काठमाडौं । ‘पानीमुनि टाउको, सास बाहिर र टाउको माथि, सास भित्र’ पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको बाओशी पार्कको पौडी पोखरीको दृश्य हो यो । प्राथमिक विद्यालयका चौथो कक्षाका ६० जनाभन्दा विद्यार्थी प्रशिक्षकको निर्देशनमा यसरी पौडी खेलिरहेका छन् ।
“पहिले ममा पौडी खेल्ने हिम्मत थिएन, तर म अब सधैं सिक्न चाहन्छु । अब म ग्रीष्मकालीन विदामा सहपाठीहरूसँग पौडी खेल्न सिक्छु, यो सबैभन्दा रमाइलो समय हो,” १० वर्षीया ह्वाङ सिनलेइ भन्छिन् । गर्मीको विदामा पौडीमा पाराङ्गत हुने उनको चाहना छ । निरन्तर अभ्यासबाट त्यसमा निपुण हुनेमा उनी विश्वस्त छिन् ।
स्थानीय सरकारले शुल्क तिरेर कलिला विद्यार्थीलाई पौडीको तालिम गराउँदै आएको छ । बाओशी पार्क सिन्यु शहरका २३ तालिम स्थलहरूमध्येको एउटा हो जहाँ प्राथमिक विद्यालयका १६ हजारभन्दा बढी विद्यार्थीलाई पौडी प्रशिक्षण सञ्चालन गरिएको छ ।
शिक्षा तथा खेलकुद विभागहरूका अनुसार यो वर्षको ग्रीष्मकालीन बिदाको अन्त्यसम्ममा प्राथमिक विद्यालयका ५० हजारविद्यार्थीलाई तालिम दिने अपेक्षा गरिएको छ । गर्मीयामको बिदाका बेला किशोर किशोरीहरू डुबेका घटना बढेपछि उनीहरूकै प्रिय खेल पौडीको प्रशिक्षण थालिएको अधिकारीहरूले बताएका छन् ।
गर्मी विदामा बालबालिकाहरू घरमा टिभी हेरेर वा मोबाइल फोनसेटमा खेलेर समय बिताउँछन् जसले उनीहरूको स्वास्थ्यमा हानी गरिरहेको छ । बालबालिकाहरू बाहिर खेल्दा स्वस्थ्य रहने भएकाले पौडी प्रशिक्षण थालिएको उनीहरूको तर्क छ । सिन्यु शहरले सयौं प्रशिक्षकलाई पनि प्रशिक्षक प्रशिक्षणको व्यवस्था गरेको छ ।