• असार २५ २०८१, सोमबार

माननीयकै घर अगाडीको उध्रेको बाटोले दियो सास्ती

असार ३२ २०७९, शनिबार

घोराही ३२, असार ।
बाबा होटल घोराही १४ अगाडि बसेर चिया पिउँदै गरेका ढुण्डिराज बुढाथोकीले भन्नुभयो, ‘ऊ हेर्नुस् त यो बाटो’, उहाँले पश्चिम तर्फ औला तेर्साउँदै थप्नुभयो, ‘दिनदिनै जसो गाडी ठोक्किएका ठोक्किएई हुन्छन् ।’ उहाँले देखाएकैतिर हेर्दा बगर जस्तै देखिन्थ्यो ।

त्यसैबेला अर्का एक जना थपिनुभयो । कुरा गाँस्दै भन्नुभयो, ‘यो माननीयको घर हो ।’ उहाँले राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका मुख्य सचेतक अनिता देवकोटाको घरलाई इंगित गर्दै भन्नुभयो, ‘माननीयको घर हुँदैको बाटो हिंड्नै नसक्ने भयो ।’ उहाँले भनेजस्तै ढुंगेबगर जस्तै उपडखापड र खोल्सापरेको बाटो देखिन्थ्यो ।

बाटोको उत्तरी किनारामा टोपी खस्ने घर बनेको छ । केहि वर्ष अघिदेखि निर्माण थालिएको त्यस घर अझै पुरा भएको छैन । ढलाई गर्दा कंक्रिटका ठुला गाडी त्यहिँ अड्याएर माथि फाल्थे । ओरालो क्षेत्र भएकाले बजार पस्नेहरु भन्दा फर्किनेहरुका लागि पनि सजिलो मानिन्छ । अहिले कालोपत्रे  उध्रेको  हुनाले न उक्लिन सजिलो छ, न त झर्न नै जाँगर लाग्छ ।
पानी परेपछि खाल्टाहरु भरिन्छन् र सवारीका पाङ्ग्राले वारिपारीका पसलहरुमा हिलो छ्याप्छन् । पैदल यात्रुका लुगाहरु हिलाम्य बनाइदिन्छन् । ओभानो भयो भने गिट्टी उछिट्याउँछन् । कसैलाई चोट लाग्ला भन्ने डर हुन्छ । एउटै सवारी गुड्यो भनेपनि धुलोले कुइरो उठाई दिन्छ । हिउँद वर्षातको मौसम जस्तो हुँदा पनि त्यहाँ हिंड्नेलाई सुख छैन ।

उक्लिने र झर्नेले सवारी साधन जतिनै कन्ट्रोल गर्न खोजेपनि सोचे जस्तो सम्भव छैन । चालकले सोचेकै ठाउँमा गुडाउन सक्दैन । कालोपत्रे उध्रेर बनेका खाल्टोमा खस्दा र निस्कँदा उफार्दा एक ठाउँ लग्न खोजेको भन्दा अर्कै ठाउँमा पुग्छ । विपरीत दिसाबाट आउँदै गरेकोसँग झुक्किएर ठोकिन्छ । कतिपय थाम्न नसकेर नेपाल टेलिकम र ट्राफिक तर्फबाट आउँदै गरेकासँग जुध्न जान्छन् । केहि बाबा होटलमै पुग्छन् ।

माननीय देवकोटाका घर करेसैको बाटोको विजोग हो । कहिले सुधार हुन्छ भन्ने पनि कुनै ठेलो टुप्पोको टुंगो छैन । घोराही बजारमा अन्त पनि खाल्टाखुल्टी नभएका होइनन् । घोराही–गिठेपानी–हात्तिखर्क सडकको चमईसोतादेखि प्राचीन भयाँरस्थान चोकसम्म पनि निकै खराब छ । कालोपत्रे गरेको हो कि होइन जस्तो अवस्थामा पुगेको छ । बजार भित्रै पनि विभिन्न ठाउँमा सडक उध्रेर आवागमनमा समस्या छ ।

जहिल्यै पनि बैशाख–जेठमा बजारभरी टाला हाल्ने काम चल्थ्यो । अब आर्थिक वर्ष सकिन लाग्यो भन्ने छनक देखिन्थ्यो । यसपटक सडकका खाल्टा बढि रहे । भैँसी आहाल बस्ने जस्ता पोखरी घोराहीको मुख्य बजार नेपाल बैँक मुनि पनि देखिन्छ । मेनरोडका खाल्टाखुल्टी ट्राफिक चोकदेखि तुलसीपुर चोकसम्म बालुवा गिट्टीले टालेको देखियो । त्यस बाहेक घोराही उपमहानगरपालिकाले बजारमा कहिँ कतै खाल्टा पुरेको छैन ।

‘ठेकेदारले कामै नगरेर धोका दियो’ घोराही उपमहानगरपालिकाका भौतिक पुर्वाधार महशाखा प्रमुख युवराज पौडेल भन्नुहुन्छ ‘बजेटको व्यवस्था हुँदाहुँदै पनि काम भएन ।’ उहाँले भनेजस्तै सडक मरमत काम यस आर्थिक वर्षमा गरिएन ।

बजारले केहि काम गरेन भनेर टिप्पणी गर्छ । दोस्रो कार्यकालका लागि मेयरमा नरुलाल चौधरी स्थानीय तहको निर्वाचनबाट जनअनुमोदित हुनुभएको छ । समस्याप्रति पक्कै जानकार हुनुहुन्छ । आर्थिक वर्ष सकिएपनि कुनै उपायले घोराही बजार भित्रका खाल्टा टाल्न जरुरी छ । पोखरी पुर्न अनिवार्य देखिन्छ । अन्यथा बजारका विभिन्न खाल्टाले उपमहानगरलाई गिज्याउने छन् । मानिसहरुले पटक पटक सरापी रहने देखिन्छ ।