• मंसिर १२ २०८१, बुधबार

आपूर्ति शाखाका प्रमुख चौरसियालाई लाग्यो भ्रष्टाचारको आरोप, मन्त्रीले काटे पत्र

श्रावण १० २०७९, मंगलवार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि आज पत्र काटेका छन् ।

औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा. चौरसियालाई पत्र काटिएको हो ।

पत्रमा चौरसियाले रु १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, रु ५० लाखको लेनदेनको सरुवा गरेको, रु पाँच करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।