• मंसिर ११ २०८१, मंगलवार

तपाईं नेपाली चलन अनुसार जन्मदिन मनाउनु हुन्छ की विदेशी चलन अनुसार ? यस्तो छ नेवारी समुदायमा जन्मदिन मनाउने चलन

श्रावण ८ २०७९, आईतवार

नेवारी परम्परा अनुसार जन्मदिन मनाउने तरिका अरू समुदायको भन्दा भिन्न रहेको छ । चन्द्रमासमा आउने तिथि अनुसार जन्मदिन मनाइन्छ । खासगरी बालबच्चाको जन्मदिन मनाउने गरिन्छ ।
भोलिजसो जन्मदिन परेको छ भने आज नै एक पाथीजति चामल घट्टमा लगिन्छ र पिठो पिसेर ल्याइन्छ । सो पिठोलाई भिजाएर राखिन्छ । बिहान सबेरै उठेर भान्सा वरपर लिपपोत गरिन्छ ।

भिजाएर राखिएको पिठोबाट रोटी पकाइन्छ । साही पिठोबाट दुईतिर चुच्चो भएको लोंचामारी पकाइन्छ । पिठोबाट मान्छेको आकारको चित्र पनि बनाउने गरिन्छ ।
पिठोबाट बनाइएको सो मान्छेको मास वा मरिचको आँखा पनि बनाइन्छ । टाउको, खुट्टा, हात सहितका मानिसका जोडी राखिन्छ ।

नेवारी संस्कारमा दही अनिवार्य भएकाले त्यसको जोहो गरिएको हुन्छ । चिउरा पनि ल्याइएको हुन्छ । अण्डा पनि उसिनिएको हुन्छ ।
‘खें सकन’ भन्ने दिनुपर्दछ । त्यसका लागि उसिनेको अण्डालाई भुट्छन् । लसुनको पोटी र अदुवा पनि भुटिएको हुन्छ । मासु पनि चाहिन्छ ।

यी सबै पूजाका सामग्रीहरू तयार गरिसकेपछि जसको जन्मदिन मनाउने हो ऊ पूर्व फर्केर बसेको हुन्छ । घरको मुली मान्छे वा नेवारी भाषामा (नायो) पनि त्यहिँनेर रहेका हुन्छन् ।

नायोले सुकुन्दा अर्थात् बत्ति बाल्ने दियो बालेर पूजा थाल्छन् । सोही दियोमा टीका लगाइदिन्छन्, फूल र नैवेद्य चढाउँछन् ।
यति भइसकेपछि साल अथवा अरू कुनैको पात ल्याइएको हुन्छ । पातमा पानी छर्केर पवित्र गराइसकेपछि ५ वटा देवताहरू पञ्चायन, गणेश, कुमार, ब्रह्मा, विष्णु र महेश्वरका मूर्तिहरू ल्याइएका हुन्छन् ।
यी ५ वटा देवतामध्ये कतै गणेशलाई प्रमुख मानिएको हुन्छ भने कतै कसैलाई । बुद्धमार्गीहरूले बुद्धलाई प्रमुख मानेका हुन्छन् ।

यसका आआफ्नै प्रसंगहरू छन् । पाँचथरीका टीका पनि तयार पारिएका हुन्छन् । सबैभन्दा पहिले पहेंलो टीका लगाइन्छ ।
त्यसपछि रातो टीका लगाइदिने गरिन्छ र विस्तारै चामलको टीका पनि ती सबै देवताहरूलाई लगादिन्छन् । अब ती सबै देवताका मूर्तिहरूमा फूलहरू चढाइन्छ ।
अनि जनैजस्तै जजंका ती छवटै देवताका अगाडि राखिन्छ । त्यसलाई नैवेद्य पनि खुवाइन्छ । अण्डाका टुक्राहरू पनि दिइन्छ ।

यसरी पाञ्चायन देवताहरूलाई फूल तथा अक्षताहरूले पूजा गरिन्छ । जन्मदिन मनाउने मानिस, (नायो) घरमुली, नक्कु अर्थात् घरमुलीको श्रीमती र परिवारका अन्य सदस्यगरी सबैले ती देवताको पूजा गर्दछन् ।
नायो र नक्कुलाई खस भाषामा बाजेबज्यै पनि भनिन्छ । अनि सबैले जसको जन्मदिन मनाइएको हो, उसलाई आशिष दिन्छन् ।

आशिष दिँदा खासगरी आयु लामो हवस्, भनेको कुरा पुगोस्, प्रगति गरोस् भन्ने चलन रहेको छ । अघि तयार गरी पूजा गरिएका पूजा सामग्रीहरू सहित घरको बज्यै वा नक्कुले जन्मदिन मनाउनेलाई टीका लगाइदिनुहुन्छ ।
टीका लगाउनु भन्दा पहिला जन्मदिन मनाउने नाती वा नातिनीलाई जलले पवित्र गर्नुपर्दछ । अनि पहेंलो र रातो टीका निधारमा लगाइदिनुहुन्छ ।

पैसाको ढ्याक पनि निधारमा लगाइदिनुहुन्छ । फूल चढाएर पूजा पनि गर्नुहुन्छ । र यसरी जन्मदिन मनाइसकेपछि जसको जन्मदिन मनाइएको हो, उसलाई खाने कुरा दिने चलन रहेको छ ।
अण्डा, रक्सी, मासजस्ता चिजहरू राखेर दिने चलन रहेको छ । यसरी दिइएको खानेकुरा जन्मदिन मनाउनेले खानु पर्दछ ।
यसरी पूजा गर्दै खाने समयसम्म आउँदा सकेसम्म अरूलाई खुवाएर मात्रै आफूले खानु पर्दछ भन्ने हुन्छ ।
सोही अनुसार तयार पारिएका खाने परिकारहरू जन्मदिन मनाइएको मानिसलाई छुवाएर एकजना मानिस जो भएपनि आँगनमा ल्याएर आउँछन् ।

अनि ती मानिसले कराएर ‘ओ, मचाचं धौबजी कवा’ अर्थात् ‘ओ बालबालिकाहरू हो दहीचिउरा खान आऊ !’ भन्छन् ।
अनि टोलका सबै बच्चाहरू हानथाप गर्दै आउँछन् र ती परिकारहरू खान्छन् । त्यसरी बालबच्चाहरूले ती परिकारहरू खानुलाई पवित्र मानिन्छ ।

अनि ती मानिस पूजास्थलमा आएर अन्य बुढापाकाहरूलाई पनि परिकारहरू बाँडेर दिने र सबैले खाने चलन रहिआएको छ ।

अनि कुचोले पूजास्थल बढारेर सफा गरेको संकेत गरिन्छ । यसरी कुचोले बढारेको जस्तै गरी संकेत गरेपछि सो पूजास्थल सफा गरेको मानिन्छ ।

जन्मदिन मनाइएको बालक वा बालिका पूजास्थलबाट उठ्न मिल्छ, नत्र त्यतिञ्जेल उठ्न मिल्दैन भन्ने भनाइ रहेको छ ।
कुचोले त्यसरी संकेत गर्नु भनेको पूजा समाप्त भइसक्यो भन्ने संकेत हो । यसरी नेवारी समुदायमा मानिसको जन्मदिन मनाइन्छ ।

यो चलन अरू समुदायमा छैन वा अलि फरक तरिकाको छ । नेवारी समुदायमा पहिला पहिला महिलाको जन्मदिन नमनाउने गरेको पनि पाइन्छ ।

तर बच्चा छँदा भने महिलाको पनि जन्मदिन मनाउने र ठूलो भएपछि नमनाउने गरेको इतिहास रहेको छ ।
शिक्षाको विकास कम भएको सो समयमा जन्मदिन नै थाह नहुने भएकाले पनि महिलाको जन्मदिन नमनाउने गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । या, महिलाको सामाजिक अवस्थालाई समाजमा खासै महत्व नदिइएको पो हो कि भन्ने तर्क पनि गर्न सकिन्छ ।

जन्मदिन मनाउँदा योमरी बनाएर माला लगाइदिने चलन पनि रहिआएको छ । २ वर्ष बिराएर जन्मदिन मनाउने र २ वटा योमरीको माला लगाइदिने चलन पनि रहिआएको छ ।

योमरी र फूल राखेर माला बनाउने चलन रहेको छ । जन्मदिन बिजोडी नभई जोडी वर्षहरूमा मनाउने चनल रहेको छ ।
जति वर्षको फरकमा जन्मदिन मनाउने हो त्यति नै वटा योमरी र फूलको माला बनाएर लगाइदिने गरिन्छ ।
त्यसरी लगाइदिएको माला २ दिनसम्म राख्नु पर्ने चलन भएपनि बच्चाहरूले कोही खाएर त कोही फालेर सिध्याउने गर्दछन् ।

जन्मदिन मनाउनुका कारण वा अर्थहरू विभिन्न होलान् तर पात्रो हेरेर तिथिअनुसार गरिने भएकाले उसको वर्षभरिको कामकार्यमा बाधा अड्चन नआवस् वा उसलाई शुभ होस् भनेर पनि मनाइएको हुनसक्छ ।
अहिले आएर बूढापाकाहरूको जन्मदिन मनाउने बेला रूद्री गर्ने चलन पनि रहेको छ । रूद्री गर्दा नेवारी बाहुन वा हिन्दु पण्डित पनि राख्न सकिन्छ ।

जसलाई राखेर पूजा गरेपनि पूजाको विधि भने एउटै हो । खासगरी नेवारी समुदायमा जन्मदिन मनाउँदा विहानमा कार्य गरिन्छ । पूजापाठसँगै खानपिन पनि गरिन्छ र कार्य सकिन्छ । हाल नेपालमा मनाइने केक काटेर मनाइने जन्मदिन चाहिँ आधुनिक तरिकाको हो । यो नेपाली चलन होइन ।

विदेशबाट सिको गरिएको तरिका हो । आजभोलि रातीमा खाएर र रमाइलो गरेर जन्मदिन मनाउने गरिन्छ । यसरी नेपाली र विदेशी जन्मदिन मनाउने तरिकामा फरक छुट्याउन सकिन्छ ।
आजभोलि नेपालीले आफ्नो जन्मदिन मनाउने चलन छोड्दै गएर विदेशीको सिको गरेका छन् यो राम्रो होइन । यसले नेपाली संस्कारहरू लोप हुँदै गएको छ ।

विदेशी संस्कार स्थापित हुँदै गएको छ । यसैगरी आफ्नो संस्कार छोड्दै जाने र अर्काको सिको गर्दै गएमा कालान्तरमा नेपालीको संस्कृतिको अस्तित्व नै मेटिने खतरा रहेको छ । बरू नेवारी संस्कार अनुसार जन्मदिन मनाउँदा आवश्यक पर्ने परिकारहरू केक जस्तै गरी किन्न पाइने वा सजिलै बनाउन सकिने भएको भए यो परम्परा लोप हुने थिएन होला ।

नेपालमा पनि अन्य समुदायका मानिसले मनाउने जन्मदिन फरक तरिकाको होला । त्यसलाई पनि उनीहरूले विभिन्न तरिकाले स्थापित गर्दै जानुपर्दछ ।

नेपालमा अन्य समुदायका जन्मदिन मनाउने तरिका र त्यसमा प्रयोग हुने परिकारहरू पनि लोप हुँदै गएका छन् ।
किनकि नेपालीहरूले आफ्नो परिकारहरूलाई ट्रेडमार्क बनाउन सकेनौं । आफ्नै मालको ट्रेडमार्क नबनाएको हुनाले हामीले हाम्रो जन्मदिन मनाउँदा बजारमा जे छ, त्यही अथवा अरूले तयार पारेर पठाइदिएको वस्तु प्रयोग गर्नुपर्ने बाध्यता रहेको हो ।

बजारमा त हाम्रो होइन विदेशीले पठाएको वस्तु छ । त्यसकारण अब नेपालीहरू अलि फरक तरिकाले सोंचेर आफू आत्मनिर्भर बन्नेतिर लाग्नु पर्दछ ।

नत्र हामी आफूले मनाउने विभिन्न किसिमका चाडपर्वहरू मनाउँदा चाहिने वस्तु किन्दा नेपाली पैसा विदेशिने चलन रोकिने छैन ।