• असार २० २०८१, बुधबार

यसरी धनी बनिन् बार्बरा कोर्कोरान

श्रावण २७ २०७९, शुक्रबार

बार्बरा कोर्कोरान म्यानहटन न्युयोर्ककी एक उद्यमी, लगानीकर्ता र टेलिभिजनमा एक कार्यक्रमको निर्णायककर्ता पनि हुन् । उनी  बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’मा रहेको निर्णायक मण्डलमा एक प्रशिद्ध जजको भूमिकामा पनि रहेकी छिन् ।

उनको हालको उपलब्धी र प्रसिद्धि घरजग्गा कारोबारको यात्राबाट सुरू भएको थियो । त्यसका लागि उनलाई प्रशस्त व्यापारिक बद्धिमत्ता र आन्तरिक जानकारी जरूरी थियो, यसैको प्राप्ति र प्रयोगले उनलाई आज एक सफल उद्यमीका रूपमा विश्वमा स्थापित बनाएको छ ।

उनी आफैले स्वीकार गरेको कुरा हो कि उनको असफलताको पाइलामा नै उनको सफलताको आधार खडा हुँदै आएको थियो । तर उनको निरन्तर यात्राले यसलाई अभूतपूर्व सफलतामा रूपान्तरण गर्न मद्दत गरेको थियो ।

सुरूका दिनमा उनले निकै दु:ख पाइन् । उनको जन्म श्रमजीवी वर्गमा भएको थियो । बुबाले जे पाइन्छ, त्यही काम गर्थे भने उनकी आमाले गृहणीको काम गर्ने गर्दथिन् ।

पढ्दा पनि उनलाई निकै दु:ख भयो । यिनै कारणले उनी कमजोर विद्यार्थीका रूपमा गनिन थालिन् । शिक्षकहरूले उनलाई पढ्न नसक्ने कमजोर विद्यार्थीका रूपमा उभ्याउँथे । उनीभित्र यस्ता कुराले हीनताबोध पैदा गरिरहन्थे ।

तर उनले आफ्नो कर्मलाई निरन्तरता दिइराखिन् । निराश र हतास भने भइनन् । जे जति हुन सक्छ, म अघि बढेरै जान्छु भन्ने अठोट मनभित्र लिइन् । अघि बढ्दा आइपर्ने कुनै कुरा पनि उनले छाडिनन् ।

उनकी आमा गृहणी भए पनि उनलाई आफ्ना सपना अघि बढाउन ढाडस दिइराखिन् । किनकि कोर्कोरानको सोच्ने र परिकल्पना गर्ने अद्भूत शक्ति थियो । यसले उनलाई सफतातिर डोर्‍याउने उनकी आमाको अडान थियो ।

साच्चि नै उनको परिकल्पना गर्नसक्ने शक्तिशाली सोच र परिकल्पना नै उनको सफलताको सूत्राधार बन्न पुग्यो । उनी मात्र २३ वर्षकी हुँदा २० वटा विभिन्न कामहरू गरिसकेकी थिइन् । बरू उनी कुन काम चाहिँ उनका लागि उत्तम होला भन्ने छनौट गर्न केही ढिला गरिन् ।

यो समय भनेको उनको ‘रियल स्टेट’ विजनेस सरू हुनु अघिको समय थियो । रियल स्टेट विजनेस उनका लागि ठूलो ब्रेक थियो । यो उनको जीवनको आमूल परिवर्तनको एक ठूलो सफल कदम पनि थियो । यो उनको सपनाको प्रयोग पनि थियो ।

उनले रियल स्टेट विजनेससँगै ‘कोर्कोरान रिपोर्ट’ नामक मासिक आर्थिक विश्लेषण पनि प्रकाशित गर्न थालिन् । यसले उनको ‘नेम’ र ‘फेम’ दुवै जनताको बीचमा स्थापित गरायो । उनी उद्यमी र पत्रकार दुवैका रूपमा स्थापित हुन थालिन् ।

दशकौंको मेहनतपछि उनी देशकै सफल उद्यमी बन्न पुुगिन् । सन् २००१ मा उनले निर्माण गरेको रियल स्टेट सम्पत्तिलाई आवासीय क्षेत्रका रूपमा परिणत गरी बिक्रि गर्दा ६६ करोड डलर कमाउन पुगिन् । रियल स्टेटको इतिहासमा यो निकै ठूलो ‘डिल’ वा कारोवार थियो । यसैले उनको आर्थिक जीवनमा कायापलट ल्याइदियो ।

अहिले कोर्कोराना भावी पुस्ताका उद्यमीका लागि आदर्श बनेकी छिन् । अहिले उनले उद्यम गर्न चाहने महिलाका लागि ५००० डलर अनुदान दिने घोषणा सममेत गरेकी छिन् । उनले उद्यमीसँग प्रत्यक्ष कुराकानी गर्ने र सल्लाह दिने पनि गर्दै आएकी छिन् ।

सन् २००९ मा चर्चित टेलिभिजन शो ‘शार्क ट्याङ्क’ मा जज बनेपछि त उनको पहिचान अकल्पनीय रूपमा बढेर गयो । आज उनी सबैको नजरमा परिरहेकी छन् । विगत १४ वर्षदेखि उनलाई सर्वसाधरण जनतादेखि वौद्धिक तथा विजनेस पर्सनहरूले निरन्तर पछ्याउँदै आइरहेका छन् ।