नेपाली समाजमा अहिले क्षयरोगीको सङ्ख्या बढिरहेको छ । यो रोग किन यसरी बढिरहेको छ ? यसका बारेमा सर्वसाधरण नागरिक बेलैमा सतर्क हुनु जरुरी छ ।
तर पनि प्रविधिक चेकजाँचसहित रोगको निदानमा पुग्न समस्याहरू छन् । नेपाल त शिक्षा र स्वास्थ्यको मामलामा निकै नै पछि परेको छ । त्यसैले पनि नेपाली समाजमा क्षयरोग भित्रभित्रै फैलिइरहने वातावरण बनिरहेको छ ।
समाजमा स्वास्थ्य समस्याका स्रोत, कारण र तिनको निराकरण आदि बारेमा पुरानै सोच तथा प्रभाव कायमै छन् । अहिलेको खुला समाजमा पनि क्षयरोगीहरू खुलेर आफ्ना रोग तथा समस्याका बारेमा अरूलाई बताउन सकिरहेका छैनन् ।
क्षयरोग वंशानुगत हुने भन्ने कुराको बोध भएपछि यसले वैयक्तिक गोपनियतालाई अझ ठाउँ दिन थालेको देखिन्छ । बाबु वा आमामध्ये एकजनालाई पनि क्षयरोग देखियो भने कतै रोग बताउँदा पहिचान खुल्ने र समाजमा अपहेलित हुने हुन्छ कि भन्ने डरले क्षयरोगीको सङ्ख्या समाजमा लुकाइने गरिएको छ ।
‘क्षय रोगीका सन्तान’ भइने डरले पनि यसलाई लुकाउने काम भइरहेको छ । पहिचान खुल्ने डरले क्षयरोगी उपचार गर्न आउन हिच्किचाइरहेको देखिन्छ ।
यी सबै कारणले क्षयरोग संक्रमण फैलनमा अदृश्य भूमिका निर्वाह गरिरहेको छ । विगतमा क्षय रोगलाई निकै संक्रामक, हानिकारक तथा निको नहुन महामारीका रूपमा लिने गरिएकाले पनि नेपाली समाज अझैं चूपचाप अवस्थामा देखिन्छ ।
परंपरागत मान्यता अनुसार कमजोर तथा जीर्ण शरीरभित्रबाट क्षयरोग उत्पन्न हुने विश्वास थियो । तर अहिले रोग प्रतिरोधात्मक क्षमता कम भएका, हेर्दा स्वस्थ र बलियाजस्ता देखिने मानिसमा पनि क्षयरोग सङ्क्रमण भइरहेको छ ।
अर्को कुरा, पहिलेको जमनामा क्षयरोग फोक्सोमा मात्र लाग्ने र खकारमा रगत देखा पर्ने कुरामा विश्वास गरिन्थ्यो । अहिले यस अतिरिक्त रगतमा, गिदीमा, हड्डीआदिमा पनि देखिने गरिरहेको छ ।
सन्तुलित आहारामा कमी, खानपिनमा अनियमितता, चुरोट, खैनी, मदिरा सेवन आदिका साथै कुलत तथा अतिपरिश्रमका कारण पनि युवावस्थामा समेत क्षयरोग देखिने गरेको छ ।
कतिपयले मादक पदार्थ, चुरोट, खैनी, सूर्तिआदि सेवन गर्नेलाई मात्र क्षयरोग लाग्ने भन्ने भ्रम वा अल्पज्ञान हुने कारणले पनि क्षयरोगका बिरामीहरूले आश्चर्य व्यक्त गर्ने गर्दछन् ।
क्षय रोगको लक्षण आममानिसले सजिलै थाह पाउने गरे पनि यस्तो रोग लागेका मानिसलाई समाजमा स्वीकार गर्न हिच्किचाउने प्रवृत्तिले पनि रोगीलाई खुलेर सार्वजनिक हुने र उपचार गर्ने बाटो खुला गर्न दिएको छैन ।
औषधि सेवनपछि सहज जीवन जीउन सकिने भए पनि संक्रमित विरामीसँग नजिक रहँदा रोग सर्ने भयले आफन्त समेत विरामीको नजिक नजाने र असज व्यवहार गर्ने हुनाले पनि यो रोगका बारेमा चासो र सतर्कता कम रहेको देखिन्छ ।
त्यसैले नेपाली समाज क्षयरोग विरोधी तर रोगीमैत्री बन्दै संक्रमित विरामीहरूका लागि समयमै उपचारको बाटो खुल्ल गर्न र सहयोगी हातहरू अघि बढाउन तयार रहनु पर्छ ।