काठमाडौं । यो वर्ष नेपालमा साबिकभन्दा ६० देखि ७० प्रतिशत पानी बढी पर्ने भएकाले बाढी पहिरो तथा डुवानको समस्या हुन सक्ने पूर्वाकलन गरिए पनि अघिल्ला वर्षहरूमा झैं समान किसिमको वर्षा हुन सकिरहेको छैन ।
अहिलेसम्म खण्डवृष्टि र खडेरी देखा परिरहेको छ । खण्डवृष्टिका कारण वर्षा भएका स्थानमा अनावश्यक भेलबाढी बग्ने र पहिरो जाने देखिएको छ भने बाँकी भागमा एक थोपा पनि पानी नपर्दा खडेरीले धान बाली समेत लगाउन सकिएको छैन ।
साउन महिना लागिसकेको छ । धान रोपाइँ भइसक्ने र रोपिएको धान गाँजिएर खेत सबै हराभरा देखिने बेलामा टण्टलापुर घाम लागेपछि रोपाइ गरिएको खेतमा धाँजा फाट्न सुरू भइसकेको छ । किसान अहिले निकै चिन्तित छन् ।
तराइका जिल्लास्थित गाउँहरूमा भगवान ईन्द्रको पुजाआराधना चलिरहेको छ । ईन्द्रलाई वर्षाका देवताका रूपमा पुजिने गरिन्छ ।
उनीहरु चिन्तित भएका हुन् । मुख्यबाली मानिएको धान रोप्ने र हुर्कने बेला पानी नपरेपछि किसानको यो चिन्ता बढेको हो । पानी निकै पर्ने भनिए पनि खण्ड वृष्टि र अनावृष्टिका कारण यो वर्ष भनेको जस्तो वर्खे खेती नहुने देखिएको छ ।
तराइमा यो वर्ष अनिकालको वर्ष हुन सक्ने भनी आँकलन गरिन थालिएको छ । साउनको पहिलो हप्ता टर्नै लाग्दा सम्म पनि मन रमाउने गरी पानी पर्न सकेको छैन । सर्वसाधरण प्रचण्ड गर्मीका कारण आहत भइरहेका छन् ।
तराइमा डाक बचनको स्मरण :
तराइ मधेश यो वर्षको खडेरीले निकै आक्रान्त बनिरहेको छ । मधेशमा खेतीपाती र मौसमका कुरा गर्दा बूढापाका ‘डाकवचन’ को स्मरण गर्दछन् । प्राचीन मिथिलामा मौसम र खेतीपातीवारे भविष्यवाणि गर्न बोल्ने साधुलाई ‘डाक’ भनिन्छ । उनै साधुले बोलेको वचनलाई डाकवचन मानिन्छ ।
करिब २०० वर्ष रहने भनिएको डाक वचनको कालक्रममा सचेत रहन भन्दै उनले भनेका थिए, ‘सावन मासे बहे पूर्वैया, बेचो बैल किनो गैया ।’ यसको अर्थ थियो, साउन महिनामा पूर्व दिशाबाट हावा चल्न थालेछ भने खेती गर्न पालेको गोरु बेचेर दूध दिने गाई किन्नु ।
मूल सुक्न थाले : स्रोतमा पानीको कमी
लामो खडेरीका कारण रोपाइ गरिएको खेतमा ल्याइएको कुलो नहरको मूल पनि घट्दै र सुक्दै गइरहेको छ । धान ब्याडको बेर्ना पनि सुक्दै गइरहेका छन् ।
कतिपय ठाउँमा स्थायी सिञ्चाइको प्रबन्ध नहुँदा अधिकांश जग्गामा धानको खेती आकाशे पानीकै भरमा गरिदै आएको छ । सिञ्चाइ आयोजना भएका ठाउँमा पनि पानीको अभाव हुन थालिसकेको छ ।
तराइमा धान खेती गर्दा जिल्लामा पानी नपर्दा किसानले इनार र बोरिङमा पम्पसेट लगाएर वैकल्पिक सिँञ्चाइ गर्ने गर्छन् । तर यो तरिका पनि असंभवजस्तो देखा परेको छ । जमिनमुनी पानीको सतह निकै घटिसकेको छ ।
इन्धनको मार :
जमिन मुनिको पानी इनार, पम्पसेट र बोरिङ बाट तान्दा आवश्यक इन्धन अभावका कारण पनि खेतमा पानी पट्याउन नसकिने अवस्था सिर्जना हुन गएको छ । साउन पहिलो साताभित्रै धान खेती अघि बढ्न सकेन भने यसको प्रतिफलको आशा गर्न संभव नै हुँदैन ।