काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट बालेन साहले विजय हासिल गरेदेखि नै काठमाडौंलाई एक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको महानगरपालिका बनाउने सपना देखेका थिए । उनले त्यो सार्वजनिक रूपमा सबैका माझमा आफ्ना भावी एजेण्डाका रूपमा प्रस्तुत पनि गरेका थिए ।
यसले सबैलाई खुसी बनबाएको थियो । तर कुरा सुन्दा जति रमाइला र मीठा हुन्छन्, तिनका व्यवहारिक पक्ष भने निकै जटिल र कहिलेकाहिँ त असमाधेय जस्ता पनि देखिन्छन् । अहिले आएर मेयर बालेन साहका लागि यिनै कुरा समस्या बनेका छन् ।
महानगरपालिकाले अन्तर्राष्ट्रिय मापदण्डको सुधार ल्याउनका लागि पहिलो चरणमा भौतिक पूर्वाधार निर्माण ठीक ढंगले भएको छ कि छैन भनी अनुगमन र कारवाही थालेको छ । यो सही पनि छ । निस्चित मापदण्डमा सहरको निर्माण, विकास र व्यवस्थापन गरिनु पर्छ ।
तर अब फुटपाथ पनि अनुगमनमा पर्छ भनेर फुटपाथका व्यापारी तथा व्यवसायी आत्तिन थालेका छन् । हो पनि फुटपाथ बिना साधनका यात्रुहरूको बाटो हो । यसमा आवागमन सहज र सरल हुनुपर्छ ।
अनुगमनमा पर्ने भयले फुटपाथ व्यवसायीहरू महानगरपालिकाको अगाडि नाराबाजी र धर्ना दिन थालेका छन् । फुटपाथ व्यवसाय नेपालका लागि बाध्यात्मक रोजगार हो । त्यसो फुटपाथमा बसेर व्यवसाय गर्न पनि निकै समस्या छ ।
नगरप्रहरीले लखेटिरहन्छ । सामान छिन्नभिन्न भइरहन्छ । अनिस्चितता छ, व्यापारको । हावापानीको डर पनि उत्तिकै छ । साँझबिहान हातमुख जोड्ने समस्या छ । तर यति नगरी घर चल्दैन पनि ।
यो सबै बेरोजगारीको उपज हो । रोजगार वा स्वरोजगारको व्यवस्था गर्न सके यसको समाधान गर्न सकिने देखिन्छ । मानिसमा चेतनाको पनि कमी छ । अवसरको पनि कमी छ । विकल्पहरू पनि केही छैनन् । त्यसैले फुटपाथ व्यापार अचाक्ली बढ्न गएको छ ।
यो भन्दा पहिलो पटक पनि महानगरपालिकाले फुटपाथ व्यवपारीहरूलाई फुटपाथमा व्यापार नगर्न र महानगरपालिका सुन्दर र छरितो राख्नका लागि प्रारम्भिक अभ्यास थालनी गरेको थियो । फुटपाथ व्यापारीका सामान नगर प्रहरीले जफ्त गर्दा चलेको रुवावासी प्रति धेरैको ध्यानाकर्षण पनि भएको देखिएको थियो ।
यथार्थता हाम्रा आफ्नै छन्, तर भावनात्मक र त्यससँग जोडिएका पक्षहरू स्वभावैले बढी मन छुने हुन पुग्छन् । फुटपाथ व्यापारीको सामान महानगरीय प्रहरीले उठाएपछि सर्वसाधरणका बीचमा यो विषयमा व्यापक आलोचना पनि हुन गएको थियो ।
त्यसपछि केही समयका लागि महानगरपालिका पछि हटेको पनि देखिएको थियो । नेपालमा हरेक कामको थालनी वा विस्थापन विना विकल्प संभव छैन । अहिले महानगरपालिकाले भौतिक पूर्वाधार निर्माणका मापदण्डमाथि आँखा लगाउन थालेपछि फूटपाथ व्यवसायीमाथि
फेरि पनि जाइलाग्ने त होइन भन्ने प्रश्न उठ्न थालेको देखेर विरोध सुरू भइसकेको छ ।
व्यवहारिक कुरा त यो पनि हो कि फुटपाथे व्यवससाय गरेर आफ्नो जीवन गुजारा गर्दै आएका मानिसहरूलाई जीवन अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले निकै नै सताएको छ । फुटपाथ व्यवसायबाट सामान्य जीवन व्यतित गर्दै आएकाहरू अर्को विकल्प के हुन सक्छ भन्ने निष्कर्षमा पुग्न पनि सकिरहेका छैनन् ।
उता महानगरपालिकाले फुटपाथ व्यापारीका कारण ठूलो जोखिम बेहोर्नु परिरहेको छ । सर्वसाधरण मानिसहरूको आउजाउ गर्ने फुटपाथ अबरूद्ध छ । यसले सिंगो सहरको व्यवस्थापनमा चुनौती थपेको छ । सहर आफैमा अस्तव्यस्त हुन गएको छ ।
फुटपाथ व्यापारका कारण ट्राफिक जाम हुने, अनावश्यक भीडभाड हुने, गाडी गुडिरहेका सडकहरूमा मानिस पैदल हिँडिदिने, मूल सडक नै अस्तव्यस्त रहने, सडक दुर्घटना बढेर जाने आदि भइनैरहेको छ । सडकमा फोहरमैलाको डंगुर थुप्रने, तथा वातावरण प्रदुषण पनि त्यति नै बढेर जाने भइरहेको छ ।
तर महानगरपालिकाले चालेको कदम नराम्रो भने होइन । यो कदम चालिनु जरूरी पनि हुन गएको छ । फुटपाथ पूरै ढाकेर सडक नै छेक्नेगरी सञ्चालन भइरहेका व्यापार–व्यवसाय हटाउन अनिवार्य हुन गएको छ । काठमाडौं महानगरका धेरैजसो फुटपाथ क्षेत्र व्यापारीले कब्जा गरेको देखिन्छ ।
सर्वसाधरण हिँडडुल नै गर्न नमिल्ने गरी पसल तथा व्यवसायका सामग्री राख्नदा फुटपाथ क्षेत्रमा पसल व्यवसाय चलेका देखिन्छन् । कतिपय फुटपाथमा त पार्किङस्थल समेत बनाइएको छ । यो अस्तव्यस्तताको अन्त्य गरिनु जरूरी छ ।
तर फुटपाथ व्यवसाय हटाउनका लागि विकल्पसहितको दीर्घकालीन सोचको जरूरी छ । वैकल्पिक उपाय के के हुन सक्छन् ? यसका बारेमा सम्बन्धित पक्षसँग पनि अन्तरक्रिया जरूरी छ । तिनका बारेमा ‘केस स्टडी’ हुनु जरूरी छ ।
यसै कारणले पनि समस्या समाधानका नाममा स्थानीय सरकारले सर्वसाधरण जनतालाई रोजगार दिने ठाउँमा उल्टै रोजगारीको नै अन्त्य हुने गरी कदम चाल्न मनासिव देखिदैन । त्यसैले गर्दा पनि वास्तविक व्यवसायीको लगत संकलन गरी तिनीहरूका बारेमा अध्ययन गरी रोजगारको विकल्प बारे सोच्नै पर्छ ।
फुटपाथ व्यवसायीहरूमा महाननगरपालिकामा रहेका वा तिनीहरूको स्थायी बसोवास भएका जिल्ला र पालिकासँग समन्वय गरेर उनीहरूका लागि वैकल्पिक रोजगारीको व्यवस्था कसरी गरिनु पर्छ भन्ने बारे सोच बनाई व्यवहारिकताका लागि युक्तियुक्त छलफल गरिनुपर्छ ।
बिना विकल्प यसलाई बिस्थापन गर्न सकिने देखिँदैन । यसले अर्को समस्या निम्त्याउने देखिन्छ । त्यसमा पनि राजनीतिक दलहरूका बीचमा रहेका असझदारी, मानिस उक्साउने र भिडाउने सोच, समस्या हल गर्ने भन्दा पनि समस्या थोपरेर विफल भएको सन्देश दिने हरूवा मनोविज्ञानले पनि काम गर्ने देखिन्छ ।
विगतका असफल अभ्यास वा प्रयासबाट पाठ सिकेर महानगरपालिका सरकारले यसको सफल व्यवस्थापनसहित फुटपाथे व्यवसाय हटाउनतिर पहल लिनु बढी श्रेयस्कर देखिन्छ ।
यदि यस्तो सोचिएन भने यसले अनावश्यक झडप, तनाव, आन्दोलन, अनावश्यक प्रचार आदिलाई स्थान दिने र समस्या झनै बल्झाउने देखिन्छ । विकल्पसहित फुटपाथको समस्या हल गर्न जोड दिइनु उत्तम हुन्छ ।