विगत एक महिनादेखि राजधानी दुर्गन्धित छ । बढ्दो गर्मीसँगै जताततै थुप्रिएको फोहोरको दुर्गन्ध जताततै फैलिएको छ । पटक–पटक नुवाकोट सिसडोल र बञ्चरेडाडाँ स्थानीयको अबरोधका कारण राजधानीको फोहोर उठ्न सकिरहेको छैन ।
स्थानीयलाई फोहोर उठाउनका लागि काठमाडौं महानगरले त्यहाँका स्थानीयलाई आश्वासन दिने र माग पूरा नभए स्थानीय आक्रोशित भइरहेका छन् । ५ वर्षका लागि मात्रै सिसडोलमा फोहोर फाल्नका लागि सहमति भएपनि १९ वर्षदेखि निरन्तर सिसडोलमा फोहार थुप्रदाँ स्थानीयको जनआक्रोश आउनु स्वभाविक पनि हो ।
फोहारबाट उत्पन्न हुने संक्रामक रोगका कारण सिसडोलका अधिकांश घरका स्थानीय क्यान्सर र अन्य घातक रोगको सामना गर्नु परिरहेका छ भने राजधानीको आश्वासनले पनि दिक्क बनाएको छ । राजधानीको फोहोरकै कारण उनीहरुको स्वास्थ्य, पर्यावरण र कृषि प्रणालीमै गम्भीर असरको विषयमा ध्यान दिन सकिएन भने भविष्यमा राजधानीको फोहोर राजधानीबासीकै लागि समस्या आउने निश्चित छ ।
शहरको फोहोर व्यवस्थापनमा स्पष्ट खाका नखोजिदाँ यो समस्या अझै आउने दिनमा झनै भयाबह हुने अबस्था छ । यता काठमाडौं महानगरले पनि फोहोरको सहि व्यवस्थापन गर्न नसक्दा एक दुई दिन मात्रै डम्पिङ साइटमा फोहोर फाल्न रोकिए उपत्यका पुरै फोहोरको दलदलमा फस्ने अबस्था आइरहेको छ । महानगरमा नयाँ मेयर बालेन शाह आएपछि फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहार छुट्टाउन महानगरबासीलाई आग्रह नगरेका होइनन् । तर, अझै पनि उपत्यकाको फोहोर बञ्चरेडाडाँ र सिसडोल कै भर पर्ने कि कुनै बैकल्पिक व्यवस्था गर्ने भन्ने प्रश्न उब्जेको छ ।
मेयर शाहले प्रांगारिक मल बनाउन सकिने–नसकिने अर्थात् कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापन गर्छु भनेका छन् । तर अझै समाधान निस्कन सकेको छैन । महानगरका मेयर र उपमेयर दुवै यसैका लागि नुवाकोटका सिसडोल र बञ्चरेडाँडा पुगे । त्यहाँका स्थानीयका कुरा सुने, जनप्रतिनिधिसँग वार्ता पनि गरे । तर, ठोस निष्कर्श निस्कन सकेको छैन । राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटवार्ता गर्दा पनि यो फोहोरको व्यवस्थापन दीर्घकालीन कसरी गर्ने अझै निचोड आइसकेको छैन ।
फोहोरको दुर्घनधले हेर्दा कुरूपमात्र होइन गर्मी महिनामा त्यसबाट अनेकौं रोग पैदा हुने खतरा छ । दुर्गन्धबाट हैजा, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोग लाग्नसक्ने सम्भावना रहन्छ । यसको सकेसम्म छिटो समाधान खोज्नु आवश्यक छ ।
हुन त महानगर र सरकारका अधिकारीले विदेश जादाँ पक्कै पनि त्यहाँको फोहोर व्यवस्थापन देखेर र सिकेर आएकै हुन्छन् । तिनीहरुले यहाँ पनि फोहोर विर्सजनको उपयुक्त किसिमको कुनै मोडल अपनाउन सके फोहोर कुनै टाउको दुखाइको विषय बन्ने छैन । फाहोरबाट विजुली निकाल्ने, मल बनाउने अनेक बिधि हुन सक्छन् । तर सो बारेमा न कुनै नीति बनेको छ न कुनै कार्यायोजना नै अगाडी बढेको छ । हचुवाको भरमा फोहोर व्यवस्थापन गर्छु भन्दा त्यसले समाधान दिने छैन । त्यसैले महानगर र सरकारले बेलैमा फोहोर व्यवस्थापनको नयाँ विधि र तरिकाले नसोचे आजकै नियति पटक पटक दोहोरिनेछ । त्यसैले फोहार व्यवस्थापनमा बेलैमा सोचौ ।