• असार २५ २०८१, सोमबार

मदिराले मन शान्त बनाउँछ तर बुढीले गाली गर्छ भनेर पिउन डरलाग्छ : सोनाम शेर्पा

भाद्र ५ २०७९, आईतवार

घोराही ५, भदौ ।
‘म डेली एक क्वाटर, दुई क्वाटर जति पिउँछु । कहिलेकाहीँ बाहिर गएर लिन्छु । तर बुढीले गाली गर्छ भनेर डरलाग्छ’ ।
नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले भन्नुभयो । ‘म नपिएर गएँ भने बुढीलाई हकार्छु । तरकारीमा नुन भएन चाख्या होइन ? भन्छु ।’

उहाँले राप्ती अञ्चल लिक्वर्स एसोसियसनको १५औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । त्यसपछि हलमा भएका पुरुषहरु खितखित गरी हाँसे । त्यो आवाजले सभाहल गुनमुनायो । कसैलाई पनि प्रतिकृयाविहीन हुन दिएन । त्यो होइन भनेर कसैले विरोध जनाउन भने सकेन । त्यो एकजना पनि महिला सहभागी नभएको कार्यक्रम थियो ।

‘मदिराले शान्त बनाउँछ । महिला हिंसा हुँदैन । मदिराले महिला हिंसा भयो मान्छे मार्यो भन्छ । महिलाहरुले मलाई देख्यो भने झनझन् ठुल्ठुलो स्वरमा कराएर भन्ने गरेको हुन्छ’ शेर्पाले थप्नुभयो, ‘यहाँ त कार्यक्रममा सहभागी एउटा पनि महिला रहेनछ ।’

उहाँका अनुसार मदिरा दबाई हो । ठिक्क पिउनुस् । धेरै त घिउ र भात पनि खान हुँदैन । दही, दुध, मासु, माछा केही पनि बढि खान हुँदैन भने झन् मदिरा त मदिरा नै भइहाल्यो ।

मान्छे मार्ने फटाहा पागलले जहाँ पनि मारेको छ । मदिरा नपिएकाले पनि मान्छे मार्ने भयो भने मार्छ नै । उहाँको भनाईलाई थप मद्धत गरेको थियो महासंघका केन्द्रीय सल्लाहकार खड्कबहादुर बुढाथोकीको भनाईले ।
‘लकडाउनमा सबै व्यवसाय खुले मदिरा व्यवसाय खुलेनन्’ उहाँले थप्नुभयो, ‘जसले दिउँसो व्यवसाय बन्द गराउँछ उसलाई साँझ जसरी पनि चाहिन्छ । हेर्नुस् त यो दृष्टिकोण ?’

उहाँका अनुसार जसले पिउँछन् तिनैले व्यवसायीलाई हेप्न खोज्छन् । देशको कुल राजश्वमा २४ देखि २६ प्रशित मदिराले उठाउँछ । त्यसैलाई सरकारले नियन्त्रण गर्न खोज्छ । किराना पसलले पनि रक्सी बेचेको हुन्छ । व्यवसायीलाई व्यवस्थित र नियम संगत बनाउँदैन । देखालोमा बेस्सरी हेप्ने, लुकालोमा नभई नहुनेहरुले समस्या ल्याएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको भनाई थियो ।

उहाँका अनुसार त्यसकै कारण पुराना मदिरा व्यवसायीले छोड्ने र नयाँ आउने भइराखेको छ । यसो त दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषालले सोफी बिक्री घटेको बताउनु भयो । उहाँका अनुसार डोको, झोला, ड्रम र स्कुटीमा लोकल मदिरा ओसारेका ओसारेइ छन् । त्यसलाई प्रहरीले देख्दैन । त्यसकै कारण विक्री घट्यो । गत २०६२ सालमा यादव शाहको नेतृत्वमा एसोसियसन गठन भएको थियो । राज्यबाट हुने धरपकड, मान मर्दनले चिन्तित बनाएको अध्यक्ष दामोदर बुढाथोकीको भनाई छ ।