काठमाडौं । बंगलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई ४० करोड डलरभन्दा बढी ऋण उपलब्ध गराउन अनुरोध गरेको छ । बंगलादेशले आर्थिक जोखिम बढेपछि बाध्यतावश आईएमएफसँग सम्पर्क गरेको विश्लेषकहरू बताउँछन् ।
बंगलादेश सरकारले गत आइतबार आधिकारिक रूपमा आईएमएफलाई ऋणको लागि पत्र पठाएको त्यहाँको अर्थ मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन् । आईएमएफको एसिया र प्रशान्तीय विभागका निर्देशक कृष्णा श्रीनिवासनले रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा बंगलादेशले ऋणका लागि आईएमएफको ‘क्रेडिटर्स रेजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रस्ट’सँग वार्ताको प्रस्ताव गरेको बताए ।
उनका अनुसार बंगलादेशले आईएमएफसँग ४ अर्ब १६ करोड डलर सहयोग मागेको छ । श्रीनिवासनको यस्तो खुलासाका बाबजुद बंगलादेशका कुनै अधिकारीले पनि आईएमएफसँग कति ऋण मागेको भन्ने आधिकारिक रूपमा खुलाएका छैनन् ।
तर बंगलादेशको अंग्रेजी पत्रिका डेली स्टारले अर्थ मन्त्रालयका उसको स्रोतलाई उद्धृत गर्दै बंगलादेशले ४।५ अर्ब डलर ऋण मागेको लेखेको छ । आइतबार बंगलादेश सरकारले आधिकारिक रूपमा आईएमएफलाई एक पत्र पठाएर ऋणको लागि प्रस्ताव गरेको छ । तर बंगलादेशले आईएमएफसँग यति ठूलो ऋण लिन किन खोज्दैछ?
‘बाध्य भएर आईएमएफको शरणमा’
अन्तर्राष्ट्रिय बजारमा अहिले तेल तथा ग्यास, मेसिनरी तथा कच्चा पदार्थको मूल्यवृद्धिले बंगलादेशसँगको विदेशी मुद्राको सञ्चितिमा ठूलो दबाब परेको अर्थविद्हरू बताउँछन् । बंगलादेशले यही दबाबलाई झेल्न आईएमएफ दाताहरूसँग सम्पर्क गरेको हो ।
गत वर्ष बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४५.५ अर्ब डलर रहेकोमा अहिले (जुलाई २०)मा यो झरेर ३७ अर्ब ६७ करोड डलरमा पुगेको छ । बंगलादेश सरकारले आईएमएफलाई पठाएको पत्रमा गत वर्षको तुलनामा यस अवधिमा ३९ प्रतिशतले आयात बढेको तर मुद्रा सञ्चिति घटिरहेको उल्लेख गरेको छ ।
‘बंगलादेशले अहिले एक दशकयता सबैभन्दा गम्भिर विदेशी मुद्रामाथिको दबाब झेलिरहेको छ । पछिल्लो समय रेमिट्यान्स र निर्यात दुवै केही न केही बढेको छ । तर निर्यात दर राम्रो भएपनि आयात वृद्धि अत्यधिक रहेकाले भुक्तानी सन्तुलनमा दबाब परेको छ ,’ बंगलादेशको एक अध्ययन संस्थान ९सानेम०का कार्यकारी निर्देशक सलिम रेहानले बीबीसी बंग्लालाई बताए ।
दक्षिण एसियाका अन्य दुई मुलुक श्रीलंका र पाकिस्तानले आर्थिक कठिनाइका कारण आईएमएफको ऋणको अनुरोध गरेका छन् । बंगलादेशसँग हाल रहेको विदेशी मुद्रा सञ्चिति ६ महिनाभन्दा बढीको आयातका लागि पर्याप्त रहेको बंगलादेशी अधिकारीले दावी गरेका छन् ।
विश्वमा इन्धन र खाद्यवस्तुको मूल्यवृद्धिसँगै आयात लागत पनि बढेको छ, जसले बंगलादेश र डलर बीचको विनिमय दर रेकर्ड स्तर फरक देखिएको छ । बंगलादेशले आईएमएफका अतिरिक्त विश्व बैंक, एसियाली विकास बैंक(एडिबी) र जापानको सहायता संस्था जाइकासँग पनि बजेट सहयोगको प्रक्रिया सुरु गरेको छ ।
आईएमएफको ऋणबारे किन यति धेरै चर्चा ?
बंगलादेशले स्थापनाको अर्को अर्थात सन् १९७२ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्यता लिएको थियो । उसले यस संस्थाबाट यसअघि पनि धेरैपटक ऋण लिएको छ, तर पनि उसले कहिल्यै १ अर्ब डलरभन्दा बढि सहयोग लिएको छैन ।
यस अर्थमा अन्तर्राष्ट्रिय संस्थाबाट ऋण वा आर्थिक सहायता लिनु बंगलादेशका लागि नौलो कुरा होइन । तर आईएमएफको यो ऋणलाई लिएर अहिले किन यति धेरै चर्चा भईरहेको छ ?
आईएमएफले कुनै पनि देशलाई ऋण दिँदा ती देशको नीतिगत विषय सुधारसम्बन्धी सर्तहरू राख्छ । वित्तीय क्षेत्र सुधारका यी सर्तहरू कार्यान्वयन गर्दा जनतामा अलोकप्रिय हुने डरले कहिलेकाहीं सरकारहरू ऋण लिन चाहँदैनन् ।
यी सुधारका सर्त कार्यान्वयनलाई लिएर ऋण लिन चाहने सरकारमा असमञ्जसको स्थिति त हुन्छ, तर ऋण लिने हो भने आइएमएफले राख्ने सर्तहरूमा मान्दिनँ भन्न पाइँदैन । तर ऋण लिँदा बैंकिङ र कर क्षेत्रको सुधार गर्नुपर्ने सर्तले ऋण लिने मुलुकको वित्तीय क्षेत्रलाई फाइदा पुग्ने अर्थशास्त्रीहरू विश्वास गर्छन् ।