समाजमा र त्यसमा पनि आफ्नै परिवारभित्र अत्यासलाग्दो र अपत्यारिलो घटना घट्न थालेपछि अबका दिनमा पारिवारिक सम्बन्धले कस्तो मोड लिँदैछ भन्ने कुरा बहसमा ल्याइदिएको छ । यसले आफै प्रश्न गरेको छ, ‘के भावनात्मक सम्बन्धले नेटो काट्न थालेकै हो ?’
विषय कोहलपुर–१४ पार्वतीपुरमा एउटै घरपरिवारभित्र घटेको घटनाको हो । मंगलवार बिहान कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरमा मृत अवस्थामा भेटिए । उनीहरूको हत्या मृतक कृष्ण कुमारका दाजु विजय गडरिया र भाउजु रेखा गडरियाले आफ्नै योजनामा गराएका थिए ।
प्रहरी अनुसन्धानमा दम्पत्तीको हत्या पारिवारिक रिसइवीका कारण भएको खुलेपछि यसले सबैको आङ सिरिङ्ग हुने बनाएको छ । अबका दिनमा पारिवारिक भावनात्मक सम्बन्ध कतै समयक्रमसँगै संकटपूर्ण बन्दै गइरहेको त होइन भनेर यसले गम्भीर रूपमा सोच्ने बनाएको छ ।
त्यसमा पनि आफ्नै दाजुभाउजूले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी उनीहरूको हत्या गराउनु झनै सोचनीय विषय हो । सहरीकरण बढेसँगै मानिसमा मानवीय भावनामा केही स्खलन सुरू हुन थालेको नेपाली समाजमा टड्कारो अनुभूत हुँदै गएको साचो हो ।
मानिस जे जसरी हुन्छ, पैसा कमाउने र देखासिकी गर्नेमा अभ्यस्त हुन थालेको छ । धनसम्पत्ति भएमा समाजमा इज्जत त्यसै स्थापित भइहाल्छ भन्ने असामाजिक र अनैतिक सोचले काम गर्न थालेको छ ।
धनसम्पत्ति मानिस बाँच्नका लागि होइन, मानिस बरू धनसम्पत्ति आर्जन गर्नका लागि हो भन्ने चिन्तनले बलियो गरी घर जमाउन थालेको छ । यसले मानिसको सोच थप प्रदुषित बनाएको छ ।
मानवीय भावना र सम्बन्धमा स्खलन आउन थालेपछि यसले व्यक्ति, परिवार र समाज इष्र्या, विद्वेष, घृणालाई मलजल गरिरहेको छ । मायाप्रेम, सामाजिक सदभाव, मेलमिलाप र समझदारीले स्थान पाउन छाडिसकेको छ ।
समाज, घरपरिवारभित्र मनोमालिन्य, झडप र बदलाभावले स्थान लिन थालेको छ । बाँकेका गडरिया दम्पत्तीको पेशेवर हत्याराद्वारा गराइएको हत्याले यही कुरा सतहमा ल्याइदिएको छ ।
समाजमा झैझडा बढ्दै गएको देखिन थालेमो छ । नैतिक शिक्षा ससाना नानीहरूको पढ्ने किताबबाट हटाइएको छ । नैतिक शिक्षा र नैतिकताका बारेमा समाजमा छलफल हुनै छाडेको छ ।
बाँकेमा घटेको घटना एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता घटना संसारभर घटिरहेका छन् । तर नेपाली समाजमा यसले निरन्तरता पाउन थालेपछि यो निकै चिन्ताको विषय बन्न पुगेको छ ।
हत्याको घटना भएपछि मृतकका दाजुभाउजूले नै प्रहरीमा खबर गरेका थिए । आफ्नै योजनामा सहोदर भाइबुहारीको हत्या गराएर आफैले हत्याको खबर प्रहरीलाई दिन जानुले पनि आश्चर्यमा पारेको छ । हत्याको कारण त्यति ठूलो पनि देखिदैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच र विशेषतः देउरानीजेठानीका बीचमा पारिवारिक बेमेल देखिन आएको छ । यस्तो सामान्य असमझदारीमा आखिर यस्तो जघन्य हत्या हुन पुगेको छ ।
यसले आपसी सम्बन्धलाई दुस्मनीपूर्ण बनाएर लगेको देखिएको छ । कोही घर अनि कोही विदेश गएर बाँचेको अवस्थामा आपसी दुरी टाढा हुन जाँदा सद्भावमा खलल आएको देखिन्छ । टाढिदै गएको मनोविज्ञानले यसमा निकै काम गरेको छ ।
हेर्दा झिनामसिना देखिने र आपसीजस्ता लाग्ने घरायसी सम्बन्धहरू पछिल्लो समयमा निकै पेचिला बनेर आएका देखिन्छन् । यसका बारेमा सचेत हुनु र पारिवारिक सम्बन्ध सुमधुर बनाइ राख्नु यस्ता घटनाहरू घट्न नदिने प्रारम्भिक सचेतनात्मक उपायहरू हुन् ।