• फाल्गुन ७ २०८१, बुधबार

दुबईबाट दाल भनेर प्रतिबन्धित महँगा चुरोट आयात गर्ने व्यापारिक फर्मलाई झण्डै ११ करोड जरिवाना

श्रावण १७ २०७९, मंगलवार

काठमाडौं ।  वीरगञ्ज सुख्खा भन्सार कार्यालयले काठमाडौंस्थित एक फर्मलाई कारवाही गरेको छ ।

टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई राजश्व छली गरेको आरोपमा झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको हो  ।

दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गरेकोमा सो फर्मलाई १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्नका लागि सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले कारबाहीको जानकारी दिदै भने-‘दुबईबाट मुङको दाल बोकेर वीरगञ्जको सुक्खा बन्दरगाह आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भयो,भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटियो ।’

आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको भन्सारले जनाएको छ ।