• मंसिर १२ २०८१, बुधबार

भरोसायोग्य संगत र कृयाशीलतामा रमाएका हजुरबाहरु !

श्रावण १ २०७९, आईतवार

घोराही १ साउन ।
कुप्रो परेरर हिंड्नु उमेरको दोष होइन भन्नुहुन्छ घोराही–१८ खरकट्टीका घाय रोका । उहाँका अनुसार रानीजरुवाबाट गिठेपानी घरतिर आउँदै गर्दा लड्नुभयो । त्यसपछि हिंड्न धौ भयो । होइन भने ७९ वर्षीय रोकालाई कुप्रिनु पर्ने कुनै समस्या आउने थिएन ।

उहाँले सिमेन्टका कट्ठा भेटाएमा उधार्नुहुन्छ । त्यसको डोरी बाट्नु हुन्छ र बरियो बुन्नुहुन्छ । गाउँ छिमेककाले अधियाँ नाम्लो र दाम्लो बुन्न दिन्छन् । तयार पारेपछि टुप्लुक्क घरमै ल्याइदिने गरेको स्थानीय बताउँछन् । उहाँले बाटेका दाम्लोमा त्यहाँका धेरै बाख्रा बाँधिएका छन् । उहाँ यस्तै घरयासी काममा व्यस्त हुनुहुन्छ । जाँगरिलो गरी हिंड्डुल गर्नुहुन्छ ।

निकै कुप्रो देखिनु हुन्छ । अलिक परसम्म गएर एकचोटी उभिई ढाड सिधा बनाउनु हुन्छ । केहिबेर उभिएर आराम दिएपछि फेरि हिंड्नु हुन्छ । कसैलाई लिफ्ट माग्नु छैन । कुनै सवारी साधन आइ पो हाल्छकी भनेर पछि फर्कि हेर्नुपनि पर्र्दैन । सडकबाट छलिएर ढिकढिक हिंड्नुहुन्छ । सवारी साधनले ठक्कर दिने खतराबाट जोगिनु हुन्छ ।

उहाँ हरेक शनिवार चर्च जानुहुन्छ र आउनु हुन्छ । त्यसबेला पनि कुनै साधन प्रयोग गर्नुहुन्न । चर्चबाट फर्किंदा कहिले काहिँ ७५ वर्षीय नरबहादुर बुढा रोकाको साथमा हुनुहुन्छ । दुईजनामा प्रतिस्पर्धा जस्तै देखिन्छ बाटो काट्ने ।

एक जना खुरुखुरु हिंडेर अलि माथि थपक्कै बिसाउनुहुन्छ । पच्छ्याउँदै आएको अर्कोले उछिनेर अलि माथि पुग्नुहुन्छ । यो क्रम आफ्नो घरतर्फ बाटो काट्दासम्म चल्छ । अटो लगायतका सवारी साधनको वास्ता पनि छैन । त्यसमा सजिलो हुन्छ भन्ने मोह पनि लाग्दैन ।

युवा युवती जस्तो सडकै ढाक्ने गरी जोली बनेको देखिन्न । अनुशासित भएर एक लाइनमा हिंड्नुहुन्छ । सवारी साधनले कानै फुट्लान जस्तो गरी हर्न बजाउँदा पनि बाटो नदिने युवाको समस्या छ । कानमा कोचेका एरफोनले जति चर्को आवाज पनि सुन्न दिँदैन ।

यो समस्या पनि वृद्धाहरुमा छैन । उहाँहरुलाई सवारीले हर्न बजाउनुपर्ने जरुरत पनि हुँदैन । आफ्नै ज्यान हिंडाउने बाहेक कसैलाई दुःख दिनु छैन । ती वृद्धालाई सवारी साधनको मोह न आरामको लोभ, बास आफ्नो जीवन हाक्ने धुन ।