• असार २५ २०८१, सोमबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा राज्यमन्त्री केसीको छड्के नजरले काम गर्ला ?

श्रावण १० २०७९, मंगलवार

घोराही १०, साउन ।
स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले गाडीबाट ओर्लने बित्तिकै अस्पतालको ठूलो भवनतिर नजर लगाउनुभयो । हत्केलाले घाम छेल्दै निकै ध्यानले हुर्नुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी पाएपछि पहिलो पटक गत असार २६ गते केसी यहाँ आउनुभएको थियो । गेटभित्र प्रवेश गरेपछि उहाँ सवार गाडी इमर्जेन्सी कक्ष अगाडि रोकियो । ओर्लने बित्तिकै सहकुलपति केसीको नजर भवनतिर सोझियो । केही महिना अघि आउनुभएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ‘प्रतिष्ठान यहीँ छ र, म त भालुबाङ होला भन्ने सोचेको थिएँ’ भन्नुभएको थियो ।

उहाँले आफ्नो पार्टीको जिम्मामा मन्त्रालय आएकाले विशेष महत्व दिने बताउनुभएको थियो । यतिबेला सहकुलपति तोकिनुले मेल खान्छ । नयाँ भवनमा सर्न लागेको इमर्जेन्सी र त्यहाँ प्रवेश निकासको गेटसम्मै उपकुलपति डा. विकास लामिछानेले जानकारी गराउनुभयो । जहाँ जहाँको डा. लामिछानेले व्याख्या गर्नुहुन्थ्यो त्यहाँ केसीले ध्यान दिएर सुन्नुभयो । थप प्रष्ट हुने प्रयास गर्नुहुन्थ्यो ।

‘सामान्य भिजिट गरेको हो’ उहाँको प्रतिकृया थियो, ‘छोटो समयमा धेरै आवश्यकता पुरा गर्नुछ, गम्भिरतापूर्वक लिएको छु ।’ उहाँको भनाई जस्तै अवलोकनको प्रकृति थियो । उहाँले बजेट कुन शिर्षकमा कसरी राखिन्छदेखि सबैकुरा जानकारी राखेको बताउनुभयो । प्रकृया मिलाउनमा रजिष्ट्रार प्रकाश थापाले निकै सहयोग गर्नुभएको छ ।

यति बेला तिन अर्ब रकम हुने हो भने आधारभूत भवनहरु तयार हुनसक्ने प्रतिष्ठान प्रशासनले जानकारी गराएको छ । त्यसो भयो भने घोराही–१८ नवलपुरको जग्गामा पनि भवन बन्ने छ । हालको प्रतिष्ठान रहेको पूर्वतिर पनि एउटा भवन बन्ने छ । तत्काल आवश्यक भवनहरु त्यति रकमबाट बनाउन सकिने जवाफ दिइएको छ । अस्पतालको निजी वार्डमा पनि मन्त्री केसी पुग्नुभयो ।

गाउन लगाएर भित्र पुगेका उहाँले उपचार गराई रहेका विरामीको वेड तथा वरपरको वातावरण नियाल्न समय खर्चिनुभयो । त्यहीँ उपकुलपति लामिछाने, रजिष्ट्रार थापासँग छलफल चलाउनुभयो । उपचाररत विरामीका आफन्तले भेट गरे, उनीहरुलाई सेवा सुविधा कस्तो लागेको छ : भनेर केसीले सोध्नुभयो । उनीहरुले उपचारबाट सन्तुष्ट रहेको जवाफ दिए । सुरक्षाकर्मीको उत्ताउलो चाकडी र कार्यकर्ताको उग्र तडकभडक अवलोकन अवधिभर थिएन ।

राज्यमन्त्री केसीलाई अत्याउने र यता र उता डोर्याउने पनि थिएनन् । मनमर्जी समय खर्चिनुभयो । आफूलाई चाहिने जति सूचना संकलन तथा अवस्थाको जानकारी लिनुभयो । प्रतिष्ठानका पदाधिकारीसँगको भलाकुसारी निकै सौहाद्र्ध थियो । अस्पताल निर्देशक डा. प्रज्ञासिंह बस्नेत र मेडिकल डाइरेक्टर डा. रमेश कंडेलले वार्डवार्डमा पुग्दा व्याख्या गर्नुहुन्थ्यो । मन्त्री केसीले निकै चासो दिएर सुन्नुहुन्थ्यो । आगामी शैक्षिक शत्रदेखि पढाई सञ्चालन हुनेगरी लेक्चरल हल तयार गरिएका छन् । त्यहाँ कुर्सी, रोष्टम, ह्वाईट बोर्ड लगायत सबै पूर्वाधार छन् ।

मानव कंकाल देखाउने डलहरु राखेर प्रयोगशाला तयार पारिएको छ । विज्ञान शाला, प्रयोगशाला र पुस्तकालय बनाइएको छ । अनुमति नपाएकाले मात्रै अड्किएको प्रशासनले जनाएको छ । अन्तमा सहकुलपति राज्यमन्त्री केसी, उपकुलपति डा. लामिछाने र रजिष्ट्रार थापा गरि तिन जनाले पनि छलफल गर्नुभयो । अहिले सम्म रजिष्ट्रार थापाले आफ्नै सम्झिएर काम गर्नुभएको छ । उपकुलपति स्थानीय हुनुहुन्छ । राज्यमन्त्री केसीलाई पहिलो अवसर प्राप्त भएको छ । यो संजोगको प्रतिफल गज्जबको प्राप्त हुने छनक देखिएको छ ।