२० साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवानको विषयलाई नजिकबाट नियालिरहेको बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि बताइन् ।
‘चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको छ । एक चीन नीतिको समर्थन गर्दै आएको छ ।’ प्रवक्ता लम्सालले भनिन्, ‘दुवै मुलुकले सम्मान गर्दै आएका छन् । नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ ।’
यस्तै परराष्ट्रमन्त्री डा। नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने बताउँदै प्रवक्ता लम्सालले चीन र नेपालबीच हुने सम्झौताबारे पुनः पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइन् ।
‘परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न मिल्दैन । त्यसको लागि समय र परिस्थिति अनुकूल हामी बीचमा पुनः पत्रकार सम्मेलान गरेर जानकारी दिन्छौं, धैर्य गर्नु हुन अनुरोध छ ।’ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।
यस्तै अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम बारे संसदमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिइसके भन्दै उनले यसबारेमा थप बोल्न नमिल्ने बताइन् ।
यस्तै २० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा १८ वटा राजदूतहरुको सहमति पत्र आइसकेको, तीन वटा राष्ट्रमा राजदूतहरु नियुक्त भएर गइसकेको र म्यानमार र मलेसियाको सहमति प्राप्त भइसकेको प्रवक्ता लम्सालले जानकारी दिइन् ।
यसका साथै राहदानी र कन्सुलर विभागमा चाँडै अनलाइनमार्फत् सेवा दिने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ । यसअघि रुस(युक्रेन मामिलामा युक्रेनको पक्षमा उभिएको नेपालको परराष्ट्र मन्त्रालय जनस्तरबाट ठूलो विरोध भएपछि यसपटकको चीन(ताइवान मामलामा भने आफू एक चीन नीतिको पक्षामा रहेको बताएको छ ।