काठमाडौं । नेपालका प्रमुख धार्मिक स्थलहरूमा टिकटक भिडिओ बनाउन तथा फोटो खिच्न प्रतिबन्ध नै लगाइएको छ ।
पछिल्लो समय प्रायः धार्मिक स्थानहरूमा ‘नो टिकटक’ वा ‘टिकटक प्रतिबन्ध’ लेखेको साइनबोर्ड देख्न सकिन्छ । लुम्बिनी विकास कोष बाहेक नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै काठमाडाैंकाे पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, जनकपुरकाे जानकी मन्दिर, बाराकाे गढिमाई मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा टिकटक भिडिओ बनाउन राेक लगाइएको छ ।
‘टिकटक आतङ्क’ बढेपछि धार्मिक क्षेत्रहरुमा ‘छोटो-भिडिओ’ बनाउने टिकटकरलाई टाढा राख्नका लागि सुरक्षा तैनाथ गरिएकाे छ । त्यस्तै केही ठाउँमा सीसी क्यामेरा जडान गरिएका छन् भने केही ठाउँमा डोरीले घेरेर टिकटक भिडिओ बनाउन प्रतिबन्ध लगाइएकाे छ ।