• मंसिर २० २०८१, बिहीबार

नेपाली परम्परागत चित्रकला: शिल्पज्ञान पुस्तक विमोचन

श्रावण १३ २०७९, शुक्रबार

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकै परम्परागत शिल्पकला विभागले प्राज्ञ मानबहादुर बल, पूर्णप्रसाद ह्योजु र देवेन्द्र थुम्केलीको संयुक्त लेखनमा नेपाली परम्परागत चित्रकला: शिल्पज्ञान पुस्तक विमोचन गरेको छ ।

प्रतिष्ठानमा पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के.के. कर्माचार्यले मन्तव्यको क्रममा यस पुस्तकमा गहन र महत्वपूर्ण विषयको उठान गरिएको बताए । उक्त पुस्तकका तीन जना लेखक क्रमश् थाङ्का चित्रका विज्ञ, पौभा चित्रका विज्ञ र लेखन क्षेत्रका विज्ञबाट लेखिएकोे हो । उक्त पुस्तक निकै ज्ञानवद्धक र रोचक हुनुका साथै विधि र विधानका कुराहरुलाई समावेश गरिएका छन् । जसको अध्ययन बिना चित्र बनाउन सम्भव छैन भन्दै यस पुस्तकले अनुसन्धानकर्ता, चित्रकार, विद्यार्थी, कला पारखी सबैका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन कुमार घिमिरेले स्वागत मन्तव्य राखे । लेखक मानबहादुर दोङले नेपाली थाङ्काको विषयमा जानकारी सहित त्यसको शात्रिय ज्ञानको बारेमा बताए । नेपाली थाङ्काको विशेषता, महत्व, मागको विषयमा चर्चा गरे ।
लेखक पूर्णप्रसाद ह्योजूले पुस्तकमा सबै विषय वस्तुहरुको विस्तृत व्याख्या विवेचना गर्न नसकिए पनि उक्त विषयका बारेमा जानकारीहरु पुस्तकमा उल्लेख भएको बताए ।

लेखक देवेन्द्र थुम्केलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अध्ययन अनुसन्धान र प्रकाशनको कार्यलाई अगाडी बढाउनु भएकोमा खुसी व्यक्त गर्दै नेपाली परम्परागत लोककलाले नेपाल र नेपालीको पहिचान बचाउने बताए । यस पुस्तकमा चित्र बनाउन धार्मिक तथा ऐतिहासिक पक्ष रहेको भन्दै यस पुस्तक भित्रको चित्रमा रहेको शिल्प पक्षलाई पनि केलाइएको बताए । उनले अन्त्यमा, हामीलाई बचाउने चिज नै हाम्रा लोककला भएकोले यसको विकास, विस्तार र संरक्षण गर्नु पर्ने कुरामा जोड दिए ।

पुस्तकको समीक्षा गर्दै उपप्राध्यापक तेजविलास अधिकारीले समीक्षक पुस्तक विमोचन हुनु भन्दा अगाडीको पाठक हो । सामान्यत पुस्तकको पहिलो खण्डमा चित्रकलाको संक्षिप्तमा झलक आउने गरी लेखिएको छ । पुस्तकमा ४ दशक भन्दा बढी समयसम्म कलामा समर्पित कलकारहरुको जीवनी र भोगाईको बारेमा उल्लेख छ । पुस्तकमा धार्मिक, ऐतिहासिक सन्दर्भलाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । यस पुस्तकले परम्परागत चित्र बनाउन चाहने कलाकारहरुलाई सहज बाटो कोरिदिएको छ भने उक्त पुस्तकले प्रारम्भिक ज्ञान नभएका व्यक्तिहरुलाई समेत ज्ञान लिन र शिप सिक्न सहज हुनेछ ।

पुस्तक विमोचन समारोहका सभापति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले कलाकृति र तिनका विधीहरुलाई पुस्तकका रुपमा प्रकाशन गरिएको बताए ।

यस पुस्तकले कला सिक्ने चाहाना भएका विद्यार्थीहरु र कला शिक्षकलाई एकदमै सहज हुने बताए । यस पुस्तकमा बुट्टाहरु, विन्दुहरु र लाइनका बारेमा व्याख्या र नमूना प्रस्तुत गरिएको छ । उक्त किताबले थाङ्का पौभाको बारेमा जग बसाउनुका साथै सहजकर्ताको रुपमा कार्य गर्नेछ । हाम्रो नेपाली परम्परागत चित्रहरु विदेशमा चर्चित भएतापनि हाम्रो देशका मानिसहरुलाई यसको महत्व र यसको बारेमा थाहा नै नभएको बताए ।