• फाल्गुन २६ २०८२, मंगलवार

एकजना अमेरिकी मन्त्री दक्षिण एशियातिर अर्का मन्त्री पूर्वी एशियातिर किन ?

श्रावण १४ २०७९, शनिबार

काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एशियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् ।

अमेरिकाको दक्षिण एशिया हेर्ने विदेश सहायक मन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा रहेका बेला उता अमेरिकाकै विदेशी मन्त्री पनि दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमणमा आएका हुन् ।  आर्थिक तथा सैन्य हिसावले चीनलाई घेर्ने रणनीति अनुरुप उनीहरु यसरी एशियामा केन्द्रित भएको आरोप अमेरिकालाई लाग्ने गरेको छ ।

कम्बोडिया, फिलिपिन्स सहितका एशियाली देशको भ्रमण सकेर उनी दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा प्रस्थान गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली देशहरुको सङ्गठन (आसियान) का तीनवटा बेग्लाबेग्लै मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री ब्लिङकेन आगामी बुधबार कम्बोडियाको राजधानी नोमपेन पुग्नेछन् । आसियान मन्त्रिस्तरीय बैठकको आयोजक मुलुक कम्बोडिया हो ।

कम्बोडियामा उनले आसियानमा आवद्ध देशहरुसँगको सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा छलफल गर्ने छन् । विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाका बारेमा पनि मन्त्रीस्तरीय बैठकमा समीक्षा हुनेछ ।

अमेरिका र आसियानबीचको सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा अघि बढाउन गत मे महिनामा वासिङ्टनमा भएको सहमतिअनुरूप ब्लिङकनको यो भ्रमण हुन लागेको हो ।

कम्बोडियाबाट उनी फिलिपिन्सतर्फ लाग्नेछन् जहाँ उनले नयाँ राष्ट्रपति र विदेश मन्त्रीलाई भेट्ने कार्यक्रम छ । दुई एशियाली देशको भ्रमण पूरा गरी उनी यही साउन २२ गते अफ्रिकी मुलुकको भ्रमणमा जानेछन् ।

अमेरिकी विदेशमन्त्रीले अफ्रिकी नेताहरूसँग साझा चासोका अन्तर्राष्ट्रिय विषयका साथै जलवायु परिवर्तन, मानव अधिकार, रुस—युक्रेन युद्धलगायत सामयिक मुद्दामा विचार विमर्श गर्नेछन् ।