• मंसिर ७ २०८१, शुक्रबार

विद्यार्थीको गुनासो सुन्न उपप्रमुख आफै पुगे विद्यालय

भाद्र १ २०७९, बुधबार

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयमा पठनपाठन कस्तो छ भनेर कक्षा कोठामा गएर बालबालिकाको गुनासो लिने र सोध्ने काम सुरु गरेका छन् ।

तिलागुफा नगरपालिका वडा नं ५ को कालिका माध्यमिक विद्यालयका समस्याहरुको पहिचान गर्न र खाजा तथा छात्रवृत्ति रकम विद्यार्थीले नपाएको भन्ने समाचार बाहिरीए पछि यसको वास्तविकता बुझ्न उनी त्यहाँ पुगेका हुन् ।

उपप्रमुख शाहीले विद्यालयको अवस्थाका बारेमा विद्यार्थीसँग बुझ्दा खाजा र छात्रवृत्ति वापतको रकम अघिल्लो दुई वर्षदेखि नपाएको र २०७९ साउन २६ गतेका दिन पुरानो सम्पूर्ण खाजा र छात्रवृत्ति बापत रकम विद्यार्थीलाई वितरण गरिसइएको विद्यालयका लेखापाल शंकर न्यौपानेले बताए ।

आगामी दिनमा नगरपालिकाले यस्ता अनुगमनका काम गरिरहन समेत लेखापाल न्यौपानेले अनुरोध गरे । विद्यालयमा विज्ञान प्रयोगशाला नहुँदा विद्यार्थीहरुलाई अफ्ठ्यारो परेको कक्षा ७ का विद्यार्थी वसन्तबहादुर शाहीले गुनासो गरे । उनले भने,‘फिल्ड घेरबार नभएर विद्यालयमा भिड्भाड हुने गरेको छ ।’

बालबालिकाले खेलकुद सामग्री नभएको र व्यवस्थित चर्पी पनि नभएको गुनासो गरेका थिए । उनीहरुले शिक्षकको अभावले कक्षा सञ्चालनमा पनि समस्या रहेको बताए ।

त्यस्तै सामाजिक र खेलकुद शिक्षकको अभाव रहेको प्रधानाध्यापक देविभक्त न्यौपानेले बताए । कोरोनाको बेला क्वारेन्टाइन बनाएइकोले ३४ वटा कुर्ची जलाइएका कारण कुर्ची अभाव रहेको प्रअ न्यौपानेले बताए ।

पालिकाका उपप्रमुख नै विद्यालयको अवस्था बुझ्न आएकोप्रति खुसी हुँदै विद्यार्थीहरुले अहिलेसम्म नगरपालिकाले यसरी अनुगमन गरेको नदेखेको बताए । उपप्रमुख शाहीसँग अहिलेसम्म पाठ्यपुस्तक नपाएको गुनासो विद्यार्थीले गरे । जनक शिक्षा सामग्रीले समयमा पुस्तक छाप्न नसक्दा पुस्तक अभाव भएको शिक्षक धिरेन्द्र पाण्डेले बताए ।

उपप्रमुख शाहीले नगरपालिकाले पुस्तकको अभाव हुन नदिन कुनै कसुर नराख्ने जानकारी दिए । उनले भने,‘कालिका माविमा देखिएको छात्रवृत्ति र खाजाको रकम अनियमितता रोक्न विद्यार्थीको खाता खोलेर खातामार्फत् रकम वितरण गरिनेछ ।’