• असार २५ २०८१, सोमबार

दाङमा भयो अचम्म ! सभागृह उद्घाटन गर्दागर्दै शहरी विकास मन्त्री चौधरीले किन लिए स्वतन्त्रहरुको प्रसंग ?

श्रावण ३० २०७९, सोमबार

घोराही ३१ साउन । विहान साढे आठदेखि साढे नौ बजेको समय तालिकामा दाङ बहुउद्देश्यीय सभागृह घोराही १४ उद्घाटनको थियो ।

आइतबार विहान साढे सातबजे सघन शहरी भवन निर्माण आयोजना घोराहीका कर्मचारी मात्रै देखिन्थे । त्यसबाहेक अरु कुनै संकेत भेट्न सकिन्नथ्यो ।

त्यसको केही समय पछि दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनाल लगायत कर्मचारीहरु व्यानर लिएर आए । उक्त व्यानरमा आयोजकको नाम उल्लेख गरिएको थिएन ।

त्यसबाहेक सभाहल आसपास न ध्वजा पताका थिए, न कलस र घडा राखिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी प्रमुख सुरेश काफ्ले चाँडै आउनुभयो । शहरी विकास मन्त्री मेटमणी चौधरी नौ बजेर पाँच मिनेट जाँदा हलभित्र प्रवेश गर्नुभयो ।

सात सय कुर्सी राखिएको हलमा केही लहर मात्रै मानिस पर्खेर बसेका थिए । थोरै मानिसहरुका उपस्थितिमा घोराही बहुउद्धेश्यीय सभागृहको उद्घाटन गर्नु भयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह सहित उपस्थित हुनुहुन्थ्यो ।

‘यो कम्पीलिट हुन केही पैसा जरुरी रहेको थाहा पाएँ’ प्रमुख अतिथि मन्त्री चौधरीले भन्नुभयो ‘एक करोड दिने कुरा कमिटमेन्ट गर्छु, मैले यहिँबाट भनेँ, डिजी साप, तुरुन्तै व्यवस्थापन गर्नुस् ।’ उहाँले मञ्चतर्फ फर्किएर महानिर्देशक (डिजी) सुरेन्द्रमोहन श्रेष्ठ निर्देशन दिनुभयो । त्यस अवसरमा सहभागीले ताली बजाएर सम्मान गरेका थिए ।

यसैगरी पार्किङ सहितको व्यापारीक भवन बनाउने दाङ जिल्ला उद्योग वाणिज्य संघको परिकल्पनामा पनि मन्त्री चौधरीले एकवद्धता जनाउनुभएको छ । संघले सभाहल नजिक रहेको सात कठ्ठा नौ धुर जग्गामा भवन बनाउने प्रस्ताव छ । अण्डर ग्राउण्ड सहितको पार्किङ र माथिल्लो तलामा दाङ कोशेली घरको रुपमा विकास गर्ने कल्पना छ ।

‘घोराहीको इकोनोमी परिचालन गर्ने भवन हो’ उहाँले भन्नुभयो, ‘प्रस्ताव ल्याउनुस् कम्प्लिट गर्न पूर्ण सहयोग रहनेछ ।’ जनजीवनसँग प्रत्यक्ष जोडिने र आर्थिक परिचालन हुने सबै काम गर्नै मन्त्री चौधरीको भनाई थियो । एउटा दलले मात्रै मुलुक सञ्चालन गर्ने संस्कार २०७४ को चुनावपछि नरहेको मन्त्री चौधरीले दावी गर्नुभयो ।

‘एउटा व्यक्ति, पार्टी र दर्शनले मुलुकको नेतृत्व गर्न सक्दैन’ मन्त्री चौधरीले भन्नुभयो, ‘मुलुक अर्को कोर्षमा प्रवेश गर्यो । अब सबै मिलेर बस्ने र मिलेर गर्ने हो ।’

उहाँका अनुसार यसरी गर्न सक्दैनौं भने विकल्प हामी छौं भनेर स्वतन्त्र आएको अवस्था छ । तिमीहरु झगडा मात्रै गर्ने हो भने मुलुक हामी चलाउँछौँ भनेका छन् । गत २०६९ फागुन आठ गते शिलान्यास भएको १० वर्षपछि हल निर्माण सम्पन्न भएको हो ।

सभाहल बन्न विभिन्न कारणले ढिला भएको सचिव डा. रमेशप्रसाद सिंहले स्विकार्नु भएको थियो । ‘यसको सञ्चालन, व्यवस्थापन, मरमत कसरी गर्ने ? भन्ने महत्वपूर्ण सवाल हो’ उहाँले भन्नुभयो, ‘यसको दिगोपनमा संघबाट प्रतिबद्धता आएको छ । मन्त्रालय गौरव महशुस गर्छ ।’

उहाँले सभाहल बनाउने र भुतबंगला बनेर खेर जाने गरेको उदाहरण सुनाउनु भयो । जति कुर्सी छ त्यति मात्रै सहभागी गराउन सुझाव दिनुभयो । कार्पेट, चकटी फिँजेर वा एउटा कुर्सीमा दुईजना राखेर बिगार्ने काम नगर्न आग्रह गर्नुभयो ।

सजावट, सिसीटिभी नेटवर्किङ, कनेक्टिङ, कोठाहरु फनिर्सिङ, अन्य साजसजावटको प्रस्ताव ल्याउन सल्लाह दिनुभयो । सघन शहरी भवन निर्माण आयोजना दाङका प्रमुख खड्गबहादुर चौधरीले पाँच पटक गरी २१ महिना म्याद थपेर सभाहल निर्माण सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।

उहाँका अनुसार ३१ करोड ३० लाख ९६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको छ । चार तलाको भवन छ । मुख्य हलको बालकोटीमा दुई सय ६५ र साधारण कक्षमा चार सय ३५ जना अटाउने सुविधा छ । यसको पूर्ण क्षमता सात सय जनाको हो । ओपन ग्यालरीमा तिन सय अटाउँछन् ।

त्यस भन्दा बढि राख्न मिल्दैन । संघका पूर्वअध्यक्ष मधुसुधन वैद्यका पालामा पहाडी क्षेत्रका उद्योग वाणिज्य संघहरुका भ्रमणपछि सिटीहलको परिकल्पना गरिएको संघका पूर्वअध्यक्ष हेमराज बञ्जाडेले स्मरण गर्नुभयो ।

त्यसपछिका सबैजसो महोत्सवहरुको आम्दानी रकम सभाहलमा लगानी गरिएको थियो । तत्कालिन नगरविकास अध्यक्ष विकास अग्रवालले २०६९ फागुन ८ गते शिलान्यास हुँदै, पाँच रुपैयाँ सहयोग गर्ने सम्पूर्णलाई शब्दले सम्मान गर्नुभयो ।

सुकुम्वासी व्यवस्थापन, मोही अलग गराउने टाउन प्लान लगायतका व्यक्तिहरु र आधा कम मूल्यमा जमिन उपलब्ध गराउने दिलमाया क्षेत्री, केन्द्रमा पहल गर्ने पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल लगायत सबैको सहयोगले सभाहल बनाउन सफलता मिलेको भनाई थियो ।

सो अवसरमा घोराही उपमहानगरपालिकाका १३ वडा सहित मेयर उपमेयर जितेको नेकपमा एमालेको प्रतिनिधत्व थिएन । केहीले नेकपा एमालेबाट विभाजन भएकोले उपस्थिति नजनाएको हुनसक्छ भनेर अनुमान गरेका थिए ।

नगर विकास समितिको अध्ययक्ष मेयर हुने भएकाले निम्तो नदिएर अपमान गरेको भनी आरोप लगाउनेहरु पनि थिए । उक्त सभाहल घोराही नगरविकास समितिले उपलब्ध गराएको जमिनमा छ ।

तर, गठबन्धनबाट विजयी घोराही–१३ का अध्यक्ष डुल्लुराम पोख्रेलको उपस्थिति थियो । सभाहल रहेको सम्वन्धित वडा घोराही–१४ का कुनै पनि पदाधिकारीले प्रतिनिधित्व गरेनन् । दुईजना सदस्य गठबन्धनबाट र बाँकी अध्यक्ष भानसिंह बुढासहितको टिम नेकपा एमालेबाट विजय भएको वडा समिति रहेको छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनकुमार योगी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य, नेकपा समाजवादीका अध्यक्ष सुरामणि बेल्वासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, राजमो समन्वय समितिका टिकाबहादुर विक, नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रम सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो । सभाहल बनाउन पहल गर्नेहरु कसैलाई सम्मान गरिएन । हतार हतारमा बाध्यताले कार्यक्रम गर्नुपरेको प्रतिकृया थियो ।

चुनावी मिति घोषणा भईसकेको हुनाले मन्त्री चौधरीले आफ्नो राजनीतिक उचाईका लागे चाँजोपाँजो मिलाएको स्थानीयको टिप्पणी छ ।

स्थानीय वुद्धिजीविहरुले ‘बेलैमा मौकाको फाइदा उठाउन सक्ने बाठा मन्त्री’ भनेर पनि टिप्पणी गरेका छन् ।