देशकै पहिलो पटक प्लानिङ गरेर बसाइएको बस्ती हो काठमाडौंमा रहेको नयाँबस्ती । बौद्ध, गुहेश्वरी र कुमारीगालको बिचमा, एयरपोर्ट नजिकै रहेको यो बस्ती धेरै तिरबाट हेर्दा मिलेको देखिन्छ ।
सफा पिच र गरेका चौडा सडकहरू, घरको चारैतिरबाट ठूलो बाटोले छोएको, सडककै कारण घरवरिपरि सूर्य उदाएदेखि नअस्ताउन्जेल उज्यालो भइरहने, बस्तीकै बीचमा दुई ठूला चौरहरू निर्माणाधीन समेत रहेका छन् ।
एउटा चौर पार्कमा रूपान्तरित हुने काम झण्डै ९५ प्रतिशत सकिएको छ भने अर्को आठ करोड खर्च गरेर स्वीमिङ पूल लगायतका सुविधा सहितको पार्कको निमाणर् भइरहेको छ ।
बालबालिका बृद्धबृद्धा खेल्न, टहल्नका लागि, आकस्मिक परेको बेला खुल्ला ठाउँमा जान बस्तीको बीचबीचमा अरू पनि खालि ठाउँ छुट्याइएको देखिन्छ । वरिपरि वर्षौदेखि चलिरहेका साना, ठूला स्कुल, कलेजहरू छन् ।
नजिकै सय रूपैयाँमा उपचार प्रदान गर्दै आइरहेको समता अस्पताल तथा सय रूपैयाँमा नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको समता स्कुल पनि छ । थोरै दुरीमा बस्तीको तीनतिर बौद्ध स्तुपा, गोट्ठाटारको अति नै रमणीय कृष्ण मन्दिर तथा पशुपतीनाथ मन्दिर रहेका छन् ।
घरभित्र बाटै ठूला अन्तराष्ट्रिय जहाजहरू उडेको अनौठो दृष्य समेत देखिन्छ । तर पार्ककै नजिक पाँच छ, जना भएको परिवार सडक छेउमा अर्कैले बनाएको टीनको छाना मुनि बाहिरपट्टि रात बिताइरहेका छन् ।
झण्डै एकवर्ष देखि उनीहरू त्यो सडकमा रात बिताइरहेका छन् । पुसमाघको रातको चिसोमा समेत उनीहरूले कहिले टिनको छानामुनि त कहिले खुल्ला आकाशमुनि नै सुतेर रात कटाए ।
केही दिन पहिले उनीहरू मध्येकै एकजनाले दुईतीन दिन थला परेर काम्दै त्यही प्राण त्याग गरे । कसैले उनलाई अस्पताल लग्नेसम्म कोसिस गरेनन् ।
चार, पाँच तले घरको छतबाट चियाको चुस्की, लन्चको मिठो स्वादसँगै नजिककाहरूले उनीहरूको क्रियाकलाप नियालिरहेका हुन्छन् । तर उनीहरूको लागि कसैले केही पहल गरेजस्तो देखिँदैन ।
उनीहरूले बाहिरै खुल्ला आकाशमुनि खाना पकाइरहेका छन् । हामीहरूको जस्तै उनीहरूको पनि घरबाट उत्पन्न फोहोर हुन्छ । तर सडक वरिपरि फाल्दा जताततै फोहोर देखिन्छ ।
वर्षातको समयमा खुल्ला ठाउँमा मुसा, भ्यागुता, सर्प लगायत, झुसिल्किरा, शंखेकिाराहरू, लामखुट्टको पनि उत्तिकै विगविगी रहेको छ । उनीहरू बस्ने वरिपरि जताततै फाहोर गन्हाउँछ ।
बाटो हिँड्नेलाई पनि अप्ठेरो हुन्छ । लामो समयसम्म काठमाडौंको फोहोर उठ्न नसकेर सडकमा जताततै फोहोर हुँदा विरामी पर्न सक्ने सम्भावना पनि बढ्दै गएको छ ।
उनीहरूसँग बृद्ध आँखा नदेख्ने आमा पनि हुनुहुन्छ । एकजना अर्की अधबैंसे महिला सायद ती आमाकी बुहारी हुनुहुन्छ, ती पनि सँगै बस्ने गर्नुहुन्छ । सडक छेउमा बसेर उहाँले दिन कटाइराख्नु भएको छ ।
त्यो सटर भाडामा गएपछि उनलाई त्यहाँबाट हटाइयो । नजिकैको बन्दै गरेको घरको चिसो भुइँमा सुत्न उनीहरू बाध्य भएका छन् । आजभोलीको रातदिनै पानी परिरहेको बेला उनीहरू पानीले भिजेको चिसो भुइँमा सुतिरहेका छन् ।
उनीहरूसँग भएका तीनचार जना पुरूषहरू जहिले पनि रक्सीले टन्न भएका मात्र देखिन्छन् । तिनीहरू मध्ये एकजना बृद्ध पुरूष पनि छन् । विहान उठ्दा पनि उनीहरू लरखराइरहेका हुन्छन् ।
भाडा तिरेर बस्न नसक्ने उनीहरूसँग चुरोट तान्न र रक्सी खान भने पैसा पुगिरहेको छ । सायद उनीहरूलाई रक्सी र चुरोटको गहिरो लत लागिसकेको छ ।
खानपिन भन्दा पनि कुलतमा फस्दा उनीहरूको स्वास्थ्य अवस्था राम्रो देखिँदैन । नजिकै स्कुल पढ्न जाने विद्यार्थीहरूलाई दिनदिनै स्कुलमा अप्ठेरोमा परेकाहरूको मद्दत गर्नुपर्छ भनेर सिकाइन्छ ।
तर बुढी आमा त्यसरी कहिले एक छाक त कहिले भोकै बसेर दिन काटिरहेको देख्दा कलिला मनहरूमा प्रश्न उठछ होला ‘किन कसैले पनि यिनिहरूलाई हेर्दैन’ भनेर । किन सरकारले यस्ता गरिबहरूलाई देख्दैन ?
किन उनीहरूलाई कतै सुत्ने बासको व्यवस्था गदैन ? भनेर सोच्छन् होला ती स्कुल जाने मुनाहरूले । केही महिना अगाडि पुलिसहरू पनि आएर केरकार गरेका थिए । सायद छिटै उनीहरूको समस्या समाधान हुन्छ जस्तो लागेको थियो ।
तर अहिलेसम्म पनि पानीमा भिज्दै दिनभरि ती आँखा नदेख्ने आमाले कसैलाई कुरेर बसिरहेको देख्दा मन कुडिन्छ । यो भन्दा अगाडिको सरकारले सडक बालबालिका, पशुपतीमा मागेर दिन कटाउने, बृद्धबृद्धाहरूलाई सडकबाट हटाएर उचित गासबासको व्यवस्था गर्ने अभियान चलाएको थियो ।
त्यसपछि धेरै हदसम्म सडक बालबालिकाहरू, बृद्धबृद्धाहरूको उचित व्यवस्थापन भएको थियो । सडकमा बालबालिका, बृद्धबृद्धाको संख्या उल्लेख रूपमा घटेको पनि थियो ।
काठमाडौंका मेयर बालेन शाहले पनि अब काठामाडौंमा भिख माग्न नपाइने, गरिब, आफन्त नभएका बृद्धबृद्धाहरूको हेरचाह सरकारले गर्ने जनाएका छन् । केहि दिन अगाडि मात्रै प्रहरीको सक्रियतामा काठमाडौंका सडकबाट ५५ सडक बालबालिकाको उद्धार गरिएको थियो ।
देशका जुनसुकै ठाउँमा भएपनि सडकमा दिन बिताउने, मागि हिंड्ने बालबालिका वा बृद्धबृद्धाको उद्दार गर्नु स्थानीय सरकारको दायित्व भित्र पर्दछ । वर्षेनी स्थानीय सरकारले विभिन्न शिर्षकमा करोडौंको बजेट छुट्याउने गर्छ ।
त्यही बजेट मध्ये केही प्रतिशत मानव हितमा प्रयोग गर्न हिच्किचाउनु हुँदैन । विभिन्न परिस्थिति तथा समस्याहरूसँग जुझ्दै मानिस सडकमा आइपुगेको हुन्छ । सकेसम्म सडकमा मागेर बस्ने कसैको पनि इच्छा हुँदैन ।
राजधानी भित्रै नसकिए पनि राजधानी बाहिर शहर पस्नेहरूका जमिन बाँझो छोडेका छन् । सानो टिनको टहरा बनाएर घरबार नहुने सुकुम्बासीहरूलाई व्यवस्थित गर्न सकिन्छ ।
पानीमा भिज्दै हात फैलाइ मागेर खानुभन्दा आफ्नो घरभित्र बसेर भान्छामा पकाइ खाँदा उनीहरूलाई पनि आनन्द आउँछ होला । सरकारले बृद्धबृद्धाकै लागि बृद्धभत्ता लगायत औषधि उपचारमा बर्षेनी अरबौं रकम खर्च गरिरहेको छ ।
तर पनि केहि बृद्धबृद्धाहरूले त्यसको सही सदुपयोग गर्न सकिरहेको देखिँदैन । हालै सन्तानले आफ्ना बृद्ध आमाबुवाको लागि निश्चित रकम छुट्याउनु पर्ने विधेयक ल्याएको छ ।
तर यो परिवारमा हेर्दा युवा सन्तानले पनि बृद्ध भत्ताबाट एक छाक खान पाएको जस्तो देखिन्छ । स्कुलकै छेउमा, मनोरञ्जनको लागि घुम्न आउने चौरको छेउमा, समता अस्पतालको नजिकै कसैको उपचार नपाइ मृत्यु भइरहँदा, कुनै परिवार अलपत्र अवस्थामा जीवन निर्वाह गरिरहँदा सम्वन्धित पक्षको ध्यान जानु जरूरी देखिन्छ ।
सिंङ्गो सानो देशलाई सातवटा प्रदेशहरूमा छुट्याएर छुट्टाछुट्टै स्थानीय तहहरूमा समेत विभाजन गरिएको छ । आफ्नो क्षेत्रमा के कस्ता गतिविधिहरू भइरहेका छन्, के कतिले खान पाइरहेका छन्, केकति भोकै छन्, विरामीलाई उपचारको व्यवस्था छ कि छैन भनेर जानकारी राख्ने स्थानीय सरकारको काम भित्र पर्नुपर्ने हो ।
तर धेरैजसो ठाउँमा त्यस्तो देखिँदैन । स्थानीय स्तरबाट चुनिएर आएका जनप्रतिनिधिहरू के गर्दैछन्, कहाँ छन् भन्ने समेत पत्तो हुँदैन । बृद्धाश्रम, देशमा मानव अधिकारवादी, नागरिक समाज जस्ता मानव हकहितको लागि बोल्ने विभिन्न संघ-संस्थाहरू समेत खुलेका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि क्रियाशील नै छ । तर लामो समयदेखि यस्ता संघ-संस्थाहरूको उपस्थिति न्युन देखिन्छ । लामो समयदेखि सडकछेउमा दिन बिताउने श्रीमान, श्रीमती सहित छ, सात जनाको परिवारमा कसैका पनि आँखा परेका देखिँदैनन् ।
यस्ता सुकुम्वासीहरूका लागि राज्यले नै उचित व्यवस्थापन गर्नुपर्ने हो । काठमाडौंको छेउछाउका जिल्लाहरूमा पनि वर्षौंदेखि जमिन बाँझा छोडिएका छन् ।
अन्य काम गरेर खान नसक्ने तर काम गर्ने उमेर भएका यस्ता हजारौं सुकुम्वासीहरूका लागि साना टहरा बनाइदिएर खेतीपातीको काममा लगाउँदा खानपिनकै लागि अरूमाथि भरपर्नु पर्ने थिएन ।
खुर्सानी पनि अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता हट्ने थियो । काममा व्यस्त हुँदा घरबार नभएर सडकमा दिन कटाउनेहरूलाई रक्सी, चुरोटको कुलतबाट पनि टाढा रहन मद्दत पुग्ने थियो कि !