• मंसिर १३ २०८१, बिहीबार

चीनको ऊहानमा फेरि भेटियो कोरोना, रेल र रेष्टुरेन्ट लगायतका सेवा पुरै बन्द

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । कोरोनाभाइरस पहिलो पटक पहिचान भएको चीनको ऊहान सहरमा पछिल्लो पटक चार जनामा संक्रमण भेटिएको छ । अधिकारीले नियमित परीक्षणको क्रममा सो क्षेत्रमा दुई जनामा संक्रमण भेटेका थिए । त्यसपछि संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा थप दुई जनामा भाइरस भेटिएको थियो ।

संक्रमित भेटिएपछि झण्डै १० लाख मानिसको बसोबास रहेको ऊहानको जियाङसिया जिल्लामा बुधबारदेखि सार्वजनिक भेला, रेस्टुरेन्ट, निश्चित खालका मनोरञ्जन क्षेत्र र कृषि बजारहरु बन्द गरिएको छ ।
जियाङसियाको बस तथा भूमिगत रेल सेवाहरु पनि आगामी तीन दिनको लागि बन्द गरिएको छ ।

प्रशासनले आगामी तीन दिन सो क्षेत्र बसोबास गर्ने मानिसहरुलाई बाहिर ननिस्कन र बाहिरका मानिस त्यहाँ नजान भनेको छ । चीनले कोरोना भाइरसको नियन्त्रणका लागि ‘जिरो कोभिड पोलिसी’ नामक कठोर नीति लागु गरेको छ । यस नीतिअनुरुप कुनै स्थानमा थोरै मानिसमा कोभिड–१९ भेटियो भने आसपासका सम्पूर्ण क्षेत्रलाई सिलबन्दी गर्ने, लकडाउन लागु गर्नेदेखि सो क्षेत्रमा बसोबास गर्ने लाखौं मानिसको परिक्षण गर्ने गरेको छ ।

यस नीतिका कारण चीनमा कोभिड–१९बाट मर्नेको संख्या तुलनात्मक रुपमा कम छ । तर यसले अर्थतन्त्रमा भने ठूलो असर पु¥याइरहेको छ । यही कारण केहीले यो नीति फेर्नुपर्ने बताउन थालेका छन् ।
यस वर्षको दोस्रो त्रैमासिकको चीनको आर्थिक वृद्धि अघिल्लो समयको यही अवधिको भन्दा जम्मा ०.४ प्रतिशतले मात्र बढ्यो, जुन वृद्धि दर महामारी सुरु भए यताकै न्युन हो ।

यस अवधिमा देशको सबैभन्दा ठूलो शहर सांघाई र अन्य विभिन्न शहरहरु अधिकांश समय लकडाउन लागु गरिएको थियो ।