काठमाडौं । आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्वकप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलाडीहरु छनौट हुने भएको छ ।
राष्ट्रियस्तरका छ देखि नौ जनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको अल नेपाल क्यारेम एसोसिएशन सल्लाहकार निलेश अधिकारीले जानकारी दिए ।
नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत खेलाडीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार नगद रकम पनि प्रदान गरिएको थियो।
प्रतियोगितामा भाग लिएका राष्ट्रियस्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ।