• मंसिर ११ २०८१, मंगलवार

मौलिकता हराउँदै गएको तिज

भाद्र १० २०७९, शुक्रबार

नेपालमा १०औं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगरी लिच्छवीकालपछि हामीकहाँ विभिन्न चाडपर्व मनाउन थालिएको हो । यस्ता चाडबाड हामीकहाँ प्रायः सबै महिनामा पर्छन् ।

बिना चाडको महिना पाउन मुस्किल छ । हामीकहाँ चलिआएका विभिन्न चाडपर्वहरूमध्ये तिज एउटा महत्वपूणर् पर्व हो । आदिकालदेखि चल्दै आएको यो पर्व भाद्र शुक्ल द्वित्तीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने प्रचलन थियो ।

अहिले भने यसरी चार दिनमा तिजलाई खुम्चाउन नसकिने अवस्था छ । सुरुमा यो पर्व नेपालमा प्रायः क्षेत्री बाहुनले बढी मनाउने र आदिवासी, जनजातिले त्यति महत्व नदिने गर्थे । तर, अहिलेको मिश्रित बसाइँका कारण सबैको साझा पर्वका रूपमा यसलाई लिने गरिएको पाइन्छ ।

अघिल्लो शुक्रबार हामीले कृष्णाष्टमी पर्व मनायौं । सो दिन श्रीकृष्णको जन्मदिन । यसैकारण सो दिनलाई ‘कृष्णाष्टमी’ पर्वका रूपमा मनाउने चलन छ ।
सरकारले यसै उपलक्ष्यमा सार्वजनिक बिदा पनि दियो । कृष्णाष्टमी हिन्दू नारीहरूको महान चाड तिजको प्रवेशद्वार मानिन्छ । सोहीदिनबाट तिजको सुरुवात भएको मानिन्छ ।

सबै प्रकारका चाडपर्व हाम्रा अमूल्य धरोहर हुन् । यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । यी चाडपर्वमध्ये तिज पनि एउटा  महत्वपूर्ण पर्व हो ।

नेपाली बृहत् शब्दकोशले तिजलाई ‘नारीहरूले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन’ भनी अर्थाएको छ । भविष्य पुराणमा यसलाई हरितालिका भनिएको छ ।

पार्वतीको विवाह विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह हुन नपरोस, महादेवसँग विवाह होस् भन्ने पार्वतीको चाहनालाई सघाउन उनका सखीहरूले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो भन्ने पनि पाइन्छ ।

यसरी लुकेर बस्दा पार्वतीले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको बिहे भई शिवजीसमेत ताण्डव नृत्य गर्ने गरेकाले यस दिनको सम्झनामा नेपाली चेलीहरूले तिजको नाचगान गर्न थालेका हुन् भन्ने भनाइ पनि छ ।

तिजलाई नारीप्रधान पर्व र यस अवसरमा महिलाले गाउने गीतलाई ‘पर्वगीत’का रूपमा हेरिएको छ । तिजकै अवसरमा गाइने हुँदा यस्ता गीतलाई तिजेगीत पनि भन्ने गरिएको छ ।

वर्षदिनसम्म मेलापात, घाँस दाउरा गर्दै दिन गुजार गरिरहेकी नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवं विसंगति तिजको अवसर पारेर गीतका रूपमा अभिव्यञ्जना दिने गर्छन् ।

गीतमा उनीहरूले प्रयोग गर्ने शब्द अभिधाभन्दा निकै पर लक्षणा र व्यञ्जनास्तरको हुन्छ । यसैकारण यस्ता गीतहरू यथार्थपरक र सुधारोन्मुख हुन्छन् । व्यंग्यात्मक शैलीका यस्ता गीतहरूमा सक्कली नेपालीपना पाइन्छ ।

नेपाली चेलीहरूको अन्तरमनको पीडाको प्रतिनिधित्वका हिसाबले यी गीत अब्बल मानिन्छन् । यस्ता गीतले कृत्रिमता नभएर यथार्थता बोल्छन् । सुधारका लागि प्रशस्त सुझाव दिन्छन् । तिजको मुख्य आकर्षण नै महिला हुन् । नेपाली महिलाले तिजमा ब्रत, उपवास र शिवजीको उपासना गरी मनाउँछन् । शिव पुराणमा शिवजीको महिमा वणर्न गरिएको छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ । कुमार सम्भव महाकाव्यमा कालिदासले पार्वतीको कठोर तपस्या’दयगत चर्चा गरेका छन् ।

पार्वतीले व्रत बसेर उनको मनोकामना  पूर्ण भएकाले अरू महिला पनि आआफ्ना मनोकामनासहित (अविवाहित नारीले असल पति पाऊँ भनी तथा विवाहित नारीले पतिको चिरायूका लागि) व्रत बस्न थालेको जनश्रुति पनि पाइन्छ । तिजमा हाम्रा महिलाले बस्ने व्रतलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
तर, उपवासका नाममा गरिने चेलीबेटीको व्रतको एकोहोरोपना, व्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रूपमा खाने अपाच्य खाना कति ठीक, कति बेठीक त्यसको समीक्षा भने हुन जरुरी छ ।

एकथरी आलोचक तिजमा विवाहित नारीहरूले पतिको दीर्घजीवनको कामनार्थ र अविवाहित नारीहरूले असल स्वामी प्राप्ति हेतु व्रत बस्ने चलन नै महिलामाथि उहिल्यैदेखि गरिएको अन्यायको प्रतिबिम्ब हो, यसबाट पुरुषप्रधान समाजको हैकमवाद देखिने हुँदा यसलाई त्याग्न जरुरी छ पनि भन्ने गर्छन् ।

हामीले मान्दै आएको विगतकोे तिजको विरासतलाई आजको तिजले धान्न सकेको छैन । ऊबेला ‘हुनेले मीठो मसिनो, नहुनेले पिठो मसिनो’ खाने पर्व थियो तिज ।
सात डाँडा पारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबाआमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मीठो मसिनो खाने, खुवाउने दिन थियो तिज । असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तिज ।

चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरूबेला नभए पनि योबेला माइत पठाउनैपर्ने पर्व थियो तिज । सायद यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई । माइतीघर वर्षदिनको कथा र व्यथा पस्कने थलो थियो ऊतिबेलाको तिज ।

आज सयम फेरिएको छ । आज यो अवस्था रहेन । भाद्र शुक्ल द्वित्तीयादेखि सुरु हुने तिज असारको हिलो फाल्दा नफाल्दै सुरु हुन्छ । सांगीतिक तयारी हुनु स्वभाविकै होला तर कम्तीमा पनि तिजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपथ्र्यो, अनि मात्र यसको महत्व हुन्थ्यो ।

कथित सहर बजारमा साउनको आरम्भसँगै भडकिला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले तिज महिलाको महान् चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ ।
हुने खानेहरूलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्, जसले तिजै नआई तिज मनाउँछन् । तर, हुँदा खाने नेपाली समाजका अन्य महिलालाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने नै भयो ।

‘… मरेको भन्नुभन्दा पनि काल पल्केको’मा चिन्ता लिनुपर्ने भयो । घर पोलेर खरानी बेच्नुपर्ने बाध्यता दिनप्रतिदिन चाडबाडमा देखिँदै छ ।
आरम्भमा कुनै पनि चाडपर्वहरू भडकिला थिएनन् । यी चाडपर्वहरू एकआपसमा मिलेर, हुने र नहुनेबीचको अन्तर कम गर्दै व्यक्तिगत रूपमा मनाइन्थे । एउटाको चाडलाई अर्कोले हस्तक्षेप गर्दैन थिए ।

जनैपूर्णीमामा लोग्नेमान्छेहरू बढी हावी हुन्थे तिजमा महिला । तर, आज के महिला के पुरुष दुवैले तिजमा नाचगान गरेको देखिन्छ । फेरि विगतकाजस्ता सटिक सामाजिक चित्रण गरिएका, सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीत आज कहाँ सुन्न पाउनु ?

तिजे गीत सुन्दा लाग्छ हामीहरू तिजमा छौं कि रत्यौलीमा ? अर्थात्, तिज र रत्यौलीमा भेद छुट्याउन नसकिने अवस्था आएको छ ।
तिज वर्षायाम सकेपछि पर्ने पर्व हो । तिजलाई भनेर किसानहरू खानेकुरा संग्रह नै गरी राख्थे । खासगरी दुग्धजन्य पदार्थ योबेला बढी खाने, खुवाउने चलन थियो ।

दही, दूधका अलावा घिउ प्रशस्त चाहिने हुँदा तिजका लागि भनेर बकेर्नु भैंसी हुनेले साटफेर गरेरै वा किनबेच गरेर भए पनि लैनु भैंसी किन्थे । तर, आज यो कुरा एकादेशको कथा बनेको छ ।

तिज सुरु हुनुभन्दा महिनौं अगाडिदेखि खाने र खुवाउने होडबाजी नै चलेको पाइन्छ । तिज होस् वा रत्यौली छुट्याउनै नसक्ने गरी क्यासेटमा गीत घन्काएर छिमेकीलाई समेत असर पर्नेगरी कृत्रिम नाचमा रमिता देखाउने कुचलन नै छ ।
हरेकजसो अड्डामा महिला कर्मचारीहरू दर खान वा खुवाउन गएकाले गैरहाजिर हुने गरेको वा पूरा समय सेवाग्राहीलाई नदिएको गुनासा पनि विगतमा सुनिन्थे । यसपालि पनि अब कार्यालय क्रमशः महिलारहित हुन्छन् नै ।

खानपानमा पनि तामसी भोजनलाई महत्व दिइएको पाइन्छ । हामीले पुरातनदेखि मानी आएको तिजको वास्तविक मर्म यो थिएन र होइन पनि । माछा मासुसम्म त ठीकै होला, तारे होटलहरूमा खाने खुवाइने मादक पदार्थ (जाँड, रक्सी, बियर) समेतको लतले तिजको पहिचान खोसिएको अवस्था छ ।
मौलिकता गुमेको छ । जसलाई राम्रो मान्न सकिँदैन । कोरोना कहरका कारण विगतका दुई वर्ष होटल, पार्टी प्यालेसमा भिडभाडका साथ भोज भएको थिएन ।

यो वर्ष भने जनैपूर्णीमा नआउँदै आफन्त जम्मा गरी भिडका साथ खानपान बढेकै छ । स्वास्थ मन्त्रालयले कोरोना बढेको भनिरहेको छ । यसैले योबेला न भोजभतेरको बेला हो, न भिडभाड गर्नेबेला नै हो । स्वास्थ्यका न्यूनतम मापदण्ड पालना गरी औपचारिक रूपमा मौलिक संस्कृतिको जगेर्नासहित चाडबाड मनाउनु आजको आवश्यकता हो । मानिसहरू क्रमशः फुर्सदिला हुँदै छन् ।

नेपाली चेलीहरू चुलाचौकाबाट माथि उक्लिसकेका छन् । आम्दानीको स्रोत बढ्दै छ । यसैले तिज मनाउन तिज नै कुर्नुपर्नै अवस्था छैन ।  जनैपूर्णीमा समेत आउन नपाई गरिने तिजे कार्यक्रमले हुने खानेलाईभन्दा हुँदा खानेलाई बढी पिरलेको थियो ।
तर, संंस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ । मौलिकता नै निमिट्यान्न पार्नेगरी होइन । खुर्सानीमा पिरोको स्वाद हराउनु भनेको खुर्सानीको पहिचान गुम्नु हो, मौलिकता नरहनु हो । बस् हाम्रा मौलिक चाडबाड र रीतिरिवाजले पनि सुधारका नाममा मौलिकता गुमाउनुहुँदैन ।

आफ्नो चिनारीलाई कायम राख्दै सापेक्ष सुधारसम्म गर्न सकिन्छ । खानपान, लवाइखवाइमा सादकीपन अपनाई मौलिकता नहराउने गरी सबै पर्व र उत्सव मनाउन सके मात्र हाम्रो पुरातन संस्कृति, सभ्यता र संस्कारको संरक्षण हुन्छ ।
यही मौलिक पहिचानसहितको संस्कृति आगामी पुस्तालाई हस्तान्तरण गर्न सके मात्र हाम्रो विगत आगामी पिँढीका लागि प्रेरणाको स्रोत बन्न सक्नेछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।