• मंसिर २० २०८१, बिहीबार

प्रजातान्त्रिक अभ्यास गर

श्रावण २६ २०७९, बिहीबार

यही मंसिर ४ गते हुन लागेको प्रादेशिक तथा संघीय निर्वाचनका लागि दलहरू आआफ्ना गृहकार्यमा लागेका छन् । तर यस पालाको निर्वाचन गृहकार्य आफैमा प्रजातान्त्रिक प्रकृतिको छैन ।

गठबन्धन निर्माण र बहुमत प्राप्तिको लालसाका कारण दलीय निर्वाचनले प्रजातान्त्रिक पद्धति र प्रक्रियालाई तिलाञ्जली दिँदै गएको छ । प्रजातान्त्रिक प्रक्रियाको स्थान क्रमशः गठबन्धनको सिण्डिकेटले ग्रहण गर्दै गएको छ ।

नेपालजस्तो प्रजातान्त्रिक प्रक्रियामा त्यति अभ्यस्त नभएको र प्रजातान्त्रिक संस्कारको विकास भइनसकेको देश र समाजका लागि दलीय गठबन्धन आफैमा प्रत्युत्पादक त हो नै । त्यसमा पनि हुँदै गरेको प्रजातान्त्रिक परिपाटीको विकासको अपेक्षा र रक्षाका लागि निकै घातक पनि हो ।

दलीय व्यवस्था आफैमा दलहरूको आआफ्ना विचार, उक्त विचारअनुरूप राजनीतिक सोच र तदनुरूपका नीति तथा कार्यक्रमको विविधता र विशिष्टतामा फस्टाउने गरेको हुन्छ । यो नै दलीय व्यवस्थाको पहिचान र विशिष्टता पनि हो ।

तर दलहरू अहिले विचारविहीनताको अवस्थामा छन् । पार्टी विभिन्न देखिए पनि तिनको वैचारिक रङ र भिन्नता महसुस हुन छाडेको छ । जनताले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्न थालिसकेका छन् ।

प्रजातान्त्रिक प्रणाली मजबुत हुनु भनेको यो वा त्यो दल मजबूत हुनु र त्यसैको एकछत्र राज रहिरहनु भन्ने होइन । यो त आफैभित्र राजनीतिक विकल्पको व्यवस्था भएको प्रणाली हो ।

तर नेपालमा त्यसको महत्वबोध गर्ने राजनीतिक दल र तिनका नेताहरू देखिएनन् । पार्टीका शीर्ष नेताहरूमा सामन्तवादी सोच र चेतनाको प्राधान्यता रहेको र तदनुरूप व्यवहार हुँदै गएको स्पष्ट बोध जनस्तरसम्म हुन गएको छ ।

नेताहरूभित्र आफूलाई यस्तो पश्चगामी सोचबाट सच्याएर अग्रगामी बनाउने र प्रजातान्त्रिक परिपाटीको सही अभ्यास गराउने स्वआलोचनात्मक चेतनाको विकास हुन नसक्नु विडम्बनाको कुरा हुन पुगेको छ ।

यही कारणले पार्टी र पार्टीका नेताहरू जनताका बीच निकै अलोकप्रिय हुँदै गएका देखिएका छन् । प्रणालीभित्र राखिएको विकल्पको व्यवस्था बलपूर्वक मिच्ने, गठबन्धन निर्माण गर्ने र दलीय प्रजातान्त्रिक प्रणालीको मर्ममाथि प्रहार गर्ने हो भने अबका दिनमा दलीय विचार र विकल्पको अन्त्य हुन गई जनस्तरबाटै अर्को विकल्पको चाहना अभिव्यक्त हुने गरी जनमत सिर्जना हुने देखिन्छ ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा अभिव्यक्त जनताको सांकेतिक तर भद्र विद्रोहलाई सिंगो व्यवस्था र राजनीतिक दलले आँखा चिम्लेर हिँड्न सक्ने स्थिति नै छैन । त्यसैले दलीय सिण्डिकेट होइन, प्रणाली अनुसार प्रजातान्त्रिक अभ्यास गर !