• मंसिर १२ २०८१, बुधबार

शास्त्रीय अतिवादविरूद्ध बुद्धको भद्र विद्रोह

श्रावण ११ २०७९, बुधबार

रानी महामाया शिशु जन्माउन भनी कपिलवस्तुबाट माइतीदेश देवदहतर्फ प्रस्थान गरिन् । लुम्बिनी वनमा पुग्दा उनलाई बेथा लाग्यो । रानी पीडामा अशोक वृक्षको हाँगो समातेर उभिइन् ।

त्यहीँ उनले एउटा दिव्य शिशुलाई जन्म दिइन् । सहायिकाहरूले शिशुलाई मनतातो पानीले नुहाइदिएर नरम रेसमी कपडामा बेरे । अब माइती जानुको प्रयोजन थिएन ।

उनीहरू कपिलवस्तु फर्के । पुत्र प्राप्तिका लागि लामो प्रतीक्षा गरेका राजा सुद्धोदनको इच्छा सिद्ध भयो । उनले बालकतर्फ हेर्दै भनेका थिए, ‘सिद्धार्थ !’ युवराज जन्मेको केही दिनपछि कपिलवस्तु राजप्रासादमा आएका कालदेवल ऋषि नवजात शिशुलाई देख्नासाथ निकै प्रसन्न भए ।

किन्तु ऋषिको त्यो प्रसन्नता धेरैबेर टिकेन । उनी भावुक भएर रून थाले । ऋषि बलिन्द्रधारा रोएको देखेर अत्यन्त हतप्रभ भएका राजाले भने, ‘हे ऋषिवर ! के मेरो पुत्रमा कुनै अपशकुन छ ?’
ऋषिले भने, ‘राजकुमार बत्तीस लक्षणले युक्त छन् । सुरूमा म खुसी भएँ, किनकि तपाईंको घरमा मानव मात्रलाई दुःखबाट मुक्तिको मार्ग देखाउने महामानवको अविर्भाव भएको छ । म रूँदै छु , किनकि यस बालकले मानव जातिलाई सत्यको मार्ग देखाउने बखतसम्म म जीवित रहने छैन ।’

संसारका सबै मातापिता सन्त, महन्त र भिक्षुका प्रशंसक हुन्छन्, परन्तु कोही पनि आफ्नो सन्तान महान सन्त या साधक बनोस् भन्ने चाहँदैनन् । राजा सुद्धोदनलाई पर्नु पीर पर्यो ।

तत्कालीन कपिलवस्तुमा खेती गर्ने समय सुरू हुनुअघि शुभ साइतको रूपमा कर्षण महोत्सव (हलो जोत्ने समारोह) मनाउने परम्परा थियो । सिद्धार्थ सानै थिए ।

राजा, रानी र राजपरिवारका सदस्यहरू कर्मचारी एवं सैनिकहरूलाई सँगै लिएर खेतमा गए । ब्राह्मणहरू वर्षाका देवता ईन्द्रलाई खुसी पार्ने वैदिक मन्त्रहरू पढिरहेका थिए ।

जिज्ञासु सिद्धार्थले आमा प्रजावतीलाई सोधे, ‘आमा यो के गरेको ?’ आमाले स्नेहपूर्वक जवाफ दिइन्, ‘विस्तारै तिमी यी कुराहरू बुझ्दै जानेछौ । यो पुस्तौंदेखि चलिरहेको परम्परा हो ।’

बालक राजकुमारले फेरि सोधे, ‘मेरो पिताले मन्त्र पढ्नु पर्दैन ?’ ‘यो अधिकार ब्राह्मणहरूलाई मात्र प्राप्त छ । ब्राह्मण सबैका पूज्य हुन्छन् ।’ बलिया राँगाहरूले हलो तानिरहेका थिए ।
हलोको डोबमा ससाना कीरा र गंड्यौला निस्किरहेका थिए । ती कीरा र गंड्यौलाहरूलाई ससाना चराहरूले खाइरहेका थिए । एउटा ठूलो चरो आएर कीरा खाने सानो चरोलाई टिपेर आफ्नो आहारा बनायो ।

राजकुमारले आमातर्फ मुखातिब हुँदै भने, ‘ब्राह्मणहरूको मन्त्रपाठले यी ससाना प्राणीलाई कुनै फाइदा भएन ।’ सिद्धार्थले अलि पर उभिएर भयभीत नजरले आफूतर्फ हेरिरहेका बालकहरूलाई देखे ।
चिथरा लुगा, दुब्ला शरीर एवं मटमैला र दयालाग्दा अनुहारहरू । बालक सिद्धार्थलाई आफू सम्पन्न र सुकिलो हुन पाएकोमा लज्जाबोध भयो ।

चौध वर्षको हुँदासम्म सिद्धार्थ इतिहास, भाषाविज्ञान र गणितमा पोख्त भइसकेका थिए । ऋग्वेद र अथर्ववेदमा विशेष दखल थियो । कुस्ती, तरबारबाजी र भारोत्तोलनमा पारङ्गत थिए ।

बाँसुरी बजाउनमा उनको समकक्षी कोही थिएन । उपनिषदको राम्रो अध्ययन र अनुशीलन गरेका थिए । खेलकुद लगायत भाग लिएजति सबै विधामा प्रथम भएका उनले कोलीय राज्यकी राजकुमारी यशोधरा (पछि धर्मपत्नी) बाट एउटा हात्ती पारितोषिक पाएका थिए ।
‘ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ।।’

ऋग्वेदको यो मन्त्रबारे उनले गुरूहरूसँग अनेकौं प्रश्न गरेका थिए । चलिरहेका परम्परा, धर्म, पूजाविधि र कुरीति सम्बन्धमा प्रश्नै प्रश्नले हैरान पार्दथे सिद्धार्थ ।
झण्डै त्यही कालखण्डमा युरोपमा सुकरातले युवाहरूलाई हरेक सन्देहास्पद कुरामा प्रश्न गर्न र जाँच परख गरेर मात्र विश्वास गर्न उत्प्रेरित गर्दै थिए ।

सिद्धार्थ साधारण वस्त्र पहिरेर गाउँतिर घुम्न जान्थे । सर्वसाधारण प्रजामाथि ब्राह्मणहरूको प्रभुत्व थियो । जन्म, विवाह र मृत्यु संस्कारका विधि पूरा गर्न साह्रै कठिन थियो ।

गरिबहरूलाई पूर्वजन्ममा अनुचित कर्म गरेको हुँदा यो जन्ममा अकिञ्चन हुनु परेको र यो जन्ममा पनि त्यस्तै कर्म गरे अर्को जन्ममा फेरि दरिद्र र नीच योनीमा जन्मनु पर्नेछ भनेर विश्वस्त तुल्याइएको थियो ।

कर्मकाण्डका अनेकौं विधिको पालना गर्दा हैरान र लखतरान थियो सारा समाज । समग्र ब्राह्मण समुदाय पथभ्रष्ट र स्वार्थी तत्त्वमा परिणत भएको थियो । पुरोहितहरूलाई पैसा र अन्न दिएर मात्र सन्तुष्ट पार्न कठिन थियो ।
वैदिक रीति पूरा गरेर चोख्याइदिए बापत ब्राह्मणहरूकहाँ मजदुरी गर्न जानुपथ्र्यो । गरिब प्रजाहरू कहिल्यै टाउको उठाउन नसक्ने अवस्थामा थिए ।
एक दिनको कुरा हो ।

गाउँतिर घुम्दै जाँदा सिद्धार्थले एउटा घरको आँगनमा मानिसहरू रोइरहेको देखे । दुब्ला पातला र हेर्दै टिठलाग्दा दरिद्र हातहरू एक जना पुरोहितलाई पुकारा गर्दै नमस्कार मुद्रामा उठिरहेका थिए ।

किसानको बाबु मरेको हुँदा उसको परिवार आशौचमा थियो । आशौच फुकाउन पुरोहितले मन्त्र पढ्नु आवश्यक थियो । अन्तिममा केही सीप नलागेर पुरोहितको बारीमा रहेका ढुङ्गा फुटालिदिने र निश्चित परिमाणमा दाउरा चिरिदिने सर्तमा किसान चोखियो ।

गरिब किसान चोखिन त चोखियो, तर उसको त्यही पुरोहितकहाँ काम गर्दागर्दै देहान्त भयो । किशोर सिद्धार्थ आफ्नो अधिराज्यभित्रका तमाम गाउँहरूमा घुमे ।
रोहिणी र वाणगङ्गा नदी अधिराज्यका वरदान थिए । धान, गहुँ र जौको प्रशस्त खेती हुन्थ्यो । परन्तु त्यो उत्पादनको ठूलो भाग बसिबसी खानेहरूकहाँ पुग्दथ्यो । समाज अन्धविश्वासले ग्रस्त थियो ।

शिशिरको ठण्डीमा मानिसहरू पूर्वजन्म र वर्तमानको पाप पखाल्ने उद्देश्यले वाणगङ्गामा स्नान गर्न जान्थे । एक दिन सिद्धार्थले आफ्ना सारथी छन्दकलाई सोधेका थिए, ‘यसरी नुहाएर पाप पखालिन्छ होला ?’
छन्दकको जवाफ थियो, ‘पाप पखालिने भएरै त हजारौं मानिसहरू यस्तो ठण्डीमा नुहाउन आएका होलान् ।’ जन्म जन्मान्तरको सञ्चित पाप पखालेर पवित्र हुने कति सजिलो उपाय ! सिद्धार्थ विस्मित भए ।

साधारण प्रजाका ससाना सन्ततिहरू भोक र रोगले ग्रस्त थिए । आँखा पाक्ने रोग र रूघाखोकी साधारण मानिन्थे । जुका परेका र कुपोषणले आक्रान्त बालबालिकाहरूका तिघ्रा मसिना र पेट ठूला देखिन्थे ।

एक दम्पतीका दस बाह्र जना केटाकेटी, त्यसमाथि चरम दरिद्रता । मागेर खान अभिशप्त चाण्डाल भनिने अछूत जातिका सन्तान एवं अपाङ्ग र परित्यक्तहरूको संख्या ठूलो थियो । गुहार माग्ने ठाउँ कतै थिएन ।
राजाको द्वारमा पुगेर हात फैलाए पनि राहत पाउने कुनै सम्भावना थिएन । शासन र प्रशासन भ्रष्ट थियो । राजा लाचार थिए । जनताको यस्तो बेहाल थियो ।

उता सम्भ्रान्त परिवारका निवास र राजमहलमा भने बराबर भोजभतेर र मनोरञ्जनका कार्यक्रमहरू आयोजना भइरन्थे । किमती उपहार आदानप्रदान हुन्थे । पाहुनालाई मिठो सङ्गीतले स्वागत गरिन्थ्यो । धन हुनेले वाराणसीबाट आयात गरेका लुगा, जुत्ता र गहना लाउँथे ।

सिद्धार्थ साधु, सन्यासी र जोगीहरूलाई भेट्थे । सन्न्यासीहरू विरक्त थिए, तर मानव कल्याणको मार्गबारे पूर्णतः अनभिज्ञ । युवराजको यस्तो प्रवृत्ति देखेर राजा निराश थिए ।

राजालाई युवराजको विवाह गरिदिन पाए यिनको मन संसारी विषयभोगमा प्रवृत्त हुन्थ्यो कि भन्ने सुझाव प्राप्त भयो । राजा सुद्धोदनकी बहिनी प्रमिताको विवाह कोलीय राजा दण्डपाणिसँग भएको थियो ।

सिद्धार्थको विवाह तिनै फुपुकी छोरीसँग धुमधामले भयो । कपिलवस्तुका सडक झण्डा र फूलमालाले झकिझकाउ भए । नवदम्पतीको ऋतु अनुसार निवासका लागि एउटा ‘समर प्यालेस’ पहाडी इलाकामा र दुई ओटा महल तराइमा बने ।
दरबारमा काम गर्ने सारा भारदार भ्रष्ट थिए । सबैलाई आफ्नो सम्पत्ति र पदको मात्र चिन्ता थियो । राजा सुद्धोदन भ्रष्ट भारदारको अगाडि सम्मानित कैदी जस्तै लाचार थिए ।

त्यो सबै देखेर सिद्धार्थले मनमनै सोचे, जबसम्म शासक र प्रशासकहरूको मनमा शक्ति, सत्ता र सम्पदाको आसक्ति रहन्छ, तबसम्म लोककल्याणका खातिर केही काम हुन सक्दैन ।

राजा बनेर पिता जस्तो विवश हुनुभन्दा मानिसहरूको सोचमै परिवर्तन ल्याउने अभियानमा लाग्नु उपयुक्त छ । सिद्धार्थ र यशोधराले प्रजाको दुःखका घाउमा मलम लगाउने भरसक प्रयत्न गर्दथे, तर त्यो स्थायी समाधान थिएन ।

समाज रोग, गरिबी, रूढिवाद र अन्धविश्वासका साथै मानसिक दरिद्रताले समेत आक्रान्त थियो । प्रजाहरू त दुःखी र दरिद्र थिए नै, अपितु राजा, रानी, भाइभारदार र साहुमहाजन समेत कुनै न कुनै कारणले दरिद्र थिए ।
कोही शक्तिका लागि आपसी षड्यन्त्रले, कोही वैवाहिक जीवनको समस्याले, कोही कारोबारी कारणले र कोही इर्ष्या, द्वेष, क्रोध, लोभ, बुढापा, रोग र मृत्युको कारण दुःखी थिए ।

सिद्धार्थले दरबारी दाउपेच र षड्यन्त्र देखे । भ्रष्ट अफिसर र राजसेवकहरूको बेइमानी एवं निर्दयी र करूणाहीन मानसिकताले भरिएको राजकाज देखे । एक दिन राजाले राजकुमारलाई भने, ‘किन केही बोल्दैनौ ? किन चुप मात्र लागिरहन्छौ ?’

सिद्धार्थले भनेका थिए, ‘म केही नबुझेर चुप लागेको होइन । यी सरकारी मानिसहरू समस्या खडा गरेर राजालाई तर्साउने काम मात्र गर्दछन् । राजकाजको यो स्वार्थी चक्रव्यूह तोड्न सहज छैन ।’

पितालाई बुद्धिमान युवराजले आफूले भन्दा सक्षम तरिकाले राजकाज चलाउलान् भन्ने आशा थियो । तर युवराजको भनाइ थियो, ‘मेरा लागि राजगद्दीमा बस्नु भनेको आगोको ज्वालामाथि बस्नु सरह हो ।

म मुक्तिको मार्गको खोजीमा जानेछु । म यो राज्य र राज्यको सीमाबाहिर बस्ने समस्त मानव जातिको कल्याणको उपाय खोज्न चाहन्छु । म मनुष्यको हृदय परिवर्तन गराई पवित्र तुल्याउने मार्गको खोजीमा प्रस्थान गर्नेछु ।’

एक दिन युवराज्ञी यशोधरालाई प्रसव वेदना भयो । दरबारमा सबैजना शिशुको आगमनको व्यग्र प्रतीक्षामा थिए । सिद्धार्थलाई नवयुवारजको जन्म भएको शुभ समाचार सुनाइयो । पुत्र प्राप्तिको खबर सुन्नासाथ सिद्धार्थले भनेका थिए, ‘राहुल !’