• असार २५ २०८१, सोमबार

जव ९२ वर्षीय शर्माले पञ्चायत विरुद्ध लड्दाका साथीलाई भेटेर अङ्गालो हाले…..

श्रावण १४ २०७९, शनिबार

घोराही १४, साउन । तयारी गरेर गाडी चढ्दा ठिक ६ बजेर ३० मिनेट गएको थियो । त्यसअघि ९२ वर्षीय नारायणप्रसाद शर्माले नुहाउने, खाजा नास्ता खाई र यात्राका लागि तयारी गर्नुभयो । घोराहीबाट विपश्यना ध्यान केन्द्र घोराही–१३ सेवारका साधक नन्द शर्मा र टोपेन्द्र केसी साथमा हुनुहुन्थ्यो ।

तुम्लेटमा पानी र पिउनका लागि स्टिलको एउटा सानो गिलास थियो । बेला बखतमा शर्माले एक दुई घुट्की पानी पिउनुहुन्थ्यो । अनि गफिनु हुन्थ्यो । सवा सात बजेतिर घोराही नयाँ युगवोध राष्ट्रिय दैनिकको कार्यालयस्थित निवासबाट गोरखा आइडियल स्कूल राप्ती–२ भालुबाङ पुगियो । त्यसबेलासम्म एक पटक पनि हाइकाढेको देखिएन । न त थकानको सुस्केरा नै सुनियो ।

गाडीबाट खुत्रुक्क झरेर नमस्कार नमस्कार गर्दै निकै प्रफुल्ल मुद्रामा फटाफट विद्यालमा पस्नुभयो । स्कूलका प्रिन्सिपल वसन्त पुन सहित उपस्थित जनले उभिएर स्वागत गर्नुभयो ।
पत्रकार महेश रिजालले खुशियालीमा फोटा खिच्न थाल्नुभयो । शर्माले जोसिला, आँटिला कुरा गर्नुभयो । बडो आनन्द महशुस गरेर बेला बेलामा हा..हा..हा…गरि हाँस्नुहुन्थ्यो । लगत्तै कक्षा ७ र ८ का विद्यार्थीले लेखेका उत्कृष्ट कथा समेटिएको गोरखा आइडियलका कथाहरु–भाग एक विमोचन गर्नुभयो ।

साहित्यकार विजयराज आचार्यले २०७८ गत चैत १४ र १५ गते कथा लेखन सम्वन्धि प्रशिक्षण गराउनुभएको थियो । त्यसैमा सहभागि विद्यार्थीले लेखेकामध्ये उत्कृष्ट १२ वटा कथा यसमा समेटिएका छन् । ‘म ८५ वर्ष अघिका कुरा गर्दैछु । म पनि विद्यार्थी थिएँ, तपाईंहरु जस्तै ।

काठको पाटीमा क,ख लेखेर अक्षर चिनेँ । एउटा भोटी (कुर्थी), टोपी, थियो । जुत्ता छैन । कलम किताव छैन । पैदल हिंड्नु परेको हो । एउटा स्कूल थिएन । गुरुका घरमा गएर सिकेँ ।’

पाँच सय विद्यार्थी अध्ययनरत विद्यार्थीले निकै उत्सुकताका साथ मन्तव्य सुने । बेञ्च र टेबल राखिएको क्यान्टिनमा खाना खान बस्नुभयो । उहाँले खाने ठाउँ बच्चाले खाजा नास्ता खाने ठाउँ हो । शाकाहारी भएकाले उहाँलाई वृद्ध भनेर छुट्टै बनाउनु परेन । आफूसँग रहेका साथीहरु र विद्यालय परिवार सहित भोजन भयो ।

त्यसै विद्यालयमा आनापान ध्यानको कार्यक्रम थियो । ‘अब ध्यान गर्नुस्’ भन्दै बाहिरीनु भयो । आधा घण्टा ध्यानको कार्यक्रम टोपेन्द्र केसीले चलाउनुभयो । शर्मा विद्यालय क्षेत्र घुम्न थाल्नुभयो । एक तले  होंचो धेरै भवन छन् । स्कूलका बिचबिचमा दुवेरी छ । पूर्वतर्फ विशाल चौर छ । अझ पर खेति गरिएको छ । कक्षा ११ र १२ का भवन बनाउने क्षेत्र छ ।

बीचमा ग्रिन वेल्ट सहितको सवारी हिंड्ने बाटो बनाउने योजना छ । लगत्तै विसं २०१५ सालतिर जनतामा जागरण फैलाउन जाँदा आश्रय पाएको घरमा पुग्नुभयो । शर्मा २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको दाङ जिल्ला सचिव हुनुहुन्थ्यो । त्यतिबेला बेठबेगारी विरुद्ध अभियान चलेको थियो । त्यसबेला साथ दिएका दुर्गा भूसालसँग भेटिंदा शर्मा निकै उत्तेजित र भावुक हुनुभयो ।

घरमा पस्ने बित्तिकै गम्लङ्गै अङ्गालो हालेर लामै समयसम्म अँठ्याउनुभयो । उहाँहरुको सो अंकमाललाई  भर्खर प्रेममा परेका जोडीको भेट जस्तै अनुमान गर्न सकिन्थ्यो । त्यसपछि बस्नु भएका शर्मा निकै भावुक हुनुभयो । सुख र दुःखका घरयासी कुरा गर्दा निकै अपनत्व महशुस गर्नुभयो ।

भूसालको रोगले ग्रस्त शरीरले उहाँलाई मज्जाले घोचेको हुनुपर्छ । आफू भन्दा आठ वर्ष कान्छा ८४ वर्षे भूसाल ढाड दुख्ने रोगले पीडित हुनुहन्छ । पोष्टेड भएर घण्टा घण्टामा पिसाव गर्न जानुपर्छ । दमका कारणले पनि दुःख दिएको छ । अक्सिजन लगाउन सिलिण्डर राखिएको छ । यता शर्माले दमको समस्या चट भएको सुनाउनु भयो । अहिले उहाँ आफूलाई कुनै पनि समस्या नभएको जानकारी दिनुभयो ।

नेपालको तेस्रो लामो पुल बनेको सुनेपछि साना बालबालिकाले जस्तै व्यवहार देखाउनु भयो । उहाँको झ्वाट्टै गर्ने निर्णय टिन एजरको जस्तै लाग्थ्यो । गाडी राप्ती नदितिर लाग्यो । खुररीयाबाट राप्ती तर्न बनेको आठ सय १८ मिटरको पुलमा पुगेपछि निकै उत्साहित हुनुभयो । पुलमा उहाँ सबै भन्दा अगाडि हिंड्नुभयो । झिमझिम पानी परिरहेको थियो । त्यसले विरामी बनाउँछ भन्ने डर पनि थिएन । करीब ५० भन्दा बढि सिढी उक्लेर झोलुङ्गे पुलमा जानुभयो ।

उहाँलाई भेट्न जानु भएका राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीसँग भेट भयो । त्यहीँ विकास निर्माणका भलाकुसारी भए । त्यसपछि लालमणि शर्मालाई ओछ्यानमै गएर भेट्नुभयो । उहाँ दुईवटा सिलिण्डर अक्सिजन सहित बस्नुभएको छ । उहाँको स्वाथ्य अवस्था बुझ्दा परिवारजन निकै खुशी देखिनु भयो । ‘यो घरमा पस्ने बाटोमा बालुवा हाल्नु, हिंड्ने गाह्रो रहेछ’ भनेर निस्कने बेला सुझाव दिनुभयो ।

यसो त साना साना कुरामा पनि शर्माले जानकारी राख्नुभयो । त्यसपछि राप्ती गाउँपालिका मसुरिया पुगियो । त्यहाँ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले हाम्रो समूहलाई स्वागत गर्यो । चियापान भयो । यत्रो सिंहदरवार बनेछ भनेर भवन हेर्नुभयो । भित्र बसेको बेलामा कार्यक्रममा सहभागि धेरैसँग विविध कुरा भए । ठट्यौली पारामै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराज रिजाललाई कर्मचारीले राजधानी ल्याउन दिनु भएन भन्नुभयो ।

सचिव बस्ने घर, कोठा, क्वाटर भएनन् रे, कर्मचारीलाई सुविधा नभएरै राजधानी आएन । यो कस्तो अवस्था आयो ? भनेर सोध्नुभयो । अधिकृत रिजाल पनि जवाफ दिन निक्कै खप्पिस् हुनुहुँदो रहेछ । बडो पाको जवाफ फर्काउनुभयो । ‘मन्त्री आएर बसेपछि सचिव नआई सुखै छैन । मन्त्री आउन आँटै गर्दैनन् । एकजना मन्त्रीसँग अवस्था हेर्न डुल्यौँ । कतै यो घरको ढोका होंचोे रहेछ, मेरो टाउको ठोकिन्छ भनेर घरलाई होच्याए । कुनैमा यहाँ त दराज छिर्दैन भने । कतै शौचालय वाथरुम मन पराइएनन् । बस्तिभरी घुम्दा कुनैपनि घर मन्त्रीले रुचाएनन् ।’ उहाँले थप पुष्टि गर्न निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी तर्फ औंल्याउनुभयो ।

उहाँ शर्माको नजिकै बस्नुभएको थियो । विविध विषयमा गफगाफ भए । त्यतिञ्जेल कर्मचारीले हलमा कार्यक्रमको व्यवस्था मिलाइसकेका थिए । राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरुका लागि असल चरित्र निर्माण तथा सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण दिन प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष रहेका शर्मा त्यहाँ जानुभएको थियो ।

‘मैले २००३ सालमा देउखुरी कुल्चेको हुँ । बडा राम्रो सम्झना छ, असारको अन्तिम थियो । राप्ती ठूलो भएको थियो । स्यानी नदी पनि थियो । डुंगाबाट वारपार गरिम् । म सबभन्दा होंचो । अहिले पनि होंचै छु । लुगा फुकालेर नदी तर्दा पनि दुई तिन घुट्की पानी पिएँ । त्यसरी नदी पार गर्यौं ।’

उहाँले थप्नुभयो, म भर्खरै हेरेर आएँ त्यहाँ कस्तो राम्रो पुल बनेको रहेछ ।’ उहाँले प्रशिक्षणका क्रममा ७६ वर्ष अघिका कुरा स्मरण गर्नुभयो । त्यहाँ सहभागी सबै उत्साहले गलल्ल हाँसेर समर्थन गरे ।

त्यसपछि भनाई अघि बढाउनुभयो । ‘जागरण गर्न भनि २०१० साल तिर सिसहनिया आइम । थारुका मात्रै घर थिए । छाप्रा मात्रै । पहाडीया कोही थिएनन् ।’ शर्माले थप्नुभयो, ‘त्यसबेला स्यानो कार्यक्रम थियो । कापी–कलम नलिई आएछम् । गाउँभरी मसी कलम कापी खोजिम । पाइनम् । मौखिक रुपमा कार्यक्रम गरेर फर्किइम ।’

उहाँका अनुसार त्यतिबेला स्कूल थिएनन्, विदेशी आएर घरघरमा पढाउँथे । त्यसको एक वर्षपछि शर्मा नेपाल कम्युनिष्ट पार्टी दाङको सचिव हुनुभएको रहेछ । कार्यकर्ता छँदै देउखुरी जानुभएछ ।

‘अहिले आकाश र जमिन जस्तै फरक भएको छ देउखुरी ।’ उहाँले त्यसबेलाको अवस्था थप व्याख्या गर्नुभयो । ‘देउखुरी दंगालीको उपनिवेश थियो । दाङबाट टाँठाबाठा आएर जमीन कब्जा गरेका थिए । त्यसबेलाका थारु गाउँको बारेमा पनि स्मरण गर्नुभयो । छाप्रा घर थिए, भेग्वा (लगौंटी) लगाउने टोपी थिएन । नाङ्गै बस्ने हो । भारी बोक्ने हो । आज त्यो दृश्य आएको छन् ।’ उहाँले थप्नुभयो, ‘आज थारु र पहाडीयाको भेद देखिन्न । सबै सम्पन्न छन् । पढे लेखेका छन् ।’

हँसमुखले सुनाउनुभयो । विकासप्रति खुशी व्यक्त गर्नुभयो । त्यत्रो सिंहदरबार देख्नु गौरवशाली कुरा हो । त्यो कार्यक्रम करीब दुई घण्टा चल्यो । अहँ थकानको कुनै संकेत शर्मामा देखिँदैन्थ्यो ।
खाजा खाएर विदावारी मागि गाडीमा चढ्नुभयो । लुम्बिनी प्रदेश सभा भवन अवलोकन गर्न पुग्नुभयो । त्यहाँ भित्र पस्न सकिँदैन्थ्यो ।

सबैतिर हिलैहिलो थियो । गेटमा उभिएर फोटो खिचेपछि चित्त बुझ्यो । भित्र पस्न मिल्ने भए परपरसम्म पुग्ने गरी हौसिनुभएको थियो । उत्साह, जाँगर जोश हुँदा हुँदैपनि हिलोमा टेक्नै सकिएन । उहाँ केहि दिनदेखि पढ्न धौ भएकोले चिन्तित हुनुहुन्थ्यो । चश्माले पनि अक्षर देख्न छोड्नुभएको थियो । आँखाको राम्रो डाक्टर लमहीमा भएको सुन्नुभएको थियो । पत्रकार राधेश्याम गुप्तालाई भनेर विदा पछि पनि डाक्टरलाई भेट्ने व्यवस्था मिल्यो ।

दंगिशरण–१ घर भएका डाक्टर लालबहादुर चौधरी नजिकै बस्नुहुँदो रहेछ । आएर जाँच गर्नुभयो । गत १३ वर्ष देखि कार्यरत चौधरी त्यहाँको सबैभन्दा पुरानो हुनुहुन्छ । २०४९ सालमा पेशामा लाग्नुभएका उहाँ अनुभवी र पाको पनि उत्तिकै हुनुहुन्छ । उमेरका कारण आँखामा दाग भएकोले हेर्न नसकिएको भन्ने तथ्य चौधरीले सुनाउनुभयो । आँखा मेसिनबाट हेरेपछि अक्षर देखाउने ठाउँमा सार्नुभयो । त्यहाँ घरीघरी चस्मा जाँच गर्नुभयो ।

पटक पटकको प्रयास पछि शर्माले हिन्दीमा लेखिएको भकुण्डो जस्तोमा फरर पढ्नुभयो । त्यसपछि त खुशीको सिमै रहेन । बैंसको संघारमा आउने जस्तै हाँसो थियो । अनि डाक्टरको परिचय लिनुभयो । धेरै धेरै धन्यवाद दिनुभयो । आफूले सोचेको जस्तै भएको, जीवनकै उपलब्धि हासिल गरेको भनाई थियो ।

अब घर फर्किने बाँकी थियो । यति बेलासम्म पनि अस्पतालबाट विदावारी मागेर गाडी लमही बजारतिर गयो । त्यहाँबाट घुमेर हाइवेमा कुद्न थाल्यो । त्यसपछि भने सरासर घोराहीतिर बढ्यो । कतै न रोकिएर घोराही पुगेको गाडी बिहान चढेकै ठाउँमा पुग्दा साँझको ६ बजेर सुई अलिकति अगाडि गएको थियो । विहानको साढे ६ लाई मिलाउँदा १२ घण्टा भन्न मिल्थ्यो ।