाडि ?

पहिलो कुरा त यसमा कसले गर्‍यो र किन भन्ने प्रश्न उठ्छ । दोस्रो, यसो गर्दासम्म पनि सम्बन्धित सबै कानमा तेल हालेर किन बसिरहेका छन् भन्ने प्रश्न उठ्छ ।

तेस्रो कुरा, यसो गरिनाले कसलाई फाइदा र कसलाई घाटा परिरहेको छ, यसको समीक्षा हुनु पर्छ । यी तीन कुराले हाल त्रिविमा चलिरहेको तालाबन्दीको अन्तर्यमा पुर्‍याउँछन् ।

यिनको सर्सर्ती विश्लेषण गर्दा पहिलो कुरा त हालको एकमना गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले देशकै जेठो अनि सरकारी विश्वविद्यालय (त्रिवि)मा ३ सय दिनदेखि तालाबन्दी गरिरहेको छ । यसको कारण विश्वविद्यालय निरन्तर बन्धक बनिरहेको छ ।

भ्रष्टाचार र अनियमितताका कुरा उठाएर नेविसंघले तालाबन्दी गरिरहेको छ । त्यसको खोजबिन पनि छैन । अनुसन्धान र जाँचबुझ पनि छैन । सरकार कानमा तेल हालेर सुतिरहेको छ ।

वर्तमान सत्तागठबन्धनका नेता तथा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् विश्वविद्यालयका कुलपति हुन् र छन् । उनको पार्टी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ३ सय दिनदेखि त्रिवि प्रशासनमा तालाबन्दी जारी राखेको छ ।

सरकार मौनता साँधेर दिन बिताइरहेको छ । तालाबन्दी खुल्ने ठेगान छैन । नेविसंघले उठाएका भ्रष्टाचार र अनियमितताका कुराको सुनुवाइ पनि छैन ।

प्रम देउवा आफै त्रिविका कुलपति छन् र हुन् । उनको मन्त्रीमण्डलमा रहेका गठबन्धन साझेदार माओवादी पार्टीका नेता देवेन्द्र पौडेल शिक्षामन्त्री तथा त्रिविका सहकुलपति छन् ।

तर पनि विश्वविद्यालयमा ३ सय दिनसम्म तालाबन्दी हुँदा कुलपति र सहकुलपतिको कानमा बताससम्म पसेको छैन । उनीहरूलाई वास्ता पनि छैन । मतलव पनि भएजस्तो देखिदैन ।

समस्या समाधानका लागि सकारात्मक पहल गरेको कहिल्यै पनि सुनिदैन । सुन्न नचाहनु, ध्यान नपुग्नु र समस्या समाधानका लागि आवश्यक पहल नहुनु जे भने पनि लापर्वाही र वेवास्ताका कुरा हुन् ।

उता नेविसंघले फरक प्रकृतिका संघर्षका कार्यक्रम पनि लान चाहदैन । तालाबन्दीको विकल्प छैन भन्छ । प्रधानमन्त्री र शिक्षामन्त्रीको सार्वजनिक आलोचना सुरू हुन थालेको छ । त्रिवि प्रशासन बन्द छ ।

ताला खोल्ने विषय निकाल्यो भने त्रिवि परिसरमै झडप हुन पुग्छ । तमासे बनेको छ सरकार ! त्रिवि परिसर शिक्षाको भण्डार र ज्ञानको मन्दिर होइन, रणमैदान बन्ने गरिरहेको छ ।

विचित्रको छ, वातावरण ! नेविसंघ परिचालन पनि प्रम देउवा आफै गर्छन् । तालाबन्दीको मतलव नै छैन । उता प्रहरी प्रशासन पनि देउवा आफूले नै परिचालन गर्छन् । उनले सत्ता र शिक्षाको नमूना निकै राम्रो गरी देखाइरहेका छन् ।

कहिलेकाहिँ त सत्ताधारी र प्रतिपक्षी विद्यार्थी एक आपसमा भिड्छन् पनि । पार्टीको साख र राजनीति ओझेलमा परेपछि विद्यार्थीको पालो आउँदो रहेछ । तालाबन्दीको विषयलाई लिएर प्रतिपक्षी पार्टी एमालेनिकट अनेरास्ववियु र नेविसंघको झडप हुने गरेको छ ।

अनेरा स्ववियुले तालाबन्दी तोड्यो । नेवि संघले पुनः लगायो । यसक्रममा दुई विद्यार्थी संगठनबीच झडप पनि भयो । दुवै पक्षका केही विद्यार्थी नेता तथा कार्यकर्ता घाइतेसमेत भए । यस्तो झडप दोहरिने र तेहरिने गरिरहेको छ ।

एउटाले ताला लगाउँछ, अर्कोले ताला खोल्छ । तर सरकारले आँखा खोल्दैन । बरू फलामे तालाजस्तै गरी आँखाको ताल लगाउँछ । रमाइलै छ, उता तालाबन्दीपछि त्रिवि कार्यकारी परिषद्को बैठक जमलस्थित एल्लो प्यागोडा होटलमा बस्न पाएको छ ।

क्या बात् ! महंगो आलिशान होटलमा राजर्षि ववैठक ! उता सोही बैठकमा नेविसंघको एक समूहले कार्यकारी परिषद्का विगतका महत्वपूर्ण निर्णयसहितका पुस्तिका र अन्य महत्वपूर्ण कागजपत्र कब्जा गरेर लगिसकेको छ ।

माघ महिनादेखि लगातार पाँच महिनाभन्दा बढी समय तालाबन्दी भइरहेको छ । त्रिवि भय र त्रासको अखडा हुन गएको छ । तर त्रिवि तालान्दी भइरहेछ, सरकार चलिरहेछ !