• कार्तिक ७ २०८१, बुधबार

घातकी र पातकीविरुद्ध विद्रोह

भाद्र ४ २०७९, शनिबार

आज हाम्रो देशका राष्ट्रिय भनिएका पार्टी र तिनका मुख्य–मुख्य नेताहरु कमरेड आजाद खड्काले भन्नुभए जस्तै फटाह र गद्दार भैसकेका छन् ! तर तिनीहरुका विरुद्धमा वैचारिक–राजनीतिक संघर्ष गरेर तिनलाई रुपान्तरण गर्न सकिन्छ भन्ने एउटा मृगतृष्णा उहाँ लगायतका यी पार्टीका थुप्रै ठुला–साना नेता–कार्यकर्ताहरुमा व्याप्त छ ।

के ती साँच्चै रुपान्तरण हुन्छन् त ? हुने भए त माकेभित्र गुरुङहरुले, नेकपा एसभित्र झलनाथहरुले, एमालेभित्र भीम–घनहरुले र बाबुरामभित्र डम्बर खतिवडाहरुले कम्ती गरेका हुन् र छन् यस्तो संघर्ष । खोइ त रुपान्तरण भएका यी लाउके नेताहरु ? प्रचण्ड, माधव, केपी र बाबुराम लगायतका यी हठी र दम्भी युद्ध सरदार बनेका नेताहरु त झन् पछि झन् साम्राज्यवादी–विस्तारवादीहरुको दलाली गर्दै र नेपाल राष्ट्र नेपाली जनता र नेपाली क्रान्तिप्रति गद्दारी स्वरुप अन्ततः वर्ग, वर्गसंघर्ष, वर्गीय विचार, भावना र व्यवहार लगायतका आफ्ना घोषित मूल्य–मान्यता र प्रण–प्रतिबद्धताअरुलाई पूराका पूरा बिर्सेका र बिसर्जन गरेका छन् ।

यतिमात्र होइन, यिनीहरु नै अहिले त कम्युनिस्ट पार्टी, आन्दोलन र क्रान्ति एवम् राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान, स्वत्व र अस्तित्व नै समाप्त पार्ने दिशामा म्याराथन दौडको प्रतिस्पर्धामा पो छन् त ! यसरी यी नेताहरुले यतिबेला त साम्राज्यवादी–प्रतिक्रियावादीहरुको प्यारो बन्ने र उनीहरुको पक्का प्यादा भएको प्रमाणपत्र स्वरुप नोबेल पुरस्कार लगायतका प्रतिक्रियावादी पुरस्कारहरु पनि प्राप्त गर्ने लक्ष–उद्देश्यमा अर्जुन दृष्टि लगाइरहेका छन् !

त्यसैले प्रस्ट छ, प्रतिकृयावादीहरुबाट पाउने पद÷पावर, पैसा, प्रसंशा, पुरस्कार र प्राणजस्ता पाँच प जन्य तुच्छ कुराहरुका भिक्षाका निम्ति नितान्त लोभी, लाचार र कायर बनेर वर्गीय र राष्ट्रिय दुश्मनहरुसँग पूर्णरुपेण आत्मसमर्पण गरिसकेका छन् ।

यी नेता भनाउँदा घातकी र पातकीहरुले वर्गवैरीहरुसँग नेपाल राष्ट्र र कम्युनिस्ट आन्दोलनलाई विभाजन, विघटन र विसर्जन गर्ने लिखित कसम समेत खाएका कुराहरु यत्र–तत्र–सर्वत्र सार्वजनिक छन् ! यसरी यी नेता भनिएकाहरु पूर्णतः दलाल र गद्दार बनिसकेकाले यी टाउके नेताहरुमा र यिन्ले नेतृत्व गरेका पार्टी÷गिरोहहरुमा रुपान्तरणको रत्तिभर पनि गुन्जाइस छैन ।

खासगरी एमसीसी, एसपीपी र नागरिकता विधेयक स्वीकृत गर्नेसम्मको हालको यो अवस्थामा आइपुग्दा त माथि उल्लेखित पार्टीहरुभित्र न्याय, समानता, स्वतन्त्रता, क्रान्ति, मुक्ति र प्रगतिको लागि उल्लेख्य संघर्ष गरिरहेका उक्त नेताहरुले आफ्ना लागि, देशका लागि र शोषित–पीडित जनसमुदायका लागि बिद्रोह गर्ने बाहेको उत्तम विकल्प अर्को त छँदैछैन ।

अझ यो विद्रोह त उपरउल्लेखित कथित राष्ट्रिय पार्टी भनिएका सरकार र संसदमा भएका संसदवादी पार्टीहरुमा मात्र होइन, सडकमा रहेका राष्ट्रवादी र क्रान्तिकारी भनिएका त्यागी, तपस्वी, स्वच्छ र सिद्धान्तनिष्ठ भनेर गनिएकाहरुले समेत यति लामो अवधिसम्म पनि चरम राष्ट्रघाती एमसीसी, एसपीपी र नागरिकता विधेयकजस्ता राष्ट्रियतासँग सम्बन्धित दीर्घकालीन महत्वका गम्भीर र संवेदनशील विषयहरुलाई सरकार र संसदले हठात् र बलात् अवलम्बन र कार्यान्वयन गर्दा पनि तिनका विरुद्धमा कुनै सशक्त, संयुक्त, प्रभावकारी र परिणाममुखी संघर्ष समेत संगठित गर्न सकेनन् ।

साथै, यिनले आजसम्म पनि क्रान्तिको न कुनै ठोस तयारी, सुरुवात र विकासको दिशामा सिन्को भाँच्न सकेका छन् न त पार्टीलाई व्यापक र बलियो बनाउन सकेका नै छन् । तसर्थ, खालि दिन काट्ने र काल पर्खने गरेका सन्की, संकीर्ण, जड, यान्त्रिक, आग्रही, पूर्वाग्रही, प्रतिशोधी र अहङ्कारी बयोबृद्ध नेता–पण्डाहरुका पार्टी–गुटभित्र रहेर यथासक्य संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले पनि आआफ्ना पार्टी–गुट र नेता–पण्डाहरुका विरुद्धमा विद्रोह बुलन्द गर्नु बाहेकको अर्को राम्रो विकल्प पनि छैन ।

त्यसैगरी विभिन्न पार्टीहरुबाट विद्रोह गर्दै स्वतन्त्र भएर पनि देश, जनता, क्रान्ति र मुक्तिको लागि कृयाशील रहेका वा कुन्ठा, आक्रोश, निराशा, पलायनजस्ता चिन्तन –प्रवृत्तिका शिकार भई चुप लागेर बस्दै आफ्नो क्रान्तिकारी ऊर्जा खेर फालिरहेका सच्चा, स्वतन्त्र, स्वविवेकी, स्वाधीन र स्वाभिमानी क्रान्तिकारी-प्रेमीहरुले समेत आआफ्ना सिमित र संकुचित सोंच, शक्ति, संस्था र संघर्षबाट माथि उठेर आफैभित्र एकप्रकारको विद्रोह गर्नु समेत जरुरी छ ।

तत्पश्चात् यी सबै विद्रोही क्रान्तिकारी कम्युनिस्टहरु एउटै शक्तिमा एकीकृत हुने, एउटै केन्द्रमा केन्द्रीकृत हुने र एउटै ध्रुवमा ध्रुवीकृत हुने अनि राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलनको महाअभियानमा अविलम्ब गोलबन्द र लामबन्द हुने गर्नु अनिवार्य छ । यो नै अहिले तत्कालको लागि नेपाल र नेपाली जनताको मुक्ति र क्रान्तिको निम्ति सर्वाधिक महत्वको अत्यन्त जरुरी काम कार्वाही हो ।