युक्रेनमाथि रुसको आक्रमणले युरोपभर मात्रै होइन, मध्यपूर्वमा समेत आर्थिक झड्का लागेको छ। दशकौँ देखिको भ्रष्टाचार, कुव्यवस्थापन र अस्थिर शासनका कारण यसै पनि अर्थतन्त्र कमजोर रहेको पाकिस्तान खासगरी जोखिममा देखिन्छ।
थुप्रै मुलुकहरु युक्रेनी वा रुसी खाद्यान्न र इन्धनमा निर्भर छन्। तर, पाकिस्तानलाई दुवैको आवश्यकता छ। उदाहरणका लागि जुलाई २०२० देखि जनवरी २०२१ सम्म पाकिस्तान इन्डोनेसिया र इजिप्टपछि युक्रेनी गहुँको तेस्रो ठूलो उपभोक्ता थियो। इन्धनको मूल्यवृद्धिबाट पाकिस्तानलाई ठूलो धक्का लागेको छ। पाकिस्तानको इन्धन आयात लागत २०२० देखि २०२१ सम्ममा ८५ प्रतिशतले बढेर करिब ६ अर्ब डलर पुगेको छ।
पाकिस्तानका लागि यो निकै ठूलो समस्या हो। पाकिस्तानको आर्थिक वर्षको अन्त्य (३० जुन २०२२) मा उसको व्यापार घाटा बढेर करिब ५० अर्ब डलर पुग्यो। जुन गतवर्षभन्दा ५७ प्रतिशत बढी हो। सहबाज सरिफको सरकारले मे २०२२ मा ८ सयभन्दा बढी विलासी सामानको आयातमा प्रतिबन्ध नलगाएको भए यो घाटा अझ बढी हुने थियो।
मध्यम वर्गले समेत मुद्रास्फितिको मार झेल्न सकिरहेको छैन। जुनमा मुद्रास्फिति २० प्रतिशतले बढ्यो। पछिल्लो समयको यो सबैभन्दा उच्च दर हो। अन्तर्राष्ट्रिय मुद्राकोषको निर्देशनअनुसार दिइँदै आएको अनुदान अन्त्य भएपछि विद्युत र ग्यास दुवैको मूल्य आकासिएको छ। विश्वभर तेलको मूल्यवृद्धिले बढाएकोभन्दा ज्यादा।
खाद्य असुरक्षा बढिरहेको छ। स्टेट ब्यांक अफ पाकिस्तानका अनुसार ‘खाने तेल र तेलहनको आन्तरिक माग पुरा गर्न आयातमा निर्भरता गएको दुई दशकदेखि बढिरहेको छ। २०२० मा आन्तरिक उपभोग हुनेमध्ये खाने तेलको ८६ प्रतिशत आयात गरिएको थियो। यो अनुपात २००० मा ७७ प्रतिशत थियो।’ जनसंख्या वृद्धिले आयात बढाउने काम मात्र गरिरहेको छ। स्वदेशमै भटमास र पामको तेल उत्पादन गर्ने परियोजनाहरु असफल भएका छन्।
अर्कोतिर डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो लागिरहेको छ। गएको वर्ष मात्रै ३० प्रतिशतभन्दा बढीले पाकिस्तानी रुपैयाँको अवमूल्यन भयो। यही अवधिमा भारतीय रुपैयाँ चाहिँ ६ प्रतिशतले मात्रै अवमूल्यन भयो। पाकिस्तानी रुपैयाँको भाउ घट्दा मध्यम वर्ग, खासगरी डलरमा बचत गर्न नसक्नेहरुलाई चोट पर्छ। धनीमानीहरु आकर्षक घरजग्गामा लगानी गर्छन्। जसले भाडाबाट आम्दानी मात्र गर्दैन, रोजगारी पनि सिर्जना गर्न सक्छ।
सिटी ग्रुपको इमर्जिङ मार्केट डिभिजिनका पूर्व प्रमुख रणनीतिकार युसुफ नाजिरको आकलनमा पाकिस्तानको विदेशी मुद्रा सञ्चिती फेब्रुअरीयता घटेर आधा भइसकेको छ। अहिले पाकिस्तानसँग मात्र ६.३ अर्ब डलर विदेशी मुद्रा सञ्चिती छ। यो ‘अधिकतम दबाब’ अभियानमा चेपिएको बेला इरानसँग भएजति नै हो। पाकिस्तानको विदेशी मुद्रामा आएको नाटकीय कमीको कारक इस्लामावाद आफैँ हो। नाजिरका अनुसार पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले अन्य मुलुकलाई भन्दा ज्यादा उद्धार गरेको छ। यसले पाकिस्तानमा गम्भीर सुधार लागू गर्न सरिफ, भुट्टो र खानहरु अनिच्छुक या अक्षम छन् भन्ने देखाउँछ।
अन्तर्राष्ट्रिय समुदायको धैर्य पनि क्षीण भएर गइसकेको छ। सुधार गर्छौँ भन्ने पाकिस्तानको बाचालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वास गर्दैन। त्यसैले ऊ थप सहयोग गर्न अनिच्छुक छ। फाइनान्सियल एक्सन टास्क फोर्सले (एफएटीएफ) ले माग गरेअनुसार इस्लामावादले सुधार गर्न अनिच्छा देखाएको छ। यसले पाकिस्तानको वित्तीय क्षेत्रको अँध्यारो पक्षसँग उसको इन्टर सर्भिसेस इन्टेलिजेन्स एजेन्सी (आईएसआई)को कति घनिष्ट सम्बन्ध छ भन्ने देखाउँछ।
केही पाकिस्तानी उदारवादीहरुले अमेरिकासँगको रोकिएको व्यापार तथा लगानी ढाँचा सम्झौता फेरि सुरु गर्ने प्रयास गरेका थिए। तर, त्यो सफल भएको छैन। खासगरी पाकिस्तानको कमजोर नियामक अभ्यास, आपूर्ति सञ्जाल व्यवस्थापन, तथ्यांक संरक्षण र बौद्धिक सम्पत्तिको अधिकारका विषयमा वासिंगटनले चिन्ता व्यक्त गरेको छ।
एकपछि अर्को पाकिस्तानी नेताले सुधारमा अनिच्छा देखाउनुको एउटा कारण थियो– चीनले सुनाएका परीकथा स्वीकार गर्न सजिलो हुन्छ भन्ने विश्वास उनीहरुलाई भयो। पाकिस्तानको आर्थिक रक्षक हुनुको सट्टा बेइजिङले चाइना–पाकिस्तान इकोनोमिक करिडोर (सीपेक) लाई पाकिस्तानलाई कज्याउने संयन्त्र बनायो। जुन परियोजना वर्तमान प्रधानमन्त्रीका दाइ नवाज सरिफले सुरु गराएका थिए। ‘हाम्रो मित्रता हिमालभन्दा अग्लो, सागरभन्दा गहिरो र महभन्दा मिठो छ,’ सरिफले भनेका थिए। तर, सीपेक पाकिस्तानको आर्थिक वृद्धि गर्ने साधन बनेन, बरु बोझ बनेको छ।
पाकिस्तानी सरकारको आम्दानी चिनियाँ उर्जा उत्पादकहरुको ग्यारेन्टी बस्दैमा खर्च हुन्छ। जबकि पाकिस्तानमा अझै विद्युत कटौती हुने गर्छ। गएको चार वर्षमा सबैभन्दा बढी चिनियाँ अनुदान तथा सहयोग प्राप्त गर्ने मुलुक पाकिस्तान नै हो। तथापि सीपेकको काम छिटपुट मात्रै हुने गर्छ।
पाकिस्तानले चाँडै ‘बृहत् अर्थशास्त्रीय अस्थिरता’ सामना गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी विश्व बैंकले दिएको छ। त्यसलगत्तै सामाजिक अस्थिरता सुरु हुनसक्छ। पाकिस्तानको निजी क्षेत्रले श्रम शक्तिलाई उपयोग गर्न पुग्नेगरी रोजगारी सिर्जना गर्न सकेको छैन। जनताको आक्रोश उम्लिने विन्दुमा पुग्दैछ। बढ्दो आपराधिक घटनाक्रमले सामाजिक विखण्डनको संकेत गर्दैछ।
श्रीलंकाको पतनले यो क्षेत्रलाई चिन्तित तुल्याएको छ। तर, पाकिस्तानको पतनले विश्वलाई नै चिन्तित पार्नुपर्छ। दशकौँसम्म राज्यको असफलताले पाकिस्तानमा भयानक परिदृश्य उत्पन्न गरेको छ। त्यस्तो परिदृश्यको स्वाद पाकिस्तान र बाँकी विश्व दुवैले चाखिसकेका छन्। किनभने पाकिस्तानको पुरानो राजधानी तथा वित्तीय केन्द्र कराँची हिंसा, अतिवाद र चरम गरिबीको चपेटामा परेको छ भने अफगानिस्तानसँगको सीमा रहेका अनेकौँ क्षेत्रमा पाकिस्तानी अधिकारीहरुले नियन्त्रण गुमाएका छन्।
पाकिस्तानको आणविक हतियारको सुरक्षाका विषयमा अमेरिका, भारत र इरान चिन्तित हुनु स्वभाविक छ। किनभने पाकिस्तानी सैन्य अधिकारीहरु पनि संघर्षरत छन्। पाकिस्तानी सम्भ्रान्तहरु यथार्थलाई अस्वीकार गरेर बाँचिरहेका छन्। आफूहरु बाँचेको सुखीसम्पन्न जीवन समग्र समाजबाट अलगथलग छ र त्यो स्थायी छ भन्ने विश्वास उनीहरुलाई छ। तर, त्यो सत्य होइन। भ्रम टुट्दैछ। र, त्यसको नतिजा राम्रो हुनेछैन।
(माइकल रुबिन अमेरिकी एन्टरप्राइज इन्स्टिच्युटका अध्येता हुन्) यो सामग्री दि नेशनल इन्ट्रेस्टबाट लिइएको हो ।