‘हाम्रो पार्टी–संगठनहरूलाई अवश्य पनि देशभरि फिँजाउनुपर्छ र हामीले निश्चित उद्देश्यका साथ दशौं हजार कार्यकर्तालाई र पहिलो दर्जाका सयौं नेताहरूलाई तालिम दिनुपर्छ ।
उनीहरूले मार्क्सवाद–लेनिनवादमा निपुण भएका, राजनीतिक रुपले दूरदर्शी, काममा खुबै सिपालु, त्यागको गहिरो भावनाले भरिएका आफै अघि सरेर समस्याहरूसँग जुझ्ने कुशलता भएका, अति अप्ठ्यारा अवस्थाहरूमा समेत विचलित नहुने, राष्ट्र र सर्वहारा वर्ग र पार्टीको सेवा गर्न वफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ ।
यस्ता कार्यकर्ता र नेताहरूमा नै पार्टीले आफ्ना सदस्यहरू तथा जनतासितको सम्बन्धको निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता र नेताहरूले स्वार्थिपनाबाट व्यक्तिवादी सुर्याइँ र आडम्बरबाट, आलस्य र उदासिनताबाट र आफ्नै कुरामाथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ । उनीहरू अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योद्धा हुनुपर्छ, हाम्रो पार्टीका सदस्य, कार्यकर्ता र नेताहरूमा हुनुपर्ने गुणहरू र कार्य–शैली यस्तै हुन् ।’
–माओ त्सेतुङ, ‘जापानी आक्रमण–विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमूहलाई आफूपट्टी तान’ (मे ७, १९३७ )
कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता हो । यसले मार्क्सवाद लेनिनवाद–माओवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्दछ । मालेमावादले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई क्रान्तिको निम्ति वैज्ञानिक बाटो देखाउने काम गर्दछ ।
पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको मुलुकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्यूनतम कार्यक्रम (लक्ष्य) वैज्ञानिक समाजवाद र अधिकतम लक्ष्य वैज्ञानिक साम्यवाद हुन्छ भने पुँजीवादी क्रान्ति सम्पन्न भइनसकेको एक अर्धसामन्ति र अर्ध उपनिवेशिक/नवउपनिवेशिक अवस्थामा रहेको (आजको नेपाल जस्तो) देशमा उसको न्युनतम कार्यक्रम (लक्ष्य) नौलो जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद रहेको हुन्छ ।
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेता कस्ता हुनुपर्छ ?
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य पूरा गर्नका लागि असल तथा क्रान्तिकारी कार्यकर्ता र नेताहरूको आवश्यकता पर्दछ । त्यसो भएकाले कम्युनिस्ट पार्टीले कस्ता खालका कार्यकर्ता र नेताहरू निर्माण र परिचालन गर्ने, उनीहरूलाई कस्तो किसिमको तालिम र प्रशिक्षण दिलाउने, उनीहरूको हेरचाह कसरी गर्ने भन्ने बारेमा कमरेड माओले माथि भन्नुभएका विषयहरू अत्यन्तै मननयोग्य छन् ।
कम्युनिस्ट पार्टीका सबै कार्यकर्ता र नेताहरूका निम्ति ठूलो शिक्षाका विषय हुन् । हामी क्रान्तिकारीहरूले कमरेड माओबाट कार्यकर्ता नीतिसम्बन्धी सिक्ने विषय यिनै हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्नका निम्ति पहिलो नम्बरमा उसलाई पथदर्शन गर्ने क्रान्तिकारी सिद्धान्त आवश्यक पर्छ ।
क्रान्तिकारी सिद्धान्त अवलम्बन नगरेको कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्ने कुरै हँुदैन । त्यसो भएर विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ, ‘क्रान्ति गर्नु छ भने क्रान्तिकारी सिद्धान्त आवश्यक पर्दछ ।’
हो, लेनिनले भन्नु भएझँै क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने दृढताका साथ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिकारी सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवादलाई अवलम्बन गरेकै हुनुपर्छ ।
त्यस्तै क्रान्तिका क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वविना क्रान्ति असम्भव हुन्छ ।
त्यसो भएकाले त विश्व सर्वहारावर्गका अर्का महान् नेता कमरेड माओत्सेतुङले भन्नुभएको छ,
‘क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ ।
क्रान्तिकारी पार्टीविना, मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीबिना, साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ ।’
‘माओ त्सेतुङ, संसारका क्रान्तिकारी शक्तिहरू एकगठ होऊ, साम्राज्यवादी आक्रमणविरुद्ध जुध’ (नोभेम्बर १९४८ )
क्रान्तिकारी सिद्धान्तले लैस भएको क्रान्तिकारी कम्युनिस्ट भएर मात्र उसलाई क्रान्तिको कार्यभार पूरा गर्न असम्भव हुन्छ । पार्टीको नीति र योजनाहरू कार्यान्वयन गर्नका निम्ति हजारौंको संख्यामा, लाखौंको संख्यामा अब्बल दर्जाका कार्यकर्ता (उत्तराधिकारीहरू) हरूको आवश्यकता पर्दछ ।
असल, आँटी, बलिदानीपूर्ण भावनाले ओतप्रोत भएका कार्यकर्ताहरूको आवश्यकता पर्दछ । त्यो काममा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पहिलो नम्बरमा ध्यान दिनुपर्छ ।
कार्यकर्ताको ठूलो जमात भएर मात्रै क्रान्तिका लागि क्रान्तिकारी कार्यकर्ता र नेताहरूको आवश्यकता पर्दछ । कार्य कर्ता तथा नेताहरूलाई क्रान्तिकारी रुपान्तरण गराउनका निम्ति विश्वदृष्टिकोणमा रुपान्तरण गराउन जरुरी हुन्छ ।
त्यसको लागि कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी स्कुलहरू निर्माण गर्न अनिवार्य हुन्छ । उनीहरूलाई नियमित रुपमा र योजनावद्ध ढङ्गले मालेमावादका आधारभूत सिद्धान्त (मार्क्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद) का विषयमा स्कुलिङ सञ्चालन गरिरहन जरुरी हुन्छ ।
यही आवश्यकतालाई मध्यनजरमा राखेर नै कमरेड माओले अगाडि भन्नुभएको छ, ‘हाम्रो पार्टी र देशले आफ्नो रंग नफेरून् भन्ने कुरा निश्चित तुल्याउन हामीले सही बाटो र सही नीतिहरू मात्र लिएर पुग्दैन, सर्वहारावादी क्रान्तिको उद्देश्यलाई अगाडि बढाउँदै लैजाने लाखौं उत्तराधिकारीलाई तालिम दिनु र हुर्काउनु पनि पर्छ ।
अन्तिम विश्लेषणमा, सर्वहाराहरूको क्रान्तिकारी उद्देश्यका लागि उत्तराधिकारीहरूलाई तालिम दिने प्रश्न सर्वहारावादी क्रान्तिकारीहरूको पुरानो पुस्ताले चलाएको मार्क्सवादी–लेनिनवादी क्रान्तिकारी उद्देश्यलाई बढाउँदै लानसक्ने मानिसहरू होलान् कि नहोलान्, सर्वहारावादी क्रान्तिकारीहरूकै हातमा हाम्रो पार्टी र राज्यको नेतृत्व रहन्छ कि रहँदैन, मार्क्सवाद–लेनिनवादले स्थापित गरेको सही बाटोबाट हाम्रा सन्तान हिंड्ने हुन् कि हो अथवा अर्को शब्दमा चीनमा हामीले खु्रश्चोभी संशोधनवादको उत्पत्तिलाई सफलतापूर्वक रोक्न सक्छौं कि सक्तैनौं भन्ने प्रश्न हो ।
हाम्रा सर्वोच्च संगठनहरूदेखि लिएर सबैभन्दा तल्लो तहसम्म हामीले जहाँतही क्रान्तिकोे निम्ति उत्तराधिकारीहरूलाई तालिम दिने र हुर्काउने कुरामा संधैभरि ध्यान दिनुपर्छ ।
सर्वहारा–वर्गको क्रान्तिकारी उद्देश्यको निम्ति लायक उत्तराधिकारी हुन चाहिने आवश्यकताहरू के के हुन् ? उनीहरूले उच्च मार्क्सवादी–लेनिनवादी हुनैपर्छ, मार्क्सवाद–लेनिनवादको साइनबोर्ड झुन्ड्याएको ख्रश्चोभजस्तो संशोधनवादी होइन ।
उनीहरू चीन र सम्पूर्ण संसारका अति बहुसंख्यक जनताको सम्पूर्ण हृदयले सेवा गर्ने क्रान्तिकारी हुनैपर्छ र आफ्नो देशको सुविधा सम्पन्न बुर्जुवा वर्गका एक मुठी सदस्यहरूको हित र विदेशी साम्राज्यवाद तथा प्रतिक्रियावादका हितहरूका लागि सेवा गर्ने खु्रश्चोभजस्तो होइन ।
उनीहरूले अति बहुसंख्यक जनतासित एकगठ हुन र सँगै काम गर्न सक्ने सर्वहारावादी राजनीतिज्ञ हुनैपर्छ । उनीहरूले आफूसित सहमत हुनेहरूसित मात्र होइन, आफूसित असहमत हुनेहरूसँग अझ अघि आफ्नो विरोध गरेका र पछि व्यवहारमा गलतसिद्ध भइसकेकाहरूसित पनि एकगठ हुन सक्नुपर्छ । तर उनीहरूले विशेष गरी खु्रश्चोभजस्ता महत्वाकांक्षी र षड्यन्त्रकारीहरूमाथि सतर्कतापूर्ण दृष्टि राख्नुपर्छ र यस्ता खराब तत्वहरूलाई पार्टी र राज्यको कुनै पनि स्तरको हात पार्नुबाट रोक्नैपर्छ ।
उनीहरूले पार्टीको जनवादी केन्द्रीयतालाई प्रयोग गर्न नमूना बन्नैपर्छ, ‘जनताबाट ल्याई जनतामा लैजाने सिद्धान्तमा आधारित नेतृत्वको तरिकामा राम्ररी दक्षता हासिल गर्नैपर्छ र जनतान्त्रिक प्रणालीमा आफ्नो बानी–बेहोरालाई ढाल्नु पर्छ र जनताको कुरा चाख लिएर सुन्न सक्ने हुनुपर्छ ।
उनीहरूले ख्रुश्चोभ जस्तो निरंकुश हुनुहुँदैन र पार्टीको जनवादी केन्द्रीयतालाई उलङ्घन गर्नुहुँदैन, कामरेडहरूमाथि आकस्मिक हमला गर्नु अथवा स्वेच्छाचारीतापूर्वक र अधिनायकवादी रुपले काम गर्ने हुनुहुँदैन ।
उनीहरूले नम्र र विवेकी हुनुपर्छ र घमण्ड तथा अधीरताविरुद्ध सजग हुनुपर्छ; उनीहरूमा स्वआलोचनाको भावना भरिएको हुनुपर्छ र आफ्ना काममा रहेका कमी र गल्तीहरू सच्याउने आँट हुनुपर्छ । उनीहरूले ख्रुश्चोभले झै आफ्ना गल्तीहरूलाई ढाकछोप गर्ने, जस जति जम्मै आफू लिने र दोष जति अरुमाथि थोपर्ने कहिल्यै गर्नु हुँदैन ।
सर्वहारा क्रान्तिकारी उद्देश्यका उत्तराधिकारीहरू जनसङ्घर्षमा पैदा हुन्छन् र क्रान्तिका ठुल्ठूला आँधी–बेहरीहरूमा खारिन्छन् र हुर्कन्छन् । कार्यकर्ताहरूलाई जाँच्ने तथा छुट्याउने र उत्तराधिकारीहरूलाई छान्ने र तालिम दिने काम जनसङ्घर्षको लामो क्रममा गर्नुपर्छ ।’
–माओ त्सेतुङ, ‘खु्रश्चोभको नक्कली साम्यवाद र संसारलाई यसका ऐतिहासिक पाठहरू’ मा उद्धृत (जुलाई १४, १९६४) ।
माथि कमरेड माओले भन्नुभए झैं क्रान्तिका लागि क्रान्तिकारी तथा असल, इमानदार, देश, जनता, पार्टी क्रान्तिप्रति समर्पित कार्यकर्ता र नेताहरूको ठूलो आवश्यकता हुन्छ ।
त्यसो भएर क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यकर्ता र नेताहरूलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा हेक्का राख्नैपर्ने हुन्छ । यस विषय पुन: कमरेड माओ भन्नुहुन्छ, ‘एक चोटी राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरू निर्णायक तत्व हुन्छन् । अत: योजनावद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरूलाई तालिम दिनु हाम्रो सङ्घर्षमयी कार्य हो ।’ –माओ त्सेतुङ, ‘राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका’ (अक्टोबर १८३८) ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यकर्ता नीति कस्तो बनाउने भन्ने कुराले उसले कार्यकर्ताहरू कस्ताकस्ता बनाएको छ ? उसले कसरी कार्यान्वयन गर्दछ ? भन्ने कुराको निर्धारण गर्दछ ।
यस विषयमा कमरेड माओले थप कुरा गर्नु हुन्छ, ‘कम्युनिस्ट पार्टीले कार्यकर्तासम्बन्धी आफ्नो नीतिमा लागु गर्नु पर्ने सिद्धान्त एउटा कार्यकर्ता पार्टीको नीतिलाई कार्यान्वयन गर्न दृढ छ कि छैन, पार्टी–अनुशासनलाई पालना गर्छ गर्दैन, जनतसित उसको गाढा सम्पर्क छ छैन, उसमा आफ्नो स्थिति स्वतन्त्रतापूर्वक पहिल्याउन सक्ने सामथ्र्य छ छैन र ऊ सक्रिय, मेहनती र निस्वार्थी छ छैन भन्ने हो । ‘गुण हेरी मानिसलाई भर्ना गर्नु’ भन्ने नीति यही हो । –माओ त्सेतुङ, ‘राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका’ (अक्टोबर १९३८) ।
कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई कसरी चिन्ने, कसरी जाँच्ने भन्ने कुरा नेतृत्वले राम्ररी जानेको हुनुपर्छ । पार्टीभित्र कार्यकर्ता विभिन्न ढङ्गले प्रवेश गरेका हुन्छन्, उनीहरूलाई पार्टीले उनीहरू कै व्यवहारलाई कसी बनाएर पहिचान गर्ने र विचार गर्ने कुरा नै मुख्य विषय हुन्छ ।
त्यही अनुरुप पार्टीले आफ्ना कार्यकर्तालाई प्रयोग गर्नु वैज्ञानिक हुन्छ । यसविषयमा कमरेड माओ अगाडि भन्नुहुन्छ, ‘हामीलाई कार्यकर्ताहरूको कसरी राम्ररी प्रयोग गर्ने भन्ने कुरा थाहा पाउनैपर्छ । अन्तिम विश्लेषणमा, नेतृत्वका दुई मुख्य जिम्मेवारी हुन्छन् : विचारहरूलाई कार्य रुप दिनु र कार्यकर्ताहरूको राम्ररी प्रयोग गर्नु ।
‘विचारहरूलाई कार्य रूप दिनु’ मा योजना बनाउनु, निर्णय लिनु र आदेश तथा निर्देशन दिनुजस्ता जम्मै कुराहरू पर्छन् । विचारलाई व्यवहारमा परिणत गर्न हामीले कार्यकर्तालाई एकगठ तुल्याउनु पर्छ र कार्यक्षेत्रमा जान उनीहरूलाई हौसला दिनुपर्छ । यो कुरा कार्यकर्ताको राम्ररी प्रयोग गर्नु भन्ने विभागमा पर्दछ ।’ –माओ त्सेतुङ, ‘राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका’ (अक्टोबर १९३८ ) ।
नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नवउपनिवेशिक अवस्थामै छ । यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति नगरिकन नेपाली समाजलाई वैज्ञानिक समाजवादमा पुर्याउन सकिंदैन । आज नेपालमा नयाँ क्रान्ति जारी छ ।
नयाँ नेपाली जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को काँधमा आइपुगेको छ । आज महान् नेपाली नयाँ जनवादी क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद मुख्य बाधकका रुपमा खडा हुन पुगेको छ ।
नेपालमा कम्युनिस्टको नाममा नामधारी नक्कली कम्युनिस्टहरूले ठूलो भ्रमको खेती गरिरहेका छन् र कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू ती प्रतिक्रियावादमा पतन भएर प्रतिक्रियावादी सरकार चलाउँदै आएका दक्षिणपन्थी संशोधनवादी पार्टीहरूमा ठूलो संख्यामा विविध कारणले उतै अलमलिइरहेका छन् ।
यसको मुख्य कारण उनीहरूलाई पार्टी स्कुलिङ नगराइनु जस्ता विषयहरू छन् । वैचारिक चेतना कमजोर भएका कार्यकर्ताहरूले नेताको चाकडी गर्ने, दलाली गर्ने, च्याप्लुसी गर्ने र नेतृत्वको देवत्वकरण गरेर निहित स्वार्थ पूरा गर्ने गैरमालेमावादी कुरूप संस्कृति कम्युनिस्ट पार्टीमा जीवितै रहने गर्ने गरेकै कारण क्रान्तिकारी कार्यकर्ता निर्माण गर्न र परिचालन गर्ने काममा बाधा परिरहेको पाइन्छ । यसको मुख्य कारण पार्टी स्कुलिङको अभाव हो, अध्ययनकै अभाव हो ।
एउटा मालेमावादी सच्याई के हो भने कम्युनिस्ट पार्टी क्रान्तिकारी नभइकन क्रान्तिको नेतृत्व गर्ने सम्भव नै हुँदैन । कम्युनिस्ट पार्टी क्रान्तिकारी हुनलाई पहिलो कुरा त उसले अवलम्बन गरेको क्रान्तिकारी विचार (मालेमावाद) नै हो ।
तर अन्य आधारहरूको आवश्यकता पर्दछ । तसर्थ, कम्युनिस्ट पार्टी क्रान्तिकारी भइरहनलाई जनता पनि क्रान्तिकारी हुन जरुरी हुन्छ भने नेताहरू क्रान्तिकारी भइरहनलाई पार्टीका कार्यकर्ताहरू क्रान्तिकारी हुनु जरुरी हुन्छ ।
नेपालमा यी दुबै कुरामा सिमा रहँदै आएकै कारण नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी हुँदै आएको छ ।
अब प्रश्न खडा हुन्छ कि अब अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालमा समेत कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरू कस्ता हुनुपर्छ ?
यसको सही तर्क के हुन सक्छ भने कम्युनिस्ट पार्टीका नेताहरू लेनिन, स्टालिन, माओ, होचि मिन्ह ग्वेभारा, गोञ्जालोजस्तै विचारसहित फौजी स्प्रिट र कार्यशैली भएका नेताहरू हुन आवश्यक छ भने कार्यकर्ताहरू पनि रुसमा लेनिनकालिन, चीनमा माओकालिन, भियतनाममा होचि मिन्ह कालिन, क्युवामा चे कालिन, पेरुभियाली सशस्त्र जनयुद्धकालिन, नेपालको झापा विद्रोह कालिन, नेपालकै दश वर्षे जनयुद्धकालिन जुन अनुशासित कर्मठ, त्यागी, बलिदानी भावनाले ओतप्रोत भएका र क्रान्तिकारी स्प्रिट बोकेका कार्यकर्ताहरू थिए, त्यस्तै कार्यकर्ताहरू हुन जरुरी छ ।
यद्यपि हिजोको त्यो परिस्थिति र आजको वर्तमान परिस्थितिमा ठूलो फेरबदल आएको छ, विज्ञान र प्रविधिका क्षेत्रमा मानव जातिले ठूलो विकास गरेको अवस्था अवश्य छ ।
यी तथ्यहरूलाई आत्मसात गर्दै अर्थात् कम्युनिस्ट क्रान्तिकारीहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्ने हुन्छ । सम्बन्धित मुलुकको विशिष्ट परिस्थिति बमोजिम क्रान्तिका कामलाई अगाडि बढाउनु पर्ने हुन्छ ।
मुलुकको वस्तुगत परिस्थिति र आत्मगत परिस्थितिका आधारमा क्रान्तिका कामलाई अगाडि बढाउनु पर्ने हुन्छ । क्रान्तिकारी शक्तिहरूले जति छिटो क्रान्तिको तयारी गर्न सक्छन्, त्यति छिटो क्रान्ति सम्पन्न हुने मार्क्सवादी नियम नै छ । र क्रान्ति अवश्यम्भावी छ ।
कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरूले जनताको क्रान्तिको नेतृत्व गर्नुपर्ने भएकोले उनीहरू जनताको बीचमा भिज्न सक्ने, जनतासँग नङ र मासुको सम्बन्ध भए झैं गाढा सम्बन्ध कायम गर्न सक्ने हुनुपर्छ ।
उनीहरू इमानदार र क्रान्तिकारी हुनुपर्छ, क्रान्तिकारी जस्तोसुकै आँधीबेहरीको सामना गर्न सक्ने र योगदान तथा बलिदानी भावनाले ओतप्रोत भएको साहसी हुनुपर्छ ।
उनीहरू आर्थिक, सांस्कृतिक विचलनमा नपरेका भ्रष्ट मानसिकताबाट मुक्त भएको व्यक्तिगत सम्पत्तिप्रति लोभीलाछी मानसिकता नभएको, पार्टीको आडमा जनताको सम्पत्तिमाथि, मुलुककै ढुकुटीमाथि ‘लखनऊ लूट’ मच्चाउने खालको चाउ चेस्कुजस्तो हुनुहुँदैन ।
नेपालको सन्दर्भमा केपी ओली र प्रचण्डलगायतका भ्रष्ट नेताहरु र हालका एमाले, माओवादी केन्द्रका कार्यकर्ताजस्तो भ्रष्ट, विचारविहीन आचरणका पनि हुनुहुँदैन ।
कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरुले पार्टीविरुद्ध बाहिर बोल्न पाइँदैन । पार्टीका आन्तरिक गोपनियताहरु बाहिर लैजान र सूचना चुहाउन र सूचना बेच्न पाइँदैन । उनीहरु जनवादी केन्द्रीयताको सिद्धान्त पद्धतिअनुरुप चल्नुपर्छ ।
चित्त नबुझेको सबै कुराहरु पार्टीभित्र राख्न पाइन्छ, छलफल र बहस गर्न पाइन्छ । दुई लाइन सङ्घर्ष चलाउन पाइन्छ र विचार नमिलेपछि विद्रोह गर्ने अधिकार कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरुलाई हुन्छ तर पार्टी बाहिर अनुशासनहीन ढङ्गले बहस, छलफल गर्न पाइँदैन । गरेमा त्यो अनुशासनको कारबाहीको विषय बन्दछ ।
कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेताहरुको दलाली गर्ने, चाप्लुसी गर्ने, देवत्वकरण र श्रद्धावाद लागू गर्ने र व्यक्ति पूजा गर्नेजस्तो आदर्शवादी संस्कृति कार्य जीवनशैली कहिले पनि अबलम्वन गर्नुहुँदैन र नेताहरुले पनि आफ्ना कार्यकर्ताहरुलाई आसे–पासे–झोले र नेताहरुका वरिपरि घुमेर स्वार्थपूर्ति गर्ने सामन्ती कुरुप संस्कृतिबाट मुक्त हुनैपर्छ ।
किनकि यी दुवै प्रवृत्तिहरु मार्क्सवादी–लेनिनवादी–माओवादी विचारधारा विपरीत हुन्छ र त्यसले क्रान्तिलाई ठुलो नोक्सानी पुर्याउँछ । नैतिक रुपमा पतन नभएका र सामाजमा कुशल नैतिकता कायम गरेका र मर्यादित व्यक्तित्व निर्माण गरेको हुनुपर्छ ।
कम्युनिस्ट पार्टीका कार्यकर्ता नीतिका बारेमा कमरेड माओका महत्वपूर्ण आदेश र शिक्षाका बारेमा माथि धेरै ठाउँमा उद्धृत गरिएको छ, ती शिक्षा र आदेशहरू कम्युनिस्ट पार्टीका असल र क्रान्तिकारी कार्यकर्ता र नेताहरूले शिक्षाका रूपमा ग्रहण गरेर जीवन व्यवहारमा लागु गर्न कुशलता हासिल गरेको हुनुपर्छ ।
र, मुख्यत: उनीहरू विश्वदृष्टिकोणमा रूपान्तरित भएको हुनुपर्छ । किनकि, विश्वदृष्टिकोण बिनाको मान्छे ‘जराबिनाको रुख सरह’ हुन्छ, ‘फलहीन फूल’ जस्तो हुन्छ ।
अन्त्यमा, कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरू जनताका साँच्चिकै असल नमूना बनेको हुनुपर्छ । मालेमावादद्वारा निर्देशित नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र जनताको क्रान्तिको नेतृत्व गर्न सक्ने भएकाले उक्त पार्टीका कार्यकर्ता र नेताहरू पनि त्यसै अनुरूपका हुन जरुरी हुन्छ ।
(केसी : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)