तीजको रौनकले छताछुल्ल थियो गाउँ । महिलाहरूको जमघट थियो बीच गाउँमा । सबैका हातमा चुरा, गलामा पोते र शीरमा सिन्दुर थिए ।
सबै आआफ्ना कोरीबाटी गरी गच्छेअनुसार वस्त्राभूषणमा सजिएका थिए । अहिले सहरी चलनको प्रभाव, ‘मेकअप’ सहित रातो सारीमा सुशोभित महिला दिदीबहिनी परीझैं सजिएका थिए ।
सबैको मुखमा हाँसो र खुशी थियो । सबैले सुखद वैवाहिक जीवनको कामना गरिरहेका थिए । आआफ्ना जीवन साथीको दीर्घायुका लागि आशीर्वाद मागिरहेका थिए ।
घरपरिवारमा शान्ति ल्याउनका लागि पानीसम्म पनि नखाई भगवानको आराधना गरिरहेका थिए । मन्दिर अगाडि ठुलो आवाजमा गीत बजाउँदै नाचिहेका थिए ।
आँखा ती मानिसको भीड छिचोल्दै अघि बढ्यो । एक किनारामा पुगेर टक्क रोकियो । नाचगान गरिरहेकै मन्दिरको एक छेउँमा जिन्दगीबाट हरेश खाएर आफ्नो भाग्यलाई सराप्दै गरेकी एक महिला देखा परिन् ।
शीरदेखि पाउसम्म सेतो सारीको पहिरन गरेकी ती महिलाको आँखाबाट तररर आँशु झरिरहेका थिए । आँखाबाट अविरल झरिरहेको आँशुले उनको विगतको कथा अविश्राम कहिरहेको थियो ।
उनले आँशुको भेल परेलामुनी लुकाउने र छिपाउने प्रयत्न गरिरहेकी थिइन् । तर यो संभव त थिएन नै, बरू व्यर्थ थियो । तर पनि उनले झरिरहेका आँशुका ढिक्का डिलमै अड्याउने कोशिस गर्न भने गरिरहेकी थिइन् ।
उनी निशब्द उभिइरहँदा उनको विगत फिल्मका रिलहरू झैं बेरिदै र फन्को मार्दै यसरी यसरी घुम्न थाल्यो कमलको फूलको पत्रपत्र झैं उघारिएर । क्रमसँगै उनको अन्तस्करणमा आवाज प्रतिध्वनित हुन पुग्यो सम्बोधनको शैलीमा, ‘चम्पा !’
चम्पा गाउँको भीर तथा पाखा पखेरामा दौडिन् । खोलानालासँग लुकामारी खेल्न थालिन् । बाख्रा चराउने ती सुन्दर मैदानमा फूलेका फूलहरू बाख्राको मुखमा पर्न नपाउँदै टिपेर आफ्नो सुन्दर केशमा सजाउँदै हिँडिन् ।
चञ्चल, सुन्दर र स्फटिक ! प्रकृतिको काँखमा रहेको रमणीय गाउँकी लाडली, प्यारी र चुलबुले ! प्यारी चम्पा !
सिंगो गाउँ उनको सुन्दरता र स्वभावले मोहित थियो । निम्न वर्गीय परिवार भएकाले बिहान बेलुकाको छाक टार्न
पनि गाह्रो थियो ।
बुढेसकालले छोपेपछि अशक्त वृद्ध बुवा-आमाको बुढेशकालको सहारा थिइन चम्पा ! हुर्कंदै गरेकी चम्पा, एक जवान युवती !
उनलाई देखेर गिद्धेनजर लगाउने अराजकहरू पनि गाउँमा प्रशस्तै थिए । चम्पा हर्दम सतर्क रहन्थिन् । बढ्दै गरेकी छोरीको इज्जत बचाउका लागि बृद्ध बाआमाले खोज्न थाले विवाहको लगनगाँठो ।
तत्काल विहे गर्न कत्ति पनि मन नभएकी चम्पा आफ्नो विवाह नै बुबा आमाको अन्तिम इच्छा भएको बुझेपछि विवाह गर्न राजी भइन् । पराइको घर जाने ‘हुन्छ’ को संकेत दिन बिस्तारै टाउको हल्लाइन् ।
सम्बन्धको खोजी भयो । सहरमा घर भएका धनसम्पत्तिले भरिपूर्ण सम्बन्धी आइपुगे । सबै चाजोपाजो मिलाइयो । दुबै परिवार निकै खुशी भए ।
विहेको कर्मकाण्ड सकियो, विहे सकियो । सबैबाट आशिर्वाद लिएर बिदा भएर लागिन् चम्पा आफ्नो जीवनको नयाँ यात्रातिर । जन्ती लिएको बस गुड्यो । बेहुलाबेहुली बसेको कार हुइँकिन थाल्यो ।
यात्राको क्रमममा एउटा ठुलो आवाज आयो । त्यसपछि केही थाह भएन, निस्पट्ट अन्धकार छायो । चम्पाले आँखा खोल्दा बिहान भइसकेको थियो ।
उनले आफूलाई हस्पिटलको बेडमा पाइन् । आश्चर्य लाग्यो, रातको घटना सपनाजस्तो धुमिल बनेर स्मृतिमा आउन थाल्यो । उनको बेड वरपरका मानिसको कुरा सुनेर पो थाह पाइन्, हिजो बेलुका घर फर्कदै गर्दा बेहुलाबेहुली चढेको गाडी दुर्घटनामा परेको रहेछ ।
बेहुला र गाडी चालकको घटना स्थलमै मृत्यु भएछ । यो कुराले चम्पामाथि आकाश खसेको र धर्ती भासिए जस्तै अनुभूत हुन थाल्यो । उनी क्षणभरमै अचेत भइन् । हिजो मात्रै जोडिएको उनको सम्बन्ध आज नै तोडियो !
हिजो मात्रै भरिएको उनको शीरको सिउँदो एक लोटा पानी खन्याएर मेटाइयो । हातको मेहिन्दी राम्रोसँग सुक्दै नपाउँदै हातभरिका चुरा फुटाइए । समाज र परिवारले ‘लोग्ने खोसुवा’, ‘अलच्छिनी आइमाई’को उपनाम दियो ।
अहिले मन्दिरको प्राङ्गणमा रमाएर नाचिरहेका महिला दिदी बहिनीहरूले ‘ओइ बिधुवा अलच्छिनी आइमाई ! किन लुकेर चियाएकी छेस्’ भने झैं भयो उनलाई ।
तर पनि उनी सम्हालिएर उभिन खोजिन् । यस्तै न हो । उनले फेरि ‘बिहेकै दिन आफ्नो लोग्ने खाइस्, कुलच्छिन अनुहार देखाएर हाम्रो व्रत किन भङ्ग गर्न खोज्दै छेस्’ भनेको आवाज आएजस्तो सुनेर चम्पा झसङ्ग हुन पुगिन् ।
तर उनलाई भन्न मन लागिरहेको छ, ‘दिदीबहिनीहरू ! मलाई पनि तपाईंहरूजस्तै तीजको गीत गाउन र नाच्न मन छ । मलाई सहभागी गराउनुस् ।’ विडम्बना ! उनी समाजले बनाएको परिबन्दमा परिसकेकी थिइन् । उनले उपनाम थियो- ‘बिधुवा !’