काठमाडौं । तपाईले विगत केही समयदेखि नेपाल टेलिकमको मोबाइलमा फोन गर्दा फरक आवाज सुन्नु भएको होला । कल गर्नुअघि किन यस्तो टोन आउँछ भनेर धेरै झुक्किएको पनि हुन सक्छ ।
यसअघि रिङ ब्याक टाेनका रूपमा विभिन्न गीत वा सन्देश सुन्न सकिन्थ्याे । कोभिड-१९ को समयमा सेवा प्रदायकले रिङ ब्याकटोन मार्फत नै कोरोनाबारे जानकारी समेत दिएका थिए । तर, यतिबेला फोन लाग्नुअघि बज्ने टोनको अर्थ फरक छ ।
याे टाेनले फोन गर्दा लाग्ने समय अर्थात् कल सेटअप टाइमलाई दर्शाउने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । उनका अनुसार अहिले आएको टोन अर्को नम्बरमा कल गर्दा लाग्ने समय दर्शाउन खोजिएको हो । यसअघि कल लाग्ने समय र फोन लागिसकेपछि पनि एउटै टोन रहन्थ्याे । त्यसलाई फरक बनाउन कल लाग्नुअघि नयाँ टोन दिएका अधिकारीले बताए ।