• असार २० २०८१, बुधबार

गुरिल्ला म्याराथनमा ‘टिनेजर’ युवाको सफलता

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । पूर्वी रूकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे युवा दलबहादुर कुँवर पहिलो भए । उनले दौडमा बाजी मारे । कलिलो उमेरमै उनले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गरे ।

उनको स्फूतिलो कुदाइको प्रशंसा नगर्ने कोही पनि भएन । म्याराथनको ६२ किलोमिटर दूरी उनले ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा पूरा गरे । यसरी दौड्दा उनले आफ्ना १ सय जना प्रतिस्पर्धीलाई पछि पारे ।

जुम्लास्थित कर्णाली स्पोर्ट क्लबमा आबद्ध कुँवरले दौड निकै कठिनाइले भरिएको स्वीकार गरे । तर त्यसै बेला उनले चुनौतीको बीचमा संभावना र मौकाहरू पनि हुने कुरा उजागर गरे ।

महिलाहरूमा जुम्ला कर्णाली स्पोर्टसमा आबद्ध मञ्जु रावत पहिलो भइन् । उनले यो ६२ किलोमिटरको म्याराथन दौड ६ घण्टा, ५६ मिनेट, ३६ सेकेण्डमा पार गरिन् । बाजी मार्दा उनी निकै स्फूर्तिलो र हँसिलो मुडमा थिइन् ।

नेपालका युवाहरू अवसरको खोजीमा छन् । उनीहरू चुनौतीको सामना गर्न तयार छन् । अवसर पाएको खण्डमा कुनै पनि काम गर्न पछि परेको देखिदैनन् । युवाहरू खेलकुदमा मात्र होइन, अन्य अवसरमा पनि तनमनले सहभागी भएका देखिन्छन् ।

देशभित्रै अवसरको खोजीमा रहेका युवाको क्षमता, प्रतिभा, उत्साह र जोश तथा जाँगर स्वदेशमै सदुपयोग गर्न सरकार र सम्बन्धित निकाय समयमै सचेत हुनुपर्छ । सिंगो देश युवाको चाहना र आकांक्षा अभिव्यक्त हुने थलोका रूपमा रुपान्तरित हुनु पर्छ ।

नेपाल आफैमा प्रशस्त संभावना र अवसर रहेको देश हो । यहाँका प्राकृतिक साधनस्रोतले संभावनालाई निकै नजिक बनाउने गरिरहेका छन् । तर त्यसको पहिचान र व्यवहारिक कार्यान्वयनमा सम्बन्धित निकाय समयमै सचेत हुनु पर्छ ।

यही पहिचान र अवसरको अभावमा दैनिक हजारौं युवाहरू विदेशी भूमिमा काम गर्न गइरहेका छन् । विदेशी भूमि नेपालीका लागि दीर्घकालीन र स्थायी श्रम गन्तव्यका रूपमा रहिरहने पनि देखिदैन । केही वर्षपछि आउने यो समस्याको पहिचान र त्यसको समाधानका लागि सरकारले बेलैमा हेक्का राख्नु पर्छ ।

यसका लागि नेपालले परंपरागत उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्नु जरूरी छ । यसका लागि आवश्यक पर्ने नयाँ सोच, श्रम र उत्पादक शक्ति बाहिरिइरहेको हुनाले कृषि, उद्योग तथा स्थानीय सिप र प्रविधिमा आधुनिकता आउन सकिरहेको छैन ।

कृषि, उद्योग, पर्यटन, खेलकूद लगायतका विभिन्न क्षेत्रहरूमा अवसर सिर्जना गरेर समस्या समाधान गर्न सरकार तत्पर हुनै पर्छ । अहिले देश आर्थिक परनिर्भरतामा डुब्दै गएको छ । देश श्रीलंका बन्दैछ भनेर हल्ला चलाइँदै छ ।

यस्तो अवस्थामा रूकुम पूर्वमा आयोजना गरिएको गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे युवाले देखाएको उत्साह र क्षमता स्वदेशमै अवसर सिर्जना गरेर सदुपयोग गर्न र देश उँभो लगाउनतिर राज्यले समयमै ध्यान दिनु पर्छ ।