एजेन्सी । अल-कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्।
अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्।
बाइडनले जवाहिरीले “अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको” बताए। “अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्,” उनले भने।
अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। उनको परिवारका अन्य सदस्यहरू सँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन्।
बाइडनले आफूले ७१ वर्षीय अल-कायदा नेता विरुद्ध “लक्षित हमला”का लागि अन्तिम स्वीकृति दिएको बताएका छन्।