काठमाडौं । चीनमा एक जना प्रेमीले आफ्नी प्रेमिकालाई कारले ठक्कर दिएर हत्या गरेका छन् । बुधबार हेबेई प्रान्तको ताङ्गशानमा वाङ नाम गरेकी एक महिलालाई झाङ नामका प्रेमीले पहिला ठक्कर दिए ।
उनी ढलेपछि प्रेमीले पटक पटक गाडीले किचेर उनको हत्या गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । त्यो भिडिओ अहिले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।
घटना हुँदा त्यहा उपस्थित केही मानिसले ती प्रेमीलाई पटक पटक रोक्ने प्रयास गरेका थिए । दुई जना पुरूषले गम्भीर अवस्थामा रहेकी वाङलाई तानेर सडक छेउमा लैजाने प्रयाससमेत गरेका थिए तर झाङले गाडी फेरि स्टार्ट गरी उनीमाथि कुदाएका थिए ।
अचेत भइसकेकी वाङलाई उपचारका लागि अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलबाट भागेका झाङलाई प्रहरीले केही घन्टापछि पक्राउ गरेको थियो । प्रहरीले उनीहरूबीच विवाद भएको र त्यसकै कारण हत्या गरेको बताएको छ । विवाद के थियो भन्ने खुलाएको छैन ।
प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । घटनाको भिडिओ रेड स्टार न्यूजले वेइबोमा शेयर गरेको थियो । जुन चार करोड पटक हेरिएको छ । धेरैले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । कतिपयले यो घटनालाई चीनमा हुने लैंगिक हिंसाको घटनासँग जोडेका छन् ।
यसअघि गत जुन १० मा ताङ्गशाङकै एक रेष्टुरेन्टमा पुरूषको एक समूहले चार जना महिलामाथि कुटपिट गरेका थिए । यस घटनामा दुई महिला अस्पतालमा भर्ना समेत भएका थिए । नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।