• फाल्गुन २६ २०८२, मंगलवार

ताइवानलाई चीनमा एकीकरण नगरेसम्म आक्रमण जारी राख्ने चिनियाँ जनसेनाको दावी

श्रावण २४ २०७९, मंगलवार

काठमाडौं । चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यास जारी रहेको छ । समुुन्द्री सतहलाई आधार बनाएर गरिएको यो दोस्रो चरणको अभ्यासमा लामो दूरीका क्षेप्यास्त्र ताइवानतिर प्रहार गरिएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाले सभामुख न्यान्सी पेलोसीलाई ताइवान भ्रमण गराएर चुनौती दिएपछि चीनले सैन्य अभ्यास गरेको थियो । चीनले यो सामान्य सैन्य अभ्यास मात्रै नभएर एक चीन नीतिका विरोधीविरुद्ध युद्ध भएको समेत बताएको छ ।

चीनले ४ अगष्टदेखि ७ सम्म घोषित अभ्यास सकिएलगत्त दोस्रो चरणमा झन् उच्च स्तरको सैन्य अभ्यास गरेको हो । पहिले चरणको सैन्य अभ्यासमा जमिन र हवाई हमलालाई आधार बनाइएको थियो भने अहिले जल क्षेत्रलाई । चीनको रकेट फोर्स, स्ट्राटेजिक फोर्स, एयरफोर्स, जलसेना र थलसेना सैन्य अभ्यासमा सहभागी भएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमाण्डका अनुसार दोस्रो चरणको अभ्यासमा एन्टी सबमरिन ध्वस्त पार्ने, रणनीतिक क्षेप्यास्त्र सटिक प्रहार गर्ने र स्थल, हवाई र जल क्षेत्रबाट संयुक्त कारवाहीको वास्तविक अभ्यास भइरहेको छ । अभ्यास भनेपछि नमूना कार्य गरिन्छ तर, चीनले वास्तविक हतियारबाट प्रहार गरिरहेको बताएको छ ।

यसैबीच चिनियाँ जनमुक्ति सेनाले सैन्य अभ्यासलाई ताईवानलाई पुनः एकीकरण नगरेसम्म जारी राख्ने घोषणा गरेको छ । यसले दक्षिणी चिनियाँ सागरमा थप तनाव बढ्ने अनुमान गरिएको छ । जनमुक्ति सेनाको यो अभ्यासका क्रममा ताईवान भित्र जान र बाहिर जान जल मार्ग बन्द अवस्थामा छ भने हवाई रुट पनि प्रभावित छ ।

पेलोसीको भ्रमणपछि चीनले ताईवान एकीकरण अभियान तीव्र पार्ने भएको छ । ताइवानले कुनै प्रतिक्रिया जनाउने बित्तिकै चीनले हमला सुरु गर्ने बताइएको छ । अहिलेसम्म ताइवान चीनको सैन्य अभ्यास हेरेर बसेको छ ।

अमेरिकाले सैन्य अभ्यासको विरोध जनाएको छ । त्यस्तै, जापानले पनि आफ्नो भूमिमा चीनले प्रहार गरेका क्षेप्यास्त्र पुगेको बताएको छ ।

पहिलो चरणको अभ्यासको क्रममा चीनका एक दर्जन क्षेप्यास्त्र आफ्नो जलक्षेत्रमा पुगेको जापानले जनाएको थियो । चीनले पहिलो चरणमा छोटो र मध्यम दूरीका हतियार प्रयोग गरेको थियो भने यसपटक लामो दूरीका क्षेप्यास्त्र तथा मिसाइल प्रहार गर्ने जनाएको छ ।