यसपालीको विश्व मित्रता दिवस भर्खरै सम्पन्न भएको छ । जुलाई ३० अर्थात् श्रावण १४ लाई विश्व मित्रता दिवसको रुपमा हेर्ने गरिन्छ । विश्व एक भएको बेला यसका सबै सहयात्रीका बीच सुमधुर सम्बन्ध हुनु स्वभाविक हो । विज्ञान र प्रविधिको विकासले आज एक मानवलाई अर्को मानव बीच सजिलै एकै ठाउँमा ल्याएको छ ।
विश्वमा ८ अर्ब जनसंख्या हुन लागेको आजको अवस्थाले विश्व फेरि एक भई भाइचाराको सहयात्रा गर्नु पर्ने भएको छ । हिजोको समय जस्तै अब एक्लै व्यक्ति, समाज, देश वा भनौँ संसार एक्लै सञ्चालन नहुने भएको छ । दोस्रो विश्व युद्धको परिणामपछि संसारलाई एक बनाउने प्रयत्न स्वरुप संयुक्त राष्ट्र संघको जन्म भए पनि आज रसिया युक्रेन, श्रीलंकाको संकट, अफगानिस्तान जस्ता देशको उदाहरण हेर्दा विश्व एक परिवार भएको अवस्था भने छैन ।
पूर्ण सहयोगी विचार मित्रताको पहिलो गुण हो । घमण्ड, रिस, क्रोध, इर्श्या , वैमनस्यतालाई त्याग गर्नाले मित्रहरु वृद्धि हुन्छन् । संगतिबाट विचार पैदा हुन्छ । संगति कुवा हो जसबाट विचाररुपी जलप्रवाह हुन जान्छ । विचाररुपी जलको स्रोत भनेको संगतिरुपी कुवा नै हो, मुहान हो ! मित्र त्यस्तो होस् जसले अर्को अवनतिमा पनि साथ देओस् । उन्नतिमा त सबैले साथ दिन सक्छन् तर अवनतिमा पनि ढाडस दिने मित्र असल मित्र हो ।
मित्र त्यस्तो होस् जसमा जलन नहोस् । मित्रको उदयमा जलन हुनेसँग मित्रता गाँस्नु बेकार हुन्छ । मित्र सकेसम्म रंग, रुप मिलेको होस्, सुन्दर होस् । तर कुरुप भए पनि विचार राम्रो छ भने त्यो असल मित्र हुन सक्छ । मित्र त्यस्तो होस् जसको बोलीमा स्पष्टता होस्, मधुरता होस्, क्षमाशील होस्, इष्र्या रहित होस् । स्मरण शक्ति तीव्र रहोस्, तीखो बुद्धिको होस्, सोच सकारात्मक होस्, शान्त होस्, धीर र वीर होस् । कर्मशील होस्, धर्मानुरागी होस्, धार्मिक मित्रले कहिल्यै खराब गर्दैन, मानमा नमात्तियोस्, अपमानमा न आत्तियोस्, धैर्य नगुमाओेस् ।
मित्र दयालू होस्, साथमा कुशलता पनि होस्, हृदयमा प्रवलता र मनमा पवित्रता होस् । कामनाले रहित, निष्काम भावको, बदला लिने भावले काम गरेको नहोस्, भय रहित होस् । सन्त्रास रहित, लोभ रहति भई क्रोध पटक्कै नगरोस्, हितैषी वर्गलाई कहिल्यै नछोडोस् ।
धर्मलाई रत्तिभर विचलित नगराओस्, कार्यमा त्रुटि हुन नदेओस्, धैर्य र साहसी होस्, सभ्य, परिवेश अनुसार कुराकानी गर्न सक्ने होस्, परिस्थितिलाई बुझ्ने होस्, समयको महत्वलाई बुझ्न सक्ने होस् । समय बलवान छ, समयसँग हिड्न सक्ने होस् । अतितको भुमरीमा नतड्पिने, भविष्यको उज्यालो चाहने होस् । र वर्तमानमा स्वर्ग देख्ने होस् । कोरा कल्पना भन्दा यथार्थ र सहज हुन सिकेको होस् । जुनसुकै परिवेशलाई आत्मसात् गर्ने होस् । कर्तव्य र अकर्तव्यको बोध पनि गर्ने होस् ।
मित्र त्यस्तो होस् जसले आफन्तको अपमानलाई आफ्नै अपमान सम्झन सकोस् । पाण्डव र कौरव दुई पृथक स्वभावका थिए । वैरभाव थियो तिनको परन्तु दुर्योधनको वेइज्जतमा आफ्नो बेइज्जत सम्झन्थे युधिष्ठिर ! कारण बाहिरकाले बेइज्जति गरेमा पाण्डव–कौरव फरक होइनन् एकै कुलका हुन् । कौरवको बेइज्जति हाम्रो पनि बेइज्जति हो भन्थे युधिष्ठर । मित्र त्यस्ता हुन् जसले उदासीन र कायर भावलाई मनमा आउनै नदेओस् । स्फूर्ती, जाँगर, उत्साह र धैर्यलाई आत्मबलको रुपमा आत्मसात गरोस् ।
मित्र धार्मिक होस्, अधार्मिकबाट अशान्ति हुन्छ । अशान्ति मन, तन र समग्रमा समाजदेखि राष्ट्रसम्म हुन सक्छ र यसले देशकै प्रतिष्ठामा आँच आउँछ, भरसक हतियार नै प्रयोग नहून्, कारागरहरुभन्दा स्वास्थ्य र शिक्षालयहरु धेरै रहून् देशमा र प्रसस्त उत्पादनका लागि औद्योगिक कल कारखानाहरुको वृद्धि होस्, सबै सम्पन्न हून् ।
मित्र त्यस्तो होस् समयमा खानपान गर्ने होस्, सात्विक अहार गर्ने होस्, हिंसामा विश्वास नगरोस् । हरेक कार्यलाई कुशलता र दक्षतापूर्वक सम्पन्न गर्न सकोस् । असल कार्यमा अग्रसर होस् । नैतिक र शिक्षाप्रद ज्ञान दिन सक्ने र लिन सक्ने पनि होस् । ध्यानपूर्वक अरुको कुरा सुनोस् । प्रमाण, तर्क र युक्तिसंगत वार्तालाप गर्ने साहसिलो होस् । शालीनताको व्यवहार होस्, नियमित व्यायाम गर्ने होस् । असल मित्रले आफ्नो र आप्mना मित्रको पनि सहज उद्वार गरिराखेको हुन्छ हरदम ।
जन्म मृत्यु व्यक्तिको एक्लै हुन्छ र पनि व्यक्तिलाई मित्रताको खाँचो पर्छ । जन्म र मृत्यु वाहेक अरुबेला व्यक्ति एक्लै बाँच्नै सक्तैन । परिवार–समाज–साथी, इष्टमित्र, आफन्त आदि उसका वरिपरि भैरहन्छन्, धेरै जनासँगको आत्मीय सम्बन्धबाटै व्यक्तिले आफ्नो आत्मोन्नति गर्न सकेको हुन्छ । विकास पथमा अग्रणी भूमिका निर्वाह गर्न सकेको हुन्छ । मित्र धेरै हुन्छन् तर परम मित्र कम हुन्छन् ।
परम मित्र एकै हुन्छ त्यो हो परमात्मा । आत्माको मित्र परमात्मा हो । परमेश्वर पनि त्यही हो । अरुबेला मित्रहरुले सुखको वेला मात्र साथ दिन सक्छन् तर परमात्माले चाहिँ सुख र दुःख दुवै क्षणमा साथ दिइराखेको हुन्छ । दुवै अवस्थामा साथ दिने मित्र वास्तवमा परम मित्र हो, गुरु पनि त्यही हो, ज्ञान पनि त्यही, आत्म ज्ञान पनि त्यही हो ।
मित्र धेरै हुन्छन् तर परम मित्र कम हुन्छन् । सामान्यतया सम्झौता गर्न लायक मित्रहरु ५ प्रकारका हुन्छन् । कृत्रिम, सहयोगी, पुर्ख्यौली, सहज र धार्मिक ! असल मित्रको पहिचान कसरी गर्ने ? जिज्ञासा लाग्छ । परमात्मामा विश्वास कति राख्छ ? धनको मोहमा कति फस्छ ?
अभाव, दुःख, कष्टमा कति साथ दिन्छ, संकटको घडीमा कति नजिक हुन्छ ? मित्रको उदय, उन्नतिमा कत्तिको खुशी व्यक्त गर्छ ? दुःखमा कत्तिको साथ दिन्छ, कति ढाड्स दिन्छ, कति प्रेरणा र हौसला दिन्छ ? स्वार्थमा कुराहरु कति राख्छ÷शर्त कति राख्छ ? लिने कुराहरु कत्तिको प्रस्तुत गर्छ ? दिने कुराहरु व्यवहारत ः गर्छ कि बोलीले मात्र ? यी मूल मूल बुँदाहरुबाट असल मित्रको पहिचान गर्न सकिन्छ ।
राजनैतिक पण्डितहरुले गरेको आपसी सम्झौता र मित्रता घुलमिल हुने गरेको छ देशमा अहिले र त देशबासीहरु खिन्न हुने गरेका छन् ।
एक जीउ दुई टाउका भई देशको विकास गर्ने आश्वासन दिएकाहरुको स्थिति पनि हेरियो, एक जंगलका दुर्ई शेर झैं सिंगौरी खेलेको, मित्रता क्षणिक सावित हुँदा देशै संकटमा पर्ने अवस्था पनि आएको छ बेलाबखत ।
लोभको कारण अरुको धन र तनको मोह हुन्छ । काम इन्द्रीयहरु तीव्र हुन थाल्छन् । जिब्रोले रसको खोजी बढी गर्छ । मिथ्या बोलीबाट आफू ठूलो हुने प्रयास व्यक्तिले गर्छ । अरुप्रति द्वेष, घृणा, दुर्गुण बढ्दै जान्छ । स्नेह, भातृत्व, क्षमा र दया स्वतः हटेर, घटेर जान थाल्छन् । लोभको स्वरुप अचम्मको हुन्छ । मान्छे बूढो हुन्छ तर लोभ तन्नेरी हुँदै जान्छ ।
उसको स्वभाव जवानी हुँदै जान्छ । सम्पूर्ण खहरेहरु, नदीहरु, वर्षाकालीन भेलहरु समुद्रमा पुग्छन् । ठीक त्यस्तै धन, पद, प्रतिभा एकोहोरिएर वर्षन थाल्छन् तर पूर्णता प्राप्ति हुँदैन । वर्षाकालीन नदीनालाहरु सोहोरिएर समुद्रमा पुग्दा पनि समुद्रले पुग्यो भन्दैन ठीक त्यस्तै सबै रुप, प्रतिष्ठा, धन सम्पति सोहोरिएर आए पनि लोभी व्यक्तिले मलाई पुग्यो भनेर कहिल्यै भन्दैन ।
लोभको वास्तविक स्वरुप कोही जान्दैन । मनुष्यपिच्छे लोभको स्वरुप आवरण अनुसार फरक फरक हुन्छ । परिवेश अनुसार लोभको रुप पनि अलग हुन्छ । लोभको स्वरुप बुझ्नचाहिँ सजिलो छ । यसको स्वरुप दम्भ हो, द्रोहीपना हो, निन्दा हो, चुक्ली हो, द्वेष हो, यस्ता अवगुण जसमा पाइन्छ ऊ लोभी हो भन्ने बुभ्mनुपर्ने हुन्छ ।
समाजमा सत्तो श्राप, हिलो छ्यापाछ्याप देखिएकै हो । मान्छे सबै कार्य आपूmले गरेको भन्ने ठान्छ । कर्तृत्वको अभिमान बोकेको हुन्छ । कर्तृत्वको अभिमान बोकुन्जेल ईश्वरीय सत्तालाई स्वीकार्न सकिँदैन ।
कुविचार र कुप्रवृत्ति पाप हो,नरक हो । अरुको उन्नति र प्रगतिलाई देख्न नसक्नु त्यसबाट जलन पैदा हुनु लोभको प्रतिकात्मकता हो । अज्ञानताले यस्तो स्वभाव पैदा हुन्छ । लोभ बढ्नु भनेको अज्ञानको वृद्धि हुनु हो भने लोभको मात्रा घट्न जानाले अज्ञानतालाई केही हदसम्म तल झार्न सकिन्छ । लोभ र अज्ञानता एक अर्काका परिपूरक हुन् ।