• मंसिर २० २०८१, बिहीबार

उपत्यकामा पिउनयोग्य पानी वितरण गर

श्रावण ५ २०७९, बिहीबार

काठमाडौं उपत्यकामा हैजा संक्रमित बिरामीको संख्यामा बृद्धि हुँदै जान थालेपछि यसले कतै भयाबह स्वरूप त ग्रहण गर्ने होइन भन्ने आशंले घर गर्न थालेको छ । विज्ञ तथा विशेषज्ञका अनुसार हैजा संक्रमण मुख्यतः पिउने पानी र खानाका कारण हुन गएको भन्ने कुरा प्रमाणित हुँदा पनि यसमा सतर्कता कमै आएको देखिन्छ ।

जार र बोतलमा स्टिकर टाँसेर वितरण गरिइरहेका स्वच्छ खानेपानी पनि पिउनयोग्य नभएको भनिएपछि मानिसले पानी उमालेर खानुपर्ने बाध्यता आइपरेको छ । यसका साथै सडक किनारामा बिक्रि भइरहेका खानाका कारण पनि हैजा फैलिएको हुनसक्ने भनिएपछि यस्ता खानाको उपभोगमा पनि कमी आएको देखिदैन ।

उसो त बर्खाको सिजन, आकाशे पानीका कारण जहाँ पनि हैजाजस्तो रोग पुग्न र फैलनसक्ने संभावना निकै बढी हुन्छ । मानिसले बर्खाको पानी शरीरमा बोकेर हिँड्ने र सडकदेखि भान्सासम्म यस्तो फोहर पानी सजिलै पुर्‍याउने काम भइरहेको हुन्छ ।

मानिसले फोहर पानीको स्रोतबाट हैजा फैलिइरहेको कुरामा कमै ध्यान दिएको देखिन्छ । खानामा पनि कस्तो खालेको पानी प्रयोग गरेको छ, त्यसमा हेक्का रहने गरेको देखिदैन ।

त्यसै त काठमाडौंमा हुने खाने पानीको अभाव, त्यसमा पनि ग्राहकहरूका लागि तयार पारिने खानाका परिकार ! ती सबैमा स्वच्छ खानेपानी नै प्रयोग गरिएको छ भन्ने गयारेन्टी गर्न सकिएको छैन ।

फेरि हैजा निकै छिटो फैलने रोग हो । यसको संक्रमण मूलतः पानीको माध्यमबाट हुने भएकाले पनि ठूलो क्षेत्रमा एकैपटक संक्रमण विस्तार हुन सक्छ । पानी र खानामा बढी सचेत र सतर्क रहेमा हैजा किटाणुको संक्रमणबाट बच्न सकिन्छ ।

हैजा संक्रमित विरामीको संख्या नघटिरहेको अवस्थामा काठमाडौंमा वितरण भइरहेको पानीको स्रोत र पानी पनि हरपल गम्भीरतापूर्वक जाँच गरिरहनु जरूरी छ । व्यवसायिक रूपमा वितरण भइरहेका खानेपानी पनि समय समयमा चेकजाँच हुनु जरूरी छ । कम्तिमा उपत्यकाभर पिउनयोग्य पानी वितरण गरिनु जरूरी छ ।