• मंसिर ११ २०८१, मंगलवार

‘त्यसदिन कर तिर्नका लागि जनतासँग केही बाँकी रहने छैन’

श्रावण १२ २०७९, बिहीबार

हामी धनी, गरीब र मध्यम जुनै वर्गका भए पनि पेट पाल्न र घर चलाउन कमाउँछौं । फरक फरक वर्गको आम्दनीको श्रोत भिन्दाभिन्दै छ । आम्दनीको दर र रकम पनि फरक फरक छ । कोही दैनिक ज्यालादारी गरि सय कमाउँछन् भने कोही साना व्यापार र नोकरी गरि हजार कमाउँछन् । कोहीले मध्यम वर्गीय उद्योग व्यापार गरि लाख कमाउँछन् होला । ठुल्ठुला उद्योग कलकारखाना खडा गरि करोडौं कमाउनेहरु पनि छन् ।

आर्थिक हैसियत र वर्ग अनुसारका मानिसका आवश्यकताहरु छन् । जसलाई उनीहरु आफ्नो आम्दनी अनुसार पुरा गर्ने प्रयास गर्छन् । कसै कसैको आम्दानी त उसको आवश्यकता भन्दा यति थोरै हुने गर्दछ कि, एउटा सानो आवश्यकता पूरा गर्दागर्दै आम्दनीको रकम सकिन्छ र अर्को आवश्यकता पूरा गर्न ऋण लिनुपर्छ । अहिले यदि सर्वेक्षण गर्ने हो भने हरेक तेस्रो घरको व्यक्ति र परिवारले कुनै न कुनै रुपमा ऋण लिएकैछन् । कोही छिमेकीबाट, कोही साथीबाट, कोही आफन्तबाट, कोही साहुबाट लिएका छन् त कसैले बैंकबाट ।

जसका कारण उनको दिन र रात यही चिन्तामा बित्ने गरिरहेको छ, कि ऋण कसरी तिर्ने होला ! ऋणकै कुरा गर्ने हो भने छोराछोरीलाई पढाउन, घर बनाउन जग्गा किन्न वा छोराछोरीको विवाह ब्रतबन्धका लागि बैंकबाट लिएको ऋण तिर्न नसकेर घरबारबिहीन हुन परेको छ । किनकि साहु वा बैंकले ऋण चुक्ता गर्न उसको घर जग्गा बिक्री गरिदिएका अनेकै उदाहरणहरु छन् । यहाँ ऋण चुक्ता गर्न आफ्नो घर बेचेर भाडामा बसेका पनि अनेकैं परिवारहरु छन् । यस्ता परिवार र व्यक्तिलाई सहयोग गर्न वा राहत दिनका लागि सरकारको कुनै योजना छैन् । त्यसमाथि महँगीको मार पनि चरम सीमामा छ ।

महँगीबढ्दै गइरहेको छ । बढ्दै गइरहेको महँगीलाई सरकारले न त नियन्त्रण गर्न सकेकोछ न, जनतालाई सस्तो दरमा सरसामान उप्लब्ध गराउनका लागि कुनै पहल नै गरेको देखिन्छ । सामग्री साल्टेज, आपूर्ति घटेको वा लक्डाउन जस्ता कुनै पनि बहानामा एक पटक बढेको मूल्य फेरि कहिल्यै घटेको छैन् ।

जनताको जर्जर आर्थिक अवस्था र महँगी बढ्दो क्रममा पनि सरकार मुकदर्शक भइ बसिरहेको छ । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस जस्तो अति आवश्यक वस्तुको आपूर्ति वा स्टक घट्दा व्यापारीहरुको कालाबजारी र ब्रह्म लुट सुरु हुन्छ ।

जसमा सरकारको कुनै निगरानी हुँदैन । सरकारले जनतालाई सहुलियत र राहत दिनका लागि कुनै पहल पनि गर्दैन् । बस भाडा होस् वा हवाईजहाज भाडा दिनका दिन बढेको बढ्यै छ । सरकारले जनताको सहजताका लागि हरेक ठाँउमा निःशुल्क वा कम शुल्कमा यातायात साधनको व्यवस्था गर्नु त कुरै छाड्नुस् बढेको भाडादर घटाउन पहल, समन्वय र सहकार्य गर्न समेत सकेको छैन् । जनताका लागि न कुनै अनुदान छ न सहुलियत नै । जनतामाथि छ त केवल कर र शुल्कको मार र भार त्यसमा पनि उच्चदरको ।

उदाहरणका लागि एक व्यक्ति जो दैनिक मानौं रु. ५०० ज्यालादारी कमाउँछ । नेपालमा त दैनिक उसलाई मजदूरी गर्न काम मिल्छ भन्ने ग्यारेन्टी हुँदैन । कुनै दिन आफू वा घर परिवारमा कोही बिरामी हुँदा मजदूरी गर्न जान सक्दैन । अब यसरी औसत काम गर्ने दिन निकाल्ने हो भने ऊ चौबिस वा पच्चिस दिन मात्र काम गर्न सक्छ । दैनिक पाँच सयका दरले पच्चिस दिनको आम्दनी भयो रु. १२,५०० (बाह्र हजार पाँच सय) मात्र महिनाको मजदूरी बुझ्दछ । त्यही बाह्र हजारमा उसले बालबच्चालाई पढाउनु पर्नेहुन्छ । त्यसैबाट घरको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । भाडामा बस्छ भने घरभाडा तिर्नु पर्नेहुन्छ ।

चाडपर्व पर्यो भने मनाउने त्यही रकमबाट नै हो । घरको सरसामान र बच्चाहरुको कपडा, जुत्ताचप्पल, किताब–कापी, खेलौना भाडाकुंडा, विद्युत महसुल, मोबाईल खर्च आदि सबै त्यही रकमबाट पूरा गर्नुपर्छ । यहाँसम्म कि कोही बिरामी परिहाल्यो भने त्यही रकमबाट उपचार गर्नुपर्ने हुन्छ । बाह्र हजारमा उसले कसरी गुजारा गर्छ ? त्यो त मात्रै उसैलाई थाहा हुन्छ । यसैगरी ज्यालादारी नगरी कतै नोकरी गर्छ भने चार दिन बिवदाको निकालेर २६ दिनको तलब बापत महिनामा एक पटक मात्र रु. २६,००० छब्बीस हजार बुझ्छ ।

रकम बुझ्दा सबभन्दा पहिला त ऊ त्यसको आयकर तिर्छ । त्यसपछि बचेको रकम लिएर ऊ कुनै होटेलमा खाना खान जान हिंड्छ भने यातायात भाडामा कर त्यसपछि खाना खाएपछि त्यहाँ फेरि आयकर, सेवाशुल्क तिर्छ । जिल्ला भित्र वा जिल्ला बाहिर कतै आवतजावत गर्नु परेमा बस र हवाईजहाजमा भाडा तिरेर यात्रा गर्दा कर तिर्छ । यात्रा गर्दा मात्रै होईन साइकल, मोटरसाइकल, मोटरगाडी, कार आदि किन्दा कर तिर्छ ।

मानव सभ्यतामा बाँच्ने भएकोले मान्छेले लुगा लगाउनै पर्ने हुन्छ । लुगा किन्न जाँदा व्यापारीले लुगाको वास्तविक मूल्यमा आफूले राखेको कामदार अर्थात् सेल्समेनको सेवा शुल्क जोड्छ । भन्सार कर जोड्छ । मूल्य अभिवृद्धि कर जोड्छ । पसल भाडाको कर जोड्छ ।

सबैखाले कर जोडेर अनि बल्ल लुगाको मूल्य निर्धारण गरि बेच्छ, जसलाई उसले भनेकै मूल्यमा किन्नु ग्राहकको बाध्यता हुन्छ । यसै गरी ऊ बिजुलीको बिल तिर्दा कर तिर्छ । घरायसी सरसामान जस्तै : खाद्य वस्तु जस्तै : केक, बिस्कुट, दालमोट, आइसक्रिम, पिज्जा, मम, चाउचाउ, चाउमिन, चामल, दाल, गहुँ, नुन, चिनी, र चियापत्ति लगायत अन्य खाद्यवस्तु किन्दा ढुवानी कर, वस्तुको लागत खर्च र पारिश्रमिक लगायतका खर्चका कर तिर्छ ।  खानेतेल, मरमसला र भाडावर्तन, कप, प्लेट, गिलास, बाल्टीन र मग आदि किन्दा पनि कर तिर्छ ।

पेय पदार्थ जस्तै : कोकाकोला, फेन्टा, पेप्सी, माजा, फ्रुटी, स्प्राइट, पोकाको दूध दही समेत, यहाँसम्म कि पानीको बोतल किन्दा पनि कर तिर्छ । दराज किन्दा कर तिर्छ । ग्याँस र चुल्हो किन्दा कर तिर्छ । दैनिक प्रयोग हुने टीभी, रेफ्रिजरेटर, कुलर, एसी, क्यालकुलेटर, बल्ब, वासिङ मेसिन, पंखा, कपडा सिलाउने मेसिन, टेलिफोन, मोबाईल लगायतका इलेक्ट्रोनिक तर अति आवश्यक वस्तु किन्दा पनि व्यापारी र कम्पनीहरुले लगाएका विभिन्न खाले कर तिनै पर्दछ ।

मोबाईल मात्र होइन त्यसका लागि रिचार्ज कार्ड किन्दा पनि कर तिर्छ । कार्ड किन्दा मात्र कर तिरेर पुग्दैन । फोन गर्न फोन कल कर, मेसेज गर्दा कर डाटा किन्दा फेरि त्यसको छुट्टै कर तिर्छ । खेल सामग्रीमा क्यारम, फुटबल, ब्याटबाल, हक्की, चेसबोर्ड, टेनिस बलसेट जस्ता कुनै खाले खेल सामग्री किन्दा कर तिर्छ ।

सुनचाँदी, हिरामोती पन्ना पोखराज किन्दा कर तिर्छ । यसै गरी मेकअप सामग्री, साबुन, सेम्पु ,पाउडर, पर्फ्यूम, निल, आला, हार्पिक, ड्राइपर, टिस्यु पेपर, सियो, टोपी, चस्मा आदि किन्दा पनि कर तिरेकै हुन्छ । यतिमात्रै होइन मानिसले सेनिटरी प्याड र औषधि जस्ता अति महत्पूर्ण वस्तु किन्दा समेत कर तिर्छ ।

सेवा वापत तिर्नुपर्ने शुल्क भन्नुपर्दा डाक्टर, इञ्जिनियर, ओभरसियर, शिक्षक, बैंकर्स लगायत सबैलाई काम गराए वापत तोकिएको शुल्क तिर्नुपर्छ । बैंकहरुमा त सेवाशुल्कका कुरा गर्ने हो भने आफ्नो जम्मा गरेको रकम झिक्दा एटिएम
प्रयोग बापत पटकको हिसाबले समेत शुल्क तिर्नुपर्छ । संक्षिप्तमा भन्नुपर्दा मानिस जन्मेदेखि मृत्युसम्म कर तिर्छ । जन्मिदा
अस्पतालमा तिर्ने औषधिका बिलहरुमा लगाइएका कर तिर्छ ।

अब बढ्ने क्रममा उसले खाने सेर्लेक्सको बट्टामा कर, उसलाई लगाइने ड्राइपरमा कर, उसलाई मसाज गरिने तेलको सिसीमा कर, उसको शिक्षाका लागि किन्ने किताब–कापी ड्रेस जुत्ता–मोजामा लाग्ने कर, उसको विवाह हुँदा किन्ने सरसामानमा लाग्ने कर, यहाँसम्म कि उसको मत्यु हुँदा लगाइने कात्रोमा पनि कर तिर्छ ।

जन्मेदेखि मरणोपरान्तसम्म चलिरहने यो कर तिर्ने सिलसिला कहिलेसम्म चल्ला ? जबकि तिरेको कर कहाँ जान्छ । के ? कसरी ? कति ? केमा ? को मार्फत् ? कहाँ खर्च हुन्छ ? भन्ने कुनै जानकारी हामी जनतालाई हुँदैन । जनताले त कर तिरेर आफ्नो दायित्व पुरा गरिरहेका छन् ।

सरकारले आफ्नो दायित्व पुरा गर्न बेलगाम बढ्दो मंहगाई घटाउन पहल गर्नुपर्छ । खाना पकाउने ग्याँस, पेट्रोलियम पदार्थ, खाद्य वस्तु लगायत अन्य अति आवश्यक उपभोग्य वस्तुहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउने नीति बनाएर अघि बढ्नुपर्छ ।

निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा र योग्यता अनुसार एक व्यक्ति एक रोजगार ग्यारेन्टी गरिनुपर्छ । मनपरी ढंगले दररेट बढाएर जनतालाई लुट्ने व्यापारीहरुलाई कारबाही गरिनुपर्छ । अनि बल्ल रथका दुबै पाङग्रा समान रुपले अगाडि बढ्नेछन् । नत्र त मनपरी ढंगले अनन्त रुपमा यसरी नै कर तिर्ने क्रम चलिरहने हो भने । जनता कर तिरेरै बेहाल र कंगाल हुँदै जानेछ । अनि एक दिन त्यस्तो आउने जब जनतासँग केही बाँकी रहँदैन कर तिर्नका लागि ।