• मंसिर ११ २०८१, मंगलवार

प्रेस युनियनको ९ वर्षीय कार्यकालमा मेरो अनुभव

श्रावण २ २०७९, सोमबार

लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो । प्रजातन्त्र पुनरस्थापनापछि प्रेस स्वतन्त्रता र संघ–संस्था खोल्न अधिकार प्रत्यभुत भएसँगै श्रमजीवी पत्रकारका हकहित र अधिकार प्राप्तिका लागि अग्रज पत्रकारहरूले युनियनको स्थापना गरेका थिए ।

जसका कारण विगतदेखि आजको दिनसम्म आउँदा प्रेस युनियनले धेरै संघर्ष र फड्को मारिसकेको छ । संस्था स्थापना भएपछि संगठनलाई मजबुत बनाउनको लागि विभिन्न सांगठनिक कार्य गर्दै यहाँसम्म आइपुगेको छ । त्यति मात्र नभई संगठनलाई चौतर्फी विकास गर्न र श्रमजीवि लोकतान्त्रिक पत्रकारहरुलाई नेतृत्वदायी भूमिका प्रदान गर्न महाधिवेशन गर्दै आइरहेको छ ।

प्रजातान्त्रिक पत्रकारहरुकोे पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ उद्देश्यका साथ यति बेला फेरि नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढ्दैछ । संस्थाको महाधिवेशन हुने मिति घोषणा भएलगतै यति बेला डेमोक्रेट पत्रकारहरुबिच चुनावी माहोल निकै तातिएको छ ।

विगतका दिनमा श्रमजीवि पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो हाल यो संस्था आज नवौं महाधिवेशनको संघारमा पुग्न लागेको छ । जुन महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आम प्रजातान्त्रिक पत्रकारहरुको हक हितलाई सुरक्षित गर्छ भन्ने मान्यता राख्दै आएको छ ।

लामो समयदेखि नयाँ नेतृत्वको पखाईमा बसेका डेमोक्रेट पत्रकारहरुले आफूले चाहेको पदमा उम्मेदवारी दिनको लागि तयारी अवस्थामा देखिन्छन् । जसले गर्दा यो असार र श्रावण महिना वर्षायाम भएपनि प्रेस युनियनमय भएको छ ।

युनियनका पत्रकारहरु महाधिवेशनमा उठ्नको लागि सामाजिक सञ्जालहरु मार्फत् चुनावी प्रचार प्रसारमा लागि परेका छन् । साँच्चै नै भन्नुपर्दा प्रेस युनियनकर्मीहरुको लागि यो महाधिवेशन एउटा उत्सवको रुपमा देखिएको छ । लोकतान्त्रिक पत्रकारहरु युनियन भित्र नयाँ नेतृत्व चयन गर्न आतुर देखिन्छन् किनकि लामो समयपछि युनियनको महाधिवेशन हुँदैछ ।
समय गतिशील छ आज आज भन्दा भन्दै नेपाल प्रेस युनियनको महाविधेशन पनि झण्डै ९ वर्ष पछि हुन लागेको छ ।

युनियनको विधि र विधानमा जे सुकै नीति नियम भएपनि समय परिस्थितिले गर्दा यो कार्यकाल निकै नै लम्बिएको कारण यतिका वर्षपछि चुनाव हुन थालेपछि देश विदेशमा रहेका युनियनका डेमोक्रेट पत्रकारहरु झिनो आशा लिएर भए पनि संगठनको हकहित र आफ्नो व्यक्तित्व विकासका साथ डेमोक्रेट संस्था र पत्रकारको अस्तित्व र पहिचान बचाउन पनि सक्रिय भएर महाधिवेशनको तयारीको अवस्थामा देखिन्छ ।

पटक पटक महाधिवेशन मिति तोकिने र चुनाव सर्ने भएतापनि यस पटक भने पक्कै हुन्छ भन्ने आशा र विश्वासले डेमोक्रेट पत्रकारहरुमा केही हदसम्म मनमस्तिष्क र मुहारमा खुशी छाइएको पाइन्छ ।

प्रेस युनियनको नवौं महाधिवेशनको चर्चा परिचर्चा गर्दैगर्दा एक पटक फेरि विगतका घटनाहरु हाम्रा आँखा अगाडि सरसर्ती आएका छन्, जसले नेपाल प्रेस युनियनको भविष्यमाथि पटक–पटक प्रश्न चिन्ह खडा गरेका छन् ।

चुनावी महोलको रंगमञ्च र संस्थागत हकहितको अवस्थालाई हामीले एकपटक मात्र होइन सयौं पटक औंल्याउदा पनि हामी लोकतन्त्रका हिमायती पत्रकारहरुले कतै बाटो त बिराएका छैनौं भन्ने हजारौं प्रश्नहरु तपाईं हामीमा आइरहेको नर्कान सकिंदैन तर पनि हामी हाम्रो संस्थागत हकहित र एउटा श्रमजीवि पत्रकारको योग्यता, क्षमता र दक्षता हुँदै क्रियाशीलता माथि विश्वास गर्दै संगठनको लागि कस्ता व्यक्तिहरु आवश्यक छन् भन्ने विषयमा सोच्न आवश्यक देखिन्छ ।

यदि अब पनि विगतकै तवर तरिकाबाट अघि बढ्ने हो भने डेमोक्रेट पत्रकारको हैसियत मात्र होइन संस्थाको हैसियत र औचित्यमाथि सवाल जवाफ हुनेछ । जसको प्रत्यक्ष असर आम डेमोक्रेट पत्रकारहरुले भोग्नुपर्ने हुन्छ ।

युनियनको विगत, वर्तमान र भविष्यको चिन्तन मनन गर्दै गर्दा केवल हामी महाधिवेशनको चुनावी संघारमा मात्र तातिने गर्दछौं । हिजो पनि यही अवस्थाबाट गुज्रीएका थियौं आज पनि त्यसरी नै गएका छौं भोलि पनि त्यही अवस्थामा गुज्रीने परिपाटी हाम्रो मानस्पटलमा जगडिएर बसेको छ । जसले गर्दा सयौं, हजारौं डेमोक्रेट पत्रकारहरुको भविष्य हामीले सोचे भन्दा बढी फस्टाउन सकेको छैन ।

आज पनि संस्थाको विकास र उन्नती प्रगति भन्दा व्यक्तिको हालीमुहाली र गुटबन्दीले संगठनको रंगरोगन परिवर्तन हुन बाध्य भएको छ । व्यक्ति हावी हुँदा आज पनि नेपाल प्रेस युनियन ओझेलमा परेको तपाईं हामी सबैलाई थाहा भएकै वास्तविक चित्रण हो तर हामी बुझेर पनि त्यसको प्रतिकार गर्न र बोल्न चाहदैनौं त्यति मात्र फरक हो ।

नेपाल प्रेस युयिनको झण्डै ९ वर्षपछि महाधिवेशन हुने पक्कापक्की जस्तै देखिएको छ । तर पनि कुनै ग्यारेन्टी भने छैन् । पटक पटकको घटनाले फेरि पनि महाधिवेशन हुन्छ र..! भन्ने आवाजहरु तपाई हाम्रो कानमा गुञ्जिरहेको छ । तर यो पटक भने जसरी पनि चुनाव गराउनुपर्छ भनेर संगठनका नेतृत्वदायीहरु लागि परेका छन् । जुन महाधिवेशनमा गुठबन्दीको स्वार्थ लुकेको हाम्रा युनियनकर्मी मित्रहरुबाट बारम्बार सुनिन आउँछ ।

झण्डै नौ वर्षपछि महाधिवेशन हुँदै गर्दा हामीले हाम्रो कार्यकालका के–के गरौं भन्ने प्रश्न महत्वपूर्ण छ । यो प्रश्नको भागीदार स्वयम् म पनि हो हाम्रो कार्य समितिका सम्पूर्ण नेतृत्वकर्तादेखि पदाधिकारी हुँदै सदस्यहरुले पनि शिरोभार लिनै पर्छ ।

एक पटक हामीले हाम्रो छातीमा हात राखेर सोचौं त ९ वर्षको अन्तररालमा संगठनले खोजेको गतिविधि र हाम्रो हिमायती डेमोक्रेट श्रमजीवि पत्रकाहरुले संस्थाबाट खोजेको र पाउनु पर्ने हकअधिकार पाएकी पाएनन् यता तिर पनि हामीले मध्येनजर लगाउनु नै पर्छ तर हामीले यस्ता पक्षमा चिन्ता र चासो भन्दा पनि म र मेरो गुट कता छन् भन्नेमा बढी चियोचर्चो भयो कि भन्ने भान हामी डेमोक्रेट पत्रकारहरुले बारम्बार अनुभूति गरेकै हो तर कतिले आफ्नो कुराहरु भन्न सके भने कति ले त्यस्ता गतिविधिलाई नभनि मनमै दबएर राखेका पनि छन् ।

किनकि उनीहरु चुनावी माहोल नजिक आउँदै गर्दा कतै भोट पाउँदैन कि भन्ने सोंच पनि नभएको होइन तर पनि यसको छिनो फानो चुनावी मैदानमा उत्रिएपछि पक्कै दिने छन् ।
हाम्रो टिमले संस्थाको विधि विधानमा केन्द्रित हुँदै संगठनलाई चुस्त दुरुस्त बनाउन हाम्रो नेतृत्वले के कति प्रयास गरें ।

आफूसँगै महाधिवेशनबाट आएका टिमलाई कसरी नेतृत्वकर्ताले परिचालन गरे र संगठन तथा श्रमजीवि पत्रकारकालागि क्रियाशील भएर कति काम गरे आज प्रत्येक डेमोक्रेट पत्रकारहरुले नेतृत्व कर्तामाथि औंला ठडाइरहेका छन् । तर हामी गुटको सवाल जवाफमा फसिरहेका छौं ।

संस्थागत उद्देश्यलाई आत्मासाथ गर्दै संगठनलाई मजबुत बनाउनुको साटो हामी भित्रै गुटको दोहोरी खेलिएको पोप्रोगाण्डा पनि देखेका छौं । प्रेस युनियन एउटा नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो तर वर्तमान अवस्था हेर्दा भातृ संस्था भन्दा कम छैन ।

यसरी संस्थामा भइरहेका वास्तविक कमि कमजोरीलाई प्रस्ट्याउँदै गर्दा कतिपयलाई मन नपर्न सक्छ तर आफ्नो कार्यकालको अन्तिम संघारमा पुग्दै गर्दा हामीले सत्य तथ्य र वास्तविकतालाई उर्जागर गर्नु एउटा डेमोक्रेट श्रमजीवि पत्रकारको धर्म हो भनेर बुझ्नु आवश्यक छ । र अर्को कुरो सत्य कुरो जहिले पनि तितो लाग्छ ।

संगठन भित्रको अदृश्य सिनहरुले गर्दा आज डमोक्रेट पत्रकारहरुको भविष्य ओझेलमा परेको हामी सबैले महसुस गरेका छौं । संगठनको हकहितमा भन्दा पार्टीबाट परिचालित गतिविधिहरु बढी हावी हुँदा संगठन जुन गतिमा बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको डमोक्रेट पत्रकारहरुको मुखारविन्दुबाट सुनिन आउँछ ।

तर यसरी नेतृत्व र संठगनको चिन्ता र चाँसो राख्दै गर्दा ‘छोटा मुख बढी बात’ भन्ने तर्कहरु पनि नआउलान् भन्न सकिन्न तर सत्य भनेको सत्य नै हुन्छ आज स्वर्कार गर्न नसकिएला तर भोलिको दिनमा सत्य सावित भएर छाड्छ ।

नेपाल प्रेस युनियन मात्र होइन अन्य संघ संगठनहरु पनि हाम्रो संस्था जस्तै गुज्रिएको अवस्था छ । यो रोग हाम्रो संस्थामा मात्र होइन अन्य संस्थामा यस्तै खालका रोगले गर्दा आज संघ–संगठन फस्टाउन र जुन उद्देश्यले अघि बढ्न खोजिएको हो त्यो अवस्थाबाट अघि बढ्न सकिएको अवस्था छैन ।

जब म नेपाल प्रेस युनियनमा आवद्ध भए विगतलाई स्मरण गर्दा मेरो गृहजिल्ला बाँकेको नेपालगञ्जबाट संस्थाको सदस्य हुँदै सहसचिव हुँदै सचिवहुँदै केन्द्रीय पार्षद्हुँदै केन्द्रीय समितिको सचिव हुने मौका पाएकी थिएँ । यहाँसम्म ल्याउनको लागि म लगायत मेरा अग्रजहरु तथा मित्रजनहरुको ठूलो हात छ र अर्को पक्ष समयले पनि साथ दिएको ठान्दछु । जब केन्द्रीय समितिमा सचिव पदमा चयन भएर आउदै गर्दा संगठनले निकै फड्को मार्ला भन्ने सोंचेकी थिए तर सोंचे भन्दा विपरित पाएँ ।

त्यसपछि सोचे संगठन भनेको यस्तै रहेछ भनेर तर संगठन भित्र काम नै नभएको भने भन्न खोजिएको होइन । तर जति मैले प्रेस युनियन यस्तो संगठन हो यसले यसरी कार्य गर्दै अघि बढ्छ होला र सबैको भावना, मर्म र श्रमजीवि पत्रकारको मूल्य र मान्यतालाई निष्पक्ष रुपमा मूल्याङ्कन हुन्छ होला भनेर सोंचेकी थिएँ तर त्यसरी मैले बुझे अनुसार पाउन सकिएन तर पनि आफ्नो कर्तव्यदेखि कहिल्यै बिमुख भने भइएन ।

जतिबेला म युनियनको केन्द्रीय समितिको पदाधिकारी हुने मौका पाएँ त्यो समय म नेपालगञ्जबाट मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएर काठमाडौं आएकी थिएँ । यता आफूले पाएको जातीय समुदायको काम कर्तव्य र उद्देश्य पूरा गर्नुपर्ने थियो भने यता युनियनमा पाएको आफ्नो जिम्मेवारीलाई पुरा पनि गर्नु पर्ने थियो ।

तत्कालीन समय सोही क्रममा म संगठनकै कामको सिलसिलामा पूर्वको जिल्लाहरुमा भ्रमण गर्दा हाम्रा प्रेस युनियनका जिल्लाका मित्रजनहरुसँग भेटघाट गदै उहाँले पत्रकारितामा भोग्नु भएका पीडाहरु र एउटा श्रमजीवि पत्रकारलाई कसरी व्यवसायीक पत्रकारिता तिर डोर्याउन सकिन्छ तथा जिल्ला, प्रदेश, संघका डेमोक्रोट पत्रकारहरुलाई केन्द्रसँग कसरी जोड्न सकिन्छ ? भन्ने विषयमा छलफल गरेका थियौं ।

त्यहाँ भएका विषय वस्तुलाई मैले केन्द्रीय बैठकमा पनि राखेकी थिएँ । यस्तै आफ्नो गृहजिल्ला हुँदै मध्यपश्चिमका केही जिल्लामा संस्थाको काममा जाँदा हाम्रा युनियन सहकर्मीहरुसँग भेट्घाट गरी उहाँहरुले मोफसलमा पत्रकारिता गर्दैगर्दा भोग्नु भएका गतिविधिका बारेमा तथा संगठनलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयमा पनि सरसल्लाह गर्दै केन्द्रीय बैठकमा राखेकी थिएँ तर कतिपय अवस्थामा हामीले मोफसलमा रहेका पत्रकारहरुको समस्यालाई समाधान गर्न खोजे पनि समय परिस्थितिले गर्दा मोफसलमा रहनु भएका पत्रकारहरुले केन्द्रप्रति राखेका अपेक्षाहरुलाई पूर्णता दिन सकिएन । यो पूर्णता नपाउनु पनि हामी भित्र र हाम्रो संगठन भित्रको बेमेलका केही मतभेदका रंगहरु हुन भनेर प्रष्ट्याउन चाहन्छु ।
यदि हामीमा संस्था र डेमोक्रेट श्रमजीवि पत्रकारहको हकहितको लागि आफूलाई समर्पित गरेका थियौं भने आज यसरी मोफसलका पत्रकारहरुसँग सम्बन्ध चिसिने अवस्था थिएन होला । सबन्ध छ त केवल आफ्ना गुटका पत्रकार सहकर्मीहरुसँग आफ्ना गुट भन्दा फरक परेका छन् भने या त गुटमा छैनन् भने त्यति चासो नदिएको हाम्रा मोफसलका पत्रकारहरुले धेरै गुनासोहरु सुनाएका थिए तर सबै कुरा सुनाएर पनि साध्य नहुने रहेछ ।

पत्रकारको क्षमता, दक्षता र संगठनप्रति दिएको योगदानको क्रियाशीलताको मूल्याङ्कन भन्दा पनि आफ्नो गुट र नातावाद, कृपावादको बढी हावी देखिएको मोफसलमा सक्रिय पत्रकारिता गर्दै आएका डेमोक्रेट पत्रकारहरुको गुनासो त छँदैछ । यसरी नै नेपाल प्रेस युनियनको ९ वर्षे यात्रा चलिरहदा अब भने महाधिवेशनको संघारमा छौं ।

यो अन्तरालमा युनियनले लामो समयदेखि पेन्डुलम अवस्थामा रहेको आफ्नो संस्थालाई पुनरताजकी दिन पनि नेतृत्वकर्ता र पदाधिकारी लगायत कार्यसमितिले ठूलो भूमिका खेलेको छ । झण्डै संस्था नै संकटमा पर्दै गएको बेला नेतृत्वले यो कार्यलाई फत्ते पार्न ठूलो कार्य गरेको छ । जुन कार्यलाई हामी सबै डेमोक्रेट पत्रकारले धन्यवाद नदिई रहन सुकै पाउदैनौं ।

अन्य चुनावी माहोलका पक्षमा पनि यो कार्य समितिले सफलता हात पारेको छ । यसको शिरोभार र बधाईको पात्र नेतृत्व कर्तालाई नदिई रहन सकिन्न । व्यवसायीक पत्रकारितालाई सक्षम र योग्य तथा यही पेशामा टिकाई राख्नकालागि खेल्नु पर्ने कार्यमा भने यो कार्य समिति पछि परेकै हो । जसले गर्दा आफ्नै युनियन भित्रका सहकर्मी साथीहरु समेत रुष्ट भएका छन् ।

अर्को पक्ष समयमा नयाँ नेतृत्व चयन गर्न नसक्दा यो कार्य समितिको ठूलो कमी कमजोरीको रुपमा रहेको छ । जसले गर्दा विधि विधानलाई कुल्चिएर आज ९ वर्षको अन्तरालमा चुनावी माहोल ताएिको छ । संगठनमा एउटै व्यक्तिले लामो समय बसिरहँदा संगठनको विकास नहुने र अन्य बाहिरी संगठनसँग प्रतिष्प्रर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

यस्ता कमी कमजोरीलाई अब आउने नेतृत्वहरुले ख्याल राख्नुपर्छ । जब यस्ता विषयमा ख्याल राखिंदैन भने तब व्यक्तिको एकाधिकार हावी हुन्छ यसले गर्दा संगठन लगायत आम प्रजातान्त्रिक पत्रकारहरुको भविष्य अन्यौलमा पर्दछ । जसको प्रत्यक्ष असर राष्ट्र निर्माण, विकास र कार्य नीति तथा योजनामा पनि असर पर्ने सम्भावना बढी हुन्छ ।

नेपाल प्रेम युनियन भनेको एउटा साझा फूलबारी हो, जहाँ प्रजातान्त्रिक पत्रकारहरु फूल्ने गर्दछन् । यो फूलबारीमा सबै भेग, क्षेत्र, वर्ग र समुदायलाई अट्ने साझा फूलबारी हो । तर विगतको इतिहासदेखि हालसम्म हेर्दा जति नेपाल प्रेस युनियनले यो संस्था साझा फूलबारी बनाउनु पर्ने हो तर त्यति सकिरहेको अवस्था छैन । यो फूलबारी भित्र अझ पनि केही हदसम्म संकिर्ण सोंचले ग्रसित छ, जसका कारण आजका दिनसम्म आइसक्दा श्रमजीवि प्रजातान्त्रिक पत्रकारहरुले आफ्नो क्षमता, दक्षता देखाउन पाइरहेका छैनन् र उनीहरुको मूल्याङ्कन पनि हुन सकिरहेको छैन् ।

यस्ता विषयमा गम्भीर हुनका लागि अब आउने नेतृत्वले ख्याल राख्नैपर्छ यदि राखिएन भने यो संस्था केवल आफ्ना र गुटका लागि मात्र सिमित हुनेछ । संस्थाका लागि चाहिने सक्षम, योग्य र कर्तव्यनिष्ठ र संस्थाको हक अधिकारको लागि लड्ने पत्रकार सधैं पछि पर्नेछ । यो नै सबै भन्दा चूनौतिको विषय हो यो विषयमा अब पनि प्रजातान्त्रिक पत्रकारहरुले ख्याल गरेनन् भने युनियनको भविष्य आउने दिनमा ओझेलमा पर्ने पक्का छ ।

श्रावण ६,७ गते हेटौंडामा प्रेस युनियनको महाधिवेशन हुँदै गर्दा आम देश विदेशबाट यस महाविधेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षक तथा युनियनका अग्रजहरुले अब कस्तो नेतृत्वलाई ल्याउँदा संगठनको अस्तित्व जोगिन्छ र संगठन केन्द्रदेखि तल्लोस्तरसम्म बलियो बनाउन सकिन्छ भनेर सोंच्न जरुरी छ । चाहे महिला होस् चाहे पुरुष जो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संगठन हाक्न सक्ने त्यस्तो अब्बल छवि भएको व्यक्तित्व सहितको टिमलाई ल्याउन सक्यो भने आउँदा दिनहरुमा संगठनले अन्य संगठनसँग प्रतिस्प्रर्धा गर्न सक्ने हैसियत राख्छ र अर्को पक्ष लामो समयदेखि प्रेस युनियनमा पुरुषहरुले मात्र नेतृत्व सम्हाल्दै आएका छन् ।

अब यो परिपाटी पनि परिवर्तन गर्दै सक्षम योग्य पत्रकार महिलालाई पनि साहयक पदमा मात्र होइन प्रमुख पद दिनसक्ने हैसियत संगठनले जन्माउन सक्नुपर्छ । संसारमा असम्भव भन्ने केही छैन यदि सक्षम र योग्य संगठनप्रति कटिवद्ध पत्रकार महिला नेतृत्वमा पुग्न सक्यो भने संगठनले नयाँ मुहार पनि परिवर्तन गर्नसक्छ र संगठन बलियो पनि हुन सक्छ यसकालागि संगठनका अग्रजहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

संगठनलाई बलियो बनाउन व्यक्तिगत स्वार्थ त्याग गर्दै गुटगत गतिविधिलाई त्याग्न सक्यो भने पक्कै पनि नेपाल प्रेस युनियन भित्र संक्षम, योग्य, संगठनप्रति कर्तव्यनिष्ट र इमानदार व्यक्तिले स्थान पाउनेछ । जसको नेतृत्वले संगठनको मुहार फेरिनेछ । हिजोका दिनमा हाम्रो अग्रजहरुले कति दुःख पीडा सहन गरी यो संगठनलाई यहाँसम्म ल्याई पुराउनु परेको छ । यसलाई दिर्घकालीन रुपमा जोगाउन र ईज्जतसहितको पहिचान दिन पनि आउने नयाँ पिढीले यसबारेमा बुद्धि पुर्याउनै पर्छ ।

चुनावी माहोलमा मेरो मान्छे भन्दा पनि संगठनको हितको लागि मरिमेट्ने सबैको भावनालाई सम्बोधन गर्ने त्यस्तो व्यक्तिलाई छनौट गर्न सक्नुपर्छ जसले हिमाल, पहाड, तराई, क्षेत्र, भेग, समुदाय, देश र विदेशमा रहेका सबै प्रजातान्त्रिक पत्रकारहरुको आत्मा सम्मानलाई कदर गर्न सकोस् । एउट सक्षम पत्रकारको योग्यता, क्षमता र कार्य दक्षताको पहिचान गर्न जरुरी छ, ताकि नातावाद, जातिवाद र गुटवादको रंग भित्रिन दिनुहुँदैन । चाहे जो सुकै होस् यस्ता विषयमा तपाईं हामी सबैले सोच्नैपर्छ । ताकि पछि गरेर पछुताउनु नपरोस् । जुन गल्तीले गर्दा संगठनमा आँच नआवस् ।

समग्रमा भन्नुपर्दा नेपाल प्रेस युनियन एउटा नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । यो संस्थालाई हराभरा बनाउन र फलाउन फुलाउन काँग्रेसले पनि जलमल गर्नुपर्छ तर युनियनको कार्य योजना, नीति नियम र गतिविधि तथा नेतृत्वदायी कार्यमा हस्तक्षेपकारी भूमिका कदापि गर्नु हुँदैन किनकि सञ्चारको काम भनेको सबैको साझा फूलबारी हो जसले देश र जनताको हितमा रहेर सत्यतत्य घटना तर परिघटनालाई निष्पक्ष ढंगले प्रवाह गर्ने हो ।

यस विषयमा काँग्रेसको ध्यान जानुपर्छ, ताकि नेतृत्वलाई नै कब्जा गर्ने गरी पेन्डुलम बनाउने काम कदापि गर्नु हुँदैन नत्र प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने काम हुन्छ, जसको प्रत्यक्ष असर आम नेपाली जनता र राष्ट्रलाई पर्दछ । र अर्को पक्ष युनियनको नेतृत्वमा आइसकेपछि संगठनको नीति नियम, विधि र विधानमा रहेर काम गर्नुपर्छ ताकि अन्यको कुरा सुनेर आफ्नो अस्त्तिव र पदको अपमान कहिल्यै गर्नु हुँदैन ताकि भोलिको दिन संगठन छाड्दै गर्दा जिन्दगी भर पछुताउनु नपरोस् ।

अतः युनियनको नर्वौ महाधिवेशनमा हामी सबै डेमोक्रेट पत्रकारहरु मिलेर सफल पार्नुपर्छ । धेरै ढिला भइसकेको छ । अरुको संगठनले २–३ वटा नेतृत्व फेर्दै गर्दा हाम्रो संगठन यसरी सुस्त गतिमा हिंड्यो भने डेमोक्रेट पत्रकारहरुको अस्त्तिव नै विलिन हुन सक्छ त्यसकारण संगठनको विधि–विधानलाई अवलम्बन गर्दै संगठनलाई बचाउँदै डेमोक्रेट पत्रकारहरुको हकहितको लागि सधैं नै तपाईं हामी क्रियाशील हुनुपर्दछ । संगठन बाँचे मात्र तपाईं हामी पनि बाँच्न सक्छौं भन्ने मूल मर्मलाई कहिल्यै बिर्सिनु हुँदैन ।

(लेखिका नेपाल प्रेस युनियन केन्द्रीय सचिव हुन् ।)