काठमाडौं । मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको बताए ।
“सङ्घीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र बलिदानबाट आएको सङ्घीयतालाई कसैले कमजोर बनाउन सोचेको छ भने त्यो दिवा स्वप्न मात्र हो”, उनले भने, “संसद्मै केही पार्टीका नेताले सङ्घीयता विरोधी अभिव्यक्ति दिएका छन्, म त्यसप्रति खेद प्रकट गर्दछु, सङ्घीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।” उनले त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरे ।
मुलुक सङ्घीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उनले सङ्घीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
प्रतिपक्षी दलका केही नेताले संसद्मै सङ्घीयता विरोधी आवाज उठाउन थालेको भन्दै उनले उत्पीडित जनता आफैले सङ्घीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने बताए ।