• मंसिर १२ २०८१, बुधबार

पेनाल्टीमा एम्बाप्पे चुक्दा नेयमार चम्किए

श्रावण २९ २०७९, आईतवार

काठमाडौं । नेयमार जुनियर चम्कँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानका सानदार जित हात पारेको छ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति सम्पन्न खेलमा पीएसजीले मोन्टपेलिएरमाथि ५–२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा नेयमारले दुई गोल गरे।

यता, केलियन एमबाप्पे र रेनाटो सान्चेजले समान एक गोल गरे। एक गोल उपहारमा प्राप्त भयो। मोन्ट पेलिएरका वावी खाज्री र इन्जो चाटोले गोल फर्काए ।

घरेलु टोली पीएसजीले २३औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएपनि एमबाप्पे चुकेका थिए। ४३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। ५१औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

५८औं मिनेटमा वावी खाज्रीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। ६९औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–१ ले अघि बढाए। ८५औं मिनेटमा नेयमारले गोल गरेपनि अफसाइड ठहरिँदा मान्यता पाएन। ८८औं मिनेटमा रेनाटो सान्चेजले गोल गरेपछि पीएसजी खेलमा ५–१ ले अघि बढ्यो।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इन्जो चाटोले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए। त्यसपछि थप गोल नहुँदा पीएसजी ३ अंक जोड्न सफल भयो।