‘चुह्लोमा आगो बालेर काम सकिएपछि निभाउन नै बिर्सनुभएकाले झन्डै आगलागी भएन’, ‘शौचालयमा जाने बाटो नै भुल्नुभयो’ जस्ता अनेकन कुराहरू जेष्ठ नागरिकहरूलाई देखाएर गर्ने गरेको हामीले सुन्दै, देख्दै र भोग्दै आएका छौं ।
जेष्ठ नागरिकका यस्ता समस्याबारे हामीमा पर्याप्त जानकारी छैन । यसो किन हुन्छ ? यसलाई रोक्न सकिन्छ कि सकिदैन ? ज्येष्ठ नागरिकको राम्रो हेरचाह हुन सक्छ कि सक्दैन ?
ज्येष्ठ नागरिकमा देखिने यो रोगलाई डिमेन्सिया भनिन्छ । डिमेन्सिया कुनै खास रोग त होइन तर यो सम्झने, सोच्ने वा निर्णय गर्ने क्षमतामा ह्रास आउने समस्या भने हो । अक्सर मस्तिष्कपक्षघातका कारण हुने डिमेन्सिया निको नहुने खालको हुन्छ ।
औषधिको नकारात्मक असर, अत्याधिक रक्सी सेवन गर्ने बानी, भिटामिन बी–१, भिटामिन बी–६, भिटामिन बी–१२ र भिटामिन डीको कमी, तथा थाइरोइडको समस्याले पनि यो रोगलाई निको हुन नदिइरहेको हुन्छ ।
यो रोग ६५ वर्ष वा माथिका उमेरका व्यक्तिहरूलाई हुने गर्दछ । यो वंशानुगत पनि हुन्छ । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धुम्रपानको लत हुने र टाउकोमा चोटपटक लागेका व्यक्तिमा डिमेन्सिया हुने संभावना बढी हुन्छ ।
डिमेन्सियाले जेष्ठ नागरिकलाई बढी पछ्याउँछ । तर पनि यो विभिन्न उमेर अवस्थाका व्यक्तिमा पनि देखा परिरहेको हुन्छ । बुढ्यौलीमा भने यसको रोकथाम गर्न सकिने संभावना कम हुन्छ ।
हरेक व्यक्ति आफ्नो जवानी कालदेखि नै आफ्नो स्वास्थ्यप्रति सचेतहुँदै आएमा यसको संभावनालाई टार्न सकिन्छ । यसका लागि जीवनशैली परिवर्तन गर्नु जरूरी हुन्छ ।
डिमेन्सिया विश्वमा मानिसको मृत्यु हुने कारकमध्ये सातौं प्रमुख कारकमा रहने गरेको छ । यसले जेष्ठ नागरिकमा अपाङ्गता र परनिर्भरताका समस्या निम्त्याउने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा ५.५ करोड भन्दा बढी मानिसहरू डिमेन्सियाबाट पीडित छन् । साथै, हरेक वर्ष १ करोड नयाँ केसहरू थपिने गरिरहेको छ ।
डिमेन्सियाले मानव जीवनमा धेरै सहायक प्रभावहरू पार्छ । शारीरिक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक प्रभाव दैनिक देखिने प्रभावहरू हुन् । डिमेन्सियाले पीडितलाई मात्र असर नगरेर हेरचाहकर्ता, परिवार र समाजलाई पनि असर पारिरहेको हुन्छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा अल्जाइमर रोग र डिमेन्सियाबाट हुने मृत्यु कूल जनसंख्याको १.२६% प्रतिशत पुगेको छ । नेपाल अहिले विश्वमा १४५ औं स्थानमा छ ।
नेपालमा २०४ जना जेष्ठ नागरिकहरूमध्ये ११.४ प्रतिशत जेष्ठ नागरिकहरूलाई डिमेन्सिया भएको देखाएको छ । काठमाडौंस्थित वृद्धाश्रमहरूमा बसोबास गरिरहेका ३०४ जना जेष्ठ नागरिकहरूमध्ये ७६.६५ प्रतिशत जेष्ठ नागरिकहरूमा डिमेन्सियाका लक्षणहरू देखिएको पाइएको छ ।
यसले गर्दा पनि हामीहरूले डिमेन्सियाको रोकथाम र डिमेन्सिया भएका व्यक्तिहरूको हेरचाहको बारेमा चेतना बृद्धि गर्न र ज्ञान हासिल गर्नु आवश्यक छ । व्यक्तिगत, संस्थागत र राष्ट्रिय स्तरबाट नै रोकथाम र हेरचाहका लागि रणनीतिहरू बनाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ ।
नेपालमा डिमेन्सियासँग सम्बन्धित अनुसन्धानहरू गरिनु जरूरी छ । नेपालमा कति जनसंख्याहरू डिमेन्सियाबाट प्रभावित छन् र के के कारणले डिमेन्सियाको संख्यात्मक वृद्धि भइरहेको छ ? अनुसन्धान पछि मात्र राष्ट्रिय नीति र रणनीति तर्जुमा गर्न सहयोग पुग्ने देखिन्छ ।
यो रोग लागेपछि परिचित ठाउँहरू वा सामान्य ठाउँमा हराउने, धेरै छोटो अवधिमा आफ्नो विचार वा प्रश्नहरू दोहो¥याउने, सही शब्दहरू चयन गरेर बोल्ने वा प्रतिक्रिया दिन सक्ने क्षमतामा सिमितता वा कमी आउने, यद्यपि टाउको हल्लाउने, मुस्कुराउने, आवाज निकाल्ने आदि गर्न सक्छन् ।
डिमेन्सियाले च्यापेमा हिँड्ने क्षमता गुमाउने र व्यक्तिलाई सार्न वा स्थान बदल्न सहयोग चाहिने हुन्छ । साथै, सम्झने र निर्णय गर्ने क्षमतामा कमी आउने, दाँत माझ्ने, टिभीको रिमोट प्रयोग गर्ने, खाना पकाउने, कफी बनाउने, बिल तिर्ने जस्ता दैनिक जटिल कार्यहरू गर्ने क्षमतामा ह्रास आउने हुन जान्छ ।
यस अतिरिक्त हिँड्न, कपाल कोर्न, शौचालय जान, नुहाउन, खान, निल्न अरूको सहयोग चाहिन्छ । निद्राको ढाँचामा परिवर्तन हुन्छ । तर्कसंगत सोचको क्षमतामा कमी आउँछ, बिना काम घुमफिर र बारम्बार प्रश्न गरिरहने, व्यक्तिको मूड, र व्यवहारमा परिवर्तन हुने हुन्छ ।
सामान्यतया प्रयोग हुने सामानहरू विस्थापित गर्ने वा तिनीहरूलाई सधैं राख्ने ठाउँं भन्दा अलग राख्न र चपाउन वा निल्नमा समस्या हुने तथा दिसा र पिसाब नै चुहिने, तौल घट्नुका साथै भ्रमको अनुभव गर्ने हुन आउँछ ।
मस्तिष्क स्वास्थ्य र डिमेन्सियाको जोखिम कम गर्न केही रणनीतिहरू अपनाउनु पर्छ : हरेक दिन तल उल्लेख गरिएका फलफुल, तरकारी, अन्नहरू, दाल आदि मिलाएर सन्तुलित स्वस्थ आहार खाने प्रयास गर्नुपर्दछ ।
यसमा गेडागुडी (दाल), ढिकीमा कुटेको चामल, गहुँ, कोदो, फापर, जौं, मकै, आदि अन्नहरू खाने, निलो र बैजनी फलफूल र तरकारीहरू ब्ल्याकबेरी, जस्तै किम्बु, चुत्रो, प्याजी रङको बन्दागोभी आदि खाने, हरियो फलफूल र तरकारीहरू, जस्तैः घिऊफल (एभोकाडो), ब्रोकाउली, काँक्रो, केराउ, पालुँगोको साग, नासपाती, आदि खाने गर्नुपर्छ ।
सेतो र खैरो खालका फलफूल र तरकारीहरू जस्तैः केरा, काउली, आलु, शलगम, प्याज, लसुन आदि खाने, सुन्तला र पहेँलो रङका फलफूल र सागसब्जीहरू जस्तै ग्रेपफ्रुट, जुनार, आलुचा, आरू, मेवा, सुन्तला, सखरखन्डा, पहेँलो खुर्सानी, कागती, आदी खाने, रातो फलफूल खानु पर्छ ।
त्यसैगरी, तरकारीहरू जस्तैः चुकन्दर, ऐसेलु, रातो अंगूर, मूला, गोलभेंडा, रातो खुर्सानी, तरबूजा, अनार, स्ट्रबेरिज्, चेरी. आदि खाने, अन्य फलफूलहरूमा आरूबखडा र चुत्रो मस्तिष्क स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ ।
माछा, राजमा सिमी र जैतुनको तेल आदि प्रयोग गर्नुका साथै मासु खाने व्यक्तिहरूले रातो मासु कम खाने, धुम्रपान र रक्सी सेवन बाट टाढै रहने, हप्ताको हरेक दिन कम्तिमा ३० मिनेट नियमित व्यायाम गर्ने, जडिबुटी र मसला जस्तैः रोजमेरी, पुदिना, जाइफल, अश्वगन्धा, बेसार, तुलसी, दालचिनी, मरिच, रातो भेडेखुर्सानी, केसर, अदुवा, ज्वानो, टिमुर आदि; प्रयोग गर्नुपर्छ ।
बीउ, ओखर, मधेसी बदाम आहारमा प्रत्येक दिन प्रयोग गर्ने, प्रशस्त पानी पिउने, प्रशोधित खाना, मासु, मिठाइ, आदि कम गर्ने, दूध र दहीजस्ता कम चिल्लो भएको दुधबाट बनेका परीकारहरू खाने र हरियो चिया पनि मस्तिष्क स्वास्थ्यका लागि एकदमै राम्रो मानिने भएकाले यसको सेवनमा ध्यान दिनुपर्छ ।
माथि उल्लेखित मौसम अनुसारको फरक फरक हरियो सागसब्जीहरू तथा अन्य सब्जीहरू एक दिनमा एक वा बढी पटक सेवन गर्ने; सिमी र दाल (हप्तामा तीन वा बढी पटक लिने; फलफूलहरू हप्तामा दुई वा बढी पटक लिने; साथै अन्नहरू थोरै थोरै दिनमा तीन वा बढी पटक मिलाएर लिने गर्नुपर्छ ।
अत्याधिक नुनको प्रयोग, भुटेको वा पाकेटका तयारी खाने कुरा, रातो मासु, चिज, मिठाइहरू, घिउको अत्याधिक सेवन गर्नु मस्तिष्क स्वास्थ्यको लागि राम्रो होइन ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक हुन् ।)