• मंसिर १३ २०८१, बिहीबार

ककनीमा हैजा संक्रमित बिरामी भेटिएपछि बढ्यो तनाव

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । काठमाडौंमा हैजा संक्रमित बिरामीको संख्या नघटिरहेको र उल्टै बढ्दै गएको अवस्थामा नुवाकोटको ककनीमा हैजाका बिरामी देखिएपछि यसले थप तनाव उत्पन्न गराएको छ ।

असार ५ गतेदेखि काठमाडौंमा देखिएको हैजा संक्रमण अहिले काठमाडौं बाहिर फैलन थालिसकेको छ । उपत्यका बाहिर नुवाकोटको ककनीमा समेत हैजा संक्रमित भेटिएका छन् ।

काठमाडौं र बाहिर गरेर हैजा संक्रमितको संख्या यो वर्ष ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा १४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ८, गोकर्णेश्वरमा २, चन्द्रागिरिमा २ तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा १/१ जनामा हैजा संक्रमण देखिइसकेको छ ।

यसै गरी ललितपुरको ललितपुर महानगरपालिकामा ३ र महालक्ष्मी नगरपालिकामा १ जनामा हैजा पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १/१ जनामा हैजा देखिएको छ ।

नुवाकोटको ककनी गाउँपालिकामा पनि १ जनामा हैजा संक्रमण पुष्टि भएपछि उपत्यकाको हैजा बाहिर फैलन थालेको कुरामा कुनै पनि शंका छैन । हैजाबाट बच्नका लागि पानी राम्रोसँग उमालेर मात्र खान सल्लाह दिइएको छ ।