इस्लामावाद । पाकिस्तानको प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरू गरेको छ । प्रहरी र न्यायपालिका विरूद्ध धम्की दिएको आरोपमा उनीमाथि छानबिन थालेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । अप्रिलमा सत्ताच्यूत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् ।
खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा रहेका आफ्ना पार्टीका सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै निन्दा गरेका थिए ।
‘पाकिस्तानको प्रहरीले कसैको निर्देशनमा मेरा पार्टी नेतालाई पक्राउ गरिरहेको छ । मैले पुलिसलाई शाहबाज गिललाई किन गिरफ्तार गरिएको भनि प्रश्न गर्दा आफूहरूले आदेश मात्र पालना गरिरहेका बताएका छन्’, इमरानले शनिबार इस्लामावादको एफ ९ पार्कमा आयोजित र्यालीमा भनेका थिए ।
यति मात्र होइन, खानले एक महिला न्यायाधीशलाई आफ्नो पार्टीविरूद्ध पक्षपात गरेको आरोपमा धम्कीसमेत दिएका थिए ।
‘न्यायपालिकाले पनि परिणाम भोग्न तयार हुनुपर्छ । गिललाई हिरासतमा लैजान आदेश दिने न्यायाधीशलाई पनि कारबाही गरिनेछ । यसका लागि तयार हुनुहोस्’, उनले भनेका थिए ।
उक्त अभिव्यक्तिको विषयमा खान विरूद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत एफआईआर दर्ता गरिएको थियो । प्रहरीले इमरानको घर जाने बाटोको सुरक्षा व्यवस्था कडा पारेको छ । यसैबीच उनको पार्टी पीटीआईका उपाध्यक्ष शाह महमूद कुरैशीले सरकारले इमरान खानलाई पक्राउ गर्ने योजना बनाएको बताएका छन् ।
उता पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्था पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा रोक लगाएको छ । पेम्राका अनुसार खानले देशको सेना, प्रहरी र न्यायपालिकामाथि लगातार आधारहीन आरोप लगाउँदै घृणा फैलाइरहेका छन् । उनले संविधानको धारा १९ को उल्लङ्घन गरेका छन् ।
खानलाई राज्य संस्थाहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाएको हो ।
सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्वप्रधानमन्त्री खानको दाबी छ । आइतबार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरेका थिए ।
‘इमरान खानले के अपराध गरेका छ ? म यी चोरहरूको संगठनलाई कहिल्यै स्वीकार गर्दिनँ,’ उनले आफ्ना समर्थकहरूमाझ भनेका थिए । सरकारले आफ्नो भाषण प्रत्यक्ष सुन्नबाट रोक्न युट्युबको पहुँचमा समेत रोक लगाएको खानले आरोप लगाएका छन् ।
यस वर्षको सुरुमा अविश्वासको मतमार्फत् सत्ताबाट हटाइए पनि इमरान खानले धेरै पाकिस्तानी मतदाताहरूको समर्थन पाइरहेका छन् । खान जुनसुकै बेला पक्राउ पर्न सक्ने भन्दै उनका समर्थकहरू खानको घर बाहिर भेला भएका छन् । उनको निवासबाहिर भेला भएका समर्थकले यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने चेतावनीसमेत दिएका छन् ।
शाहबाज गिललाई प्रहरीले ९ अगस्टमा पक्राउ गरेको थियो । गिरफ्तारको समयमा गिल इमरानको घर जाँदै थिए । विगतमा पाकिस्तानी सेना र न्यायपालिकाको बारेमा अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले बीच बाटोबाटै पक्राउ गरेको थियो । उनको अभिव्यक्तिले सेना र सरकारलाई आक्रोशित बनाएको थियो ।
पाकिस्तानी समाचार वेबसाइट द न्युजका अनुसार संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरान खानलाई भारत लगायत धेरै देशबाट गैरकानूनी आर्थिक सहयोग लिएको मामिलामा पक्राउ गर्न सक्नेछ । एफआईएले अदालतको अनुमति लिएर इमरानको पार्टी पीटीआईको बैंक खाताको पनि छानबिन गर्नसक्छ । यदि इमरानले छानबिन समितिलाई सहयोग गरेनन् वा गैरकानूनी कोष सम्बन्धी नोटिसको जवाफ दिएनन् भने उनलाई पक्राउ गरिने समाचारमा जनाइएको छ ।
समाचार अनुसार इमरान खानलाई ३ वटा सूचना दिएपछि पक्राउ गर्ने अन्तिम निणर्य हुनसक्छ । उनलाई दोस्रो सूचना शुक्रबार दिइएको हो । जियो न्यूजका अनुसार इमरानको गिरफ्तारीका लागि पाकिस्तानको एलिट सेक्युरिटी युनिट रेन्जर्सलाई अलर्टमा राखिएको छ ।