• मंसिर १२ २०८१, बुधबार

कि विकल्प देऊ, नत्र पछारिन तयार होऊ

भाद्र २ २०७९, बिहीबार

नेपाली कम्युनिस्ट आन्दोलनको उत्कर्षले निष्कर्षको विन्दु खोजिरहेको छ । झट्ट हेर्दा कम्युनिस्ट क्रान्ति सम्पन्न भएको जस्तै देखिन्छ तर सारमा जाने हो भने देश र समाज थुप्रै अपुगताहरुले भरिभराउ देखिन्छ । यसको पूर्णताको आशा सबैले गरिरहेका छौं तर नयाँ पनको खोजीमा कसैले मेलोमेसो नपाएको जस्तै देखिएको छ । यही अन्यौलताका कारण देशको अर्थतन्त्र र राजनीतिमा समेत संकट देखा पर्न थालिसकेको छ ।

यसैको उपज महङ्गीमा देखिएको छ । साथै यसको विकल्पका लागि भन्दै स्वतन्त्र शक्ति र व्यक्तिहरु पनि सल्बलाएको प्रष्ट देख्न सकिन्छ ।
यसको समयमा सामाधान खोज्न सरोकारवाला र जिम्मेवार निकाय र राष्ट्रिय नेतृत्वको ध्यान जान सकेन भने हिजो विजय पछिको चिनियाँ क्रान्ति र अहिलेको श्रीलंकाले भोक्नु परेको समस्या नेपालले भोक्नु पर्दैन भनेर ठोक्कुवा गर्न सक्ने अवस्था छैन । यसको बहस पाटी–पौवा चोकचोक र विभिन्न सेमिनारहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा छरपष्ट रुपमा चलेको देखिन्छ ।

यसको निकास एक नयाँ क्रान्तिको उदय नै हो भन्ने निष्कर्ष कुन बेला आउँछ र सम्पूर्ण श्रमजीवी र सचेत वर्ग एकत्रित सोंच र दृष्टिकोणमा परिपक्वता देखाएर नेतृत्वको उदयसँगै निचोडमा अवस्य पुग्ने देखिन्छ तर कस्ले नेतृत्व गर्ने र कतिखेर छेड्ने भन्ने कुरामा मात्र ठम्याउन गाह्रो भएको हो तर यो शतप्रतिशत नै निश्चित हो भन्ने कुरामा जो कोही विश्वस्थ नै भएको बुझ्न सकिन्छ ।

यसै कुरालाई हेर्ने हो भने क्रान्तिको एकतिहाई मात्र विजय भएको हो भन्नेमा जो कोही क्रान्तिका हिस्सेदार र क्रान्तिका हिमायति पनि यस विषयमा एकमत राख्दछन् । यो आंशिक परिवर्तन र क्रान्तिको पूर्णताको जस कसले लिने भन्नेमा होडबाजी देखिन्छ ।

हिजो माओवादीले सुुरु गरेको जनवादी क्रान्ति दबाउन वा सिध्याउन विभिन्न प्रपञ्च रच्ने केही कम्युनिष्ट पार्टी, काङ्ग्रेस, राप्रपा आज राजा हामीले फालेर गणतन्त्र, नयाँ संविधान र यसभित्र लिपिवद्ध एजेण्डा हामीले गर्दा भएका हुन्, शान्ति हामीले गर्दा भएको हो, हामीले माओवादीलाई जङ्गलबाट शहरमा ल्याएका हौं जस्ता अर्थहीन कुरा उठाएर कुतर्क गर्न गरेका छन् ।

यी हल्लाहरुले शान्तिको नाममा भएको अपूर्ण क्रान्तिलाई स्थगित गर्ने वातावरण बनाइएको महसुस हुने गर्दछ । हो, परिवर्तन सबैलाई आवश्यक छ र यसको जस लिन खोज्ने हो भने राष्ट्रियता र स्वाधीनताको पक्षमा एकमत भएर लाग्नु पर्छ । सरकारमा पुगेपछि विदेशी शक्ति सामु रुझेको बिरालो जस्तै बन्ने, राष्ट्रघाती सम्झौता गर्न पछि नपर्ने तर सत्ता बाहिर हुँदा पानी माथिको ओभानो बन्न खोज्ने प्रवृतिले जनतामा निरासा पैदा गरेको छ ।

क्रान्तिकारी खुट्टिएर सडक तताउने खेल खेल्ने, नाटक मञ्चन गर्ने, कमेडी कलाकारसँग प्रतिस्पर्धा गरी पछि पार्दै र उछिन्दै अघि बढिरहेका छन् । सरकार पाउँदा केही नचाहिने जस्तो गर्ने तर सत्ता नहुँदा सबै चिज आवश्यकता ठान्ने नेतृत्वको खुराफात, राजनीतिको खिसिट्युरी र विकल्पको खोजी हुन थालेको छ । यसैकारण बैचारिक विकेन्द्रिकरण आजको जबर्जस्त समस्याको रुपमा खडा भएको छ ।

क्रान्ति जब सम्पन्न हुन्छ, त्यसपछि परिवर्तनकारी शक्ति बिचको कार्यगत एकता पछिको रुपान्तरण सहितको ध्रविकरण हुन्छ र त्यसप्रति नकारात्मक साेंच राख्ने शक्तिको मात्र विपरित ध्रुबमा क्रान्तिकारी शक्ति खडा हुन्छ तर यो विकेन्द्रिकरणले नै प्रष्ट पार्छ कि क्रान्ति सम्पन्नतामा अपुगता छ । यो सम्पन्नतामा समस्या पैदा गर्न गर्ग दुष्मनको चलखेलले ठाउँ पाएर आफ्नो स्वामित्व प्रष्ट झल्काएकै कारण क्रान्ति सम्पन्नतामा समस्या छ भनेर जो कोहीले आँकलन गर्नसक्छ ।

हिजोको विद्रोही सरकारको प्रयोग गरर क्रान्तिलाई पूर्णता दिने ठाउँमा पुगेको भएपनि सरकारले अहिले क्रान्तिकारी शक्तिलाई नै प्रयोग गरेको देखिन्छ । यो विपरित परिचालनका कारण क्रान्ति आज विजय नभएर विलय भएको जस्तो महसुुस गर्न सकिन्छ । यसै पुष्ट्याँइका कारण आज क्रान्तिकारी आम शुभचिन्तक र क्रान्तिकारी शक्तिमा वितृष्णा पैदा भएको छ र विभिन्न विकल्पको खोजिी गर्दै सुरक्षित स्थान जहाँ ठान्छन् त्यहाँ प्रस्थान गर्ने गरी विचलन, स्खलित र विद्रोहको सृजना भएको छ । तर को स्खलित हो, को बिचलित हो र को विद्रोही हो ? भनेर छुट्याउन कठिन भएको छ ।

बिचलन कि विद्रोह :

हामी जस्ता तमाम युवा कार्यकर्तालाई कम्युनिस्ट आन्दोलनले जन्माएको भएपनि आज स्वतन्त्र बनेर हिंड्नु पर्ने अवस्था सृजना भएको छ । हिजो जनयुद्धको रेखाङ्कन गरेर कयौं मोर्चा सफल पार्ने रामबहादुर थापा जस्ता नेतृत्व आज माओवादी शब्दबाट टाढा बसाई सरेका छन् । एकता नै बल हो भनेर लाग्ने किरण, सिपी, विप्लवले प्रचण्डको नेतृत्वलाई अस्वीकार गर्दै सरकारको गन्धहीन बन्ने संकल्प लिएर फरक घरको निर्माण गरेका छन् । हामीले बाहिरबाट हेर्दा कसैलाई मन्त्री मोह, कसैलाई नेतृत्वमा पुग्ने मोह त कसैलाई पदको मोह नै जस्तै देखिन्छ ।

मुक्तिका लागि मृत्युको प्रशिक्षण एकादेशको कथा सावित भएको छ । आज श्रृजनशिलतामा घेराबन्दी, चेनअफ कमान्ड सेटिङ, संगठन निर्माणमा सोपान सिस्टम मिचेर दलालीकरणले सिमा नाघेका कारण वैकल्पिक मार्ग खोजी भएको हो भने नेतृत्वमा आएको परिवार व्यवस्थापनको समस्याका कारण कहिले अवसरवादीसँग, कहिले यथास्थितिवादीसँग त कहिले प्रतिकृयावादी सँगको साँठगाँठ, अपवित्र गठबन्धन जो आफू र आफ्ना वरिपरीका मात्र सुरक्षित गर्न गरिने एकता अनि कार्यगत एकताले बिना निष्कर्ष, बिना सिद्धान्तका ध्रुविकरणका नाटकका पात्र माओवादी केन्द्र नै पात्र सावित भएको र मन नलागेकै बेला मुलुक खतरामुक्तको मुद्दा लोकप्रिय बनाएर विभाजन सृजना गर्ने प्रचण्ड र हामी प्रचण्डका अनुयायी अनि सँगै निरन्तर सहयात्रा गर्दै चाहे एकता नचाहे अनेकता गर्न नचाहने बिचका नेताहरु मध्य कस्लाई स्खलितको बिल्ला भिराउने ? कस्लाई बिचलन र कस्लाई विद्रोही मानेर छुट्याउने ? जस्तोसुकै विश्लेषकलाई पनि अफ्ठ्यारो छ ।

बादल जस्तै नेतृत्वलाई एमालेमा गएर सूर्य चिन्ह बोक्नु गलत हो भनौं भने सूर्य हाम्रो हो भनेर मरिहत्ते गरेको प्रचण्ड लगायतको नेतृत्वको तस्विर र प्रयास असफल भएको देखिन्छ । राष्ट्रियताको एजेन्डा हेर्ने हो भने एमाले नागरिकता विधेयक, एमसिसी र एसपिपी जस्ता देशद्रोही एजेन्डाको विरुद्धमा र अहिलेको गठबन्धन हात धोएर एमसीसी र नागरिकता विधेयक पास गर्न लागेको देखिन्छ । अर्कोतिर कम्युनिस्ट बिना देश बन्दैन भन्थे तर आज काङ्ग्रेसको कारण देश धरासायी भयो ।

कम्युनिस्ट क्रान्तिकारी शक्ति हो भनेर जनताकोमा जाने तर पूर्ण शक्तिमा पुगेको बेला पनि अल्पमतमा रहेको काङ्ग्रेसको पाउमा टोपी राखेर सरकार चलाउनु पर्यो । तपाईं बिना यो देश रहँदैन भनेर प्रभु मान्ने कुन प्रजातिको कम्युनिस्टको परिचय दिने र कसरी फिँजाएका सपना र भाषणहरु पूरा गर्ने अनि को मूलधारमा छ, को क्रान्तिकारी बाटो बिराएको बिचलनकारी र स्खलित भएको हो भनेर कसरी ठम्याएर छुट्याउने हो ?

कम्युनिस्ट आन्दोलन विलय कि विजय ?

नेपालमा कम्युनिस्ट आन्दोलन विजय भएको हो भनेर दावी गर्ने ठाउँ भेटिएको छैन, किन कि कम्युनिस्ट आन्दोलनले काङ्ग्रेस, राप्रपा र यसैसँग गाँसिने केही कम्युनिस्ट घटकहरुको सैद्धान्तिक र व्यवहारीक शल्यक्रिया गरे महान जनयुद्ध छेडेर नयाँ संविधान र गणतन्त्रको स्थापनासँगै थुप्रै हकअधिकार संविधानमा लिपिवद्ध गर्न सफल भएकै हो । यो कसैले लुकाउन खोजेर पनि सम्भव छैन, तर आज कार्यान्वयनको दिशामा अघि बढ्दा अपवित्र गठबन्धनको नाममा र परिवर्तनको नाममा जनयुद्धको ‘ज’ मन नपराउने र हिजो जनयुद्ध दबाउने शक्तिसँग एकताको रङ दिने हो भने त्यो रङले आफ्नो रुप दिन्छ वा फरक त्यो प्रष्ट आँकलन गर्न सकिन्छ ।

गधा दोएर कहिल्यै गाई नबन्ने कुरा ध्रुबसत्य छ । त्यसैले क्रान्ति सम्पन्नताको जस अर्कोले लिने गरी स्वामित्व हस्तान्तरण र जनयुद्धका एजेन्डा कार्यान्यनको साटो कम्जोर बनाउँदै जाने कम्जोरीको महसुस गरेर धेरै तपाईंको लागू गर्नुस् तर केही हाम्रो पनि समावेस गर्नुस् भनेर शरणमा जाने खालका पछिल्ला घटना क्रमले व्यापक वितृष्णा सहित विजय हैन महान जनयुद्धका उपलब्धि विलय हुँदै गएको भान हुन थालेका कारण देशमा जनस्तरबाट फरक विद्रोह सृजनाको संकेत देखा पर्दै जान थालेको छ । यो उपलब्धिलाई रक्षा गर्नु नै क्रान्तिकारी र कम्युनिस्टको मुख्य कार्यभार रहेको छ ।

उपलब्धिको रक्षा गर्ने शक्तिको आवश्यकता :

विभिन्न कालखण्डमा भएका परिवर्तनकारी आन्दोलनबाट आएका उपलब्धिहरु समय र आवश्यकता अनुसार परिवर्तित आन्दोलनले सच्याउँदै ल्याएको परिस्थिति र आमूल परिवर्तनको एजेन्डा बोकेर ओजपूर्ण बलिदानिको बिचबाट सृजित जनयुद्ध र यसका उपलब्धिलाई रक्षा गर्दै अहिलेको समय अनुकूल कार्यान्वयनमा जोड दिन रुपान्तरित शक्तिको नै आवश्यकता रहेको छ । यसको रक्षा क्रान्तिकारी भित्रको ध्रुविकरण र सकरात्मक सोचको विकासले भरिपूर्ण परिवर्तनको खोजीमा रहेको नयाँ पुस्तालाई एक नयाँ बहसको थालनी गरी एजेन्डामा एकरुपता ल्याउनु नै आजको आवश्यकता र समयको माग हो ।

एजेन्डा र चाहनामा एकरुपता क्रान्तिकारी शक्तिमा एकता नै आजको आवश्यकता हो । मान्छे जब मनोआकाङ्क्षा, व्यक्तिवादी चरित्रबाट लिप्त हुन्छ तब त्यो नेतृत्व लायक हुन्न र त्यस्तो सोंच सहित नेतृत्वमा पुग्ने हो भने मुलुक कहिल्यै सफल हुन सक्दैन । यो अवस्थाबाट माथि उक्लिन सके मात्र सफलताको विन्दुमा पुग्न सफल भईन्छ ।

क्रान्ति र हिजो बगेको रगत र पसिना अनि त्यसले हाँसिल गरेको उपलब्धिको रक्षाको खोजी नै हो । हामी खोजीमा रहेका शक्ति र साथ र सपोर्टको पर्खाइमा रहेका शक्तिको ध्रुविकरणले नै सही परिणाम दिन्छ र यो भन्दा वैचारिक विपरित्वको बिचमा तालमेलले केही क्षण त सरकारको आनन्द देला तर पक्कै पनि दिर्घकालिन रुपमा सामाधान दिँदैन र यसको विकल्प नै न्यायपूर्ण हुन्छ ।