काठमाडौं । नेपाल अहिले कोरोना माहामारीको चौथो लहरबाट आक्रान्त हुँदै गएको छ । कोरोना संक्रमित विरामीहरू दिनप्रतिदिन बढिरहेका छन् । अस्पताल धाउनेहरूको संख्यामा पनि निकै बृद्धि हुन गएको छ ।
संक्रमित विरामीको चाप बढ्दै जाँदा स्वास्थ्यविद तथा विशेषज्ञहरूले सचेतता अपनाउन पटक पटक चेतानवनी दिइरहेका छन् । तर पनि सर्वसाधरणको बीचमा पालना गरिनु पर्ने मापदण्ड उचित रूपमा पालना गरेको देखिएको छैन ।
यसपालाको महामारी संक्रमण गाउँगाउँमा फैलिइरहेको छ । पहिलेको जस्तो सहरी क्षेत्रमा देखिने, संक्रमितको संख्या घना वस्तीमा बढी भेटिने र मानिसको घुलमिल र भेटघाटले बढाउने जस्ता सुरूसुरूका संकेत भन्दा पनि गाउँ सहरमा ह्वार्रै एकैपटक फैलिएकोजस्तो देखा परेको छ ।
यस्तो संकेतले यस पटकको लहर पहिलेको भन्दा बढी खतरनाक देखिएको छ । तर पनि जनसाधरणका बीचमा चौथो लहरप्रतिको सचेतना अभियान अघि बढेको देखिदैन । सरकार तथा सम्बन्धित संघ/संस्थाहरू पहिलेको जस्तो तत्परता पनि देखिएको छैन ।
सर्वसाधरण जनता मात्र होइन, सचेत नागरिक र संसदहरू पनि कोरोना महामारीको चौथो लहरबाट त्यति त्रसित भएको देखिदैन । संसद भवनभित्रै सांसदहरूले विना मास्क उपस्थित हुने प्रक्रिया जारी राखेपछि सभामुखले मास्क लगाउन रूलिङ/अनुरोध गर्नु परेको छ ।
साबुन पानीले हात धुने प्रक्रिया बानीको रूपमा थालनी भए पनि स्यानीटाइजरको प्रयोग, दुरी कायम गर्ने प्रक्रिया, भिडभाडमा कमी तथा मास्कको अनिवार्य प्रयोगमा भने खासै ध्यान गएको देखिदैन ।
यसले कोरोना संक्रमणको चौथो लहरले कतै बढी क्षति पुर्याउने त होइन भन्ने आशंका उब्जने ठाउँमा पुर्याएको छ । त्यसैले महामारी रोकथामको मापदण्ड संयमतापूर्वक पालना गरौं ।